पश्चिम सेती बन्नुपर्ने दबाब दिदै बोलन्या थलीको डोटीमा रचनात्मक विरोध
डोटी, जेठ १
पुलको दुईपट्टी नाराहरु उल्लेखित तोरणहरु टाँगिएका छन् । बीचमा लहरै दिउँसै सात सय ५० टुकीहरु धिपधिपाउदै छन् । पुलको रेलिङ्गमा ठुला अक्षरले तिनचारवटा व्यानर टाँसिएका छन् । जसमा लेखिएका नाराहरुले त्यहाँ उपस्थित हककोहीको मन छुन्छ ।
व्यानरको माथिल्लो भागमा ‘हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ’ लेखिएको छ । त्यसपछि प्रश्न गरिएको छ–‘आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छ ?’
मध्यभागमा रातो बक्सभित्र ‘सेती हरायो,सरकार हरायो’ भनि उल्लेखित सो व्यानमार ठुलो अक्षरमा ‘७५० टुकी बालौं, सरकार खोजौं’ भनि व्यङ्गात्मक शब्द उल्लेख छ ।
उपर्यूक्त दृश्य विहिबार दिउँसो दिपायलस्थित सेती नदीको पुलमा भएको प्रदर्शनको हो । बहुप्रतिष्ठित पश्चिम सेती परियोजना निर्माणमा लागि दबाब दिदै आएको अभियान ‘बोलन्या थली’ले सो प्रदर्शन गरेको हो ।
‘हाम्रा लागि पश्चिम सेती त राती देखेको सपनाजस्तै भयो । जो हर बिहानीमा हराईरहेको छ,’ बोलन्या थलीका संयोजक यादव जोशीले भने,‘र, पश्चिम सेतीसंगै सरकार पनि हरायो ! त्यहीँ भएर सेती नदीमै पुगेर टुकी बाल्दै खोज्यौ !’ पश्चिम सेतीका लागि हालसम्मका सरकार र वर्तमान नेपालका नेताहरु कोही पनि जिम्मेवार नदेखिएको उनले गुनासो गरे । ‘हामीले विभिन्न चरणका दबाबमूलक कार्यक्रम र नेताकेन्द्रीत छलफल ग¥यौ । सबैले आफु भूमिका निभाउने बताए । तर कोहीकसैले केही गरेनन्,’ उनले थपे ।
आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटको पूर्वतयारी भईरहदा पश्चिम सेती बजेट सम्बोधन हुने अवस्था नदेखिएको संयोजक जोशीले बताए । उनले भने,‘यसपटकको बजेटमा टालटुल गरेर छेउ लगाउने काम भईरहेको जानकारी पाएका छौ । तसर्थ सरकारलाई दबाब दिन यो कार्यक्रम गरेका हौ ।’
सोही क्रममा नेपाली कांग्रेस डोटीका नेता जीतबहादुर खड्काले पश्चिम सेतीको निर्माणले सुदूरपश्चिमको आर्थिक विकासमा कायापलट गर्ने भएकाले सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।
बोलन्या थलीले यसअघि गत माघ २३ गते पश्चिम सेती निर्माणका लागि सेतीको पानी कचौरामा राखेर माईतीघर मण्डलामा प्रदर्शन गरेको थियो । त्यसपछि माघ २९ गते काठमाण्डौंमै ‘सडक, संगीत र संघर्ष’ शिर्षकमा सांगीतिक दबाब कार्यक्रम गरेको थियो । त्यसबीचमा सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुसंग भेटघाट र साक्षात्कार गरेको थियो ।
सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना चारदशकदेखी चर्चामा छ । बि.स. २०३७ सालमा फ्रान्सेली कम्पनी सोग्रेहले आयोजनाको अध्ययनको शुरु गरेको थियो । त्यतिबेला उसले बिना जलाशय ३७ मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने प्रतिबेदन तयार पारेको थियो ।
केहीपछि अष्टे«लियन कम्पनी स्नोई माउन्टेन इन्जिनियरिङ (स्मेक)ले ०४३÷०४४ मा ३ सय ६० मेगावाट बिजुली उत्पादन गर्न सकिने निष्कर्श निकाल्यो । स्मेकले २०५४ सालमा विस्तृत अध्ययन गरेर ७ सय ५० मेगावाट निकाल्न सकिने भन्दै तत्कालिन श्री ५ को सरकारसंग आयोजना निर्माणका लागि सम्झौता ग¥यो । लामो समयसम्म परियोजना निर्माण गर्न नसकेपछि २०६८ सालमा नेपाल सरकारले स्मेकसंगको सम्झौता खारेज ग¥यो ।
त्यसपछि चीनको थ्री गर्जेजसंग सम्झौता भयो । सम्झौताको साढे ६ वर्षपछि ०७५ भदौमा थ्री गर्जेजले पनि हात झिक्यो ।
त्यसयता पश्चिम सेतीको भविष्य अन्योलमा छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा यो आयोजना नेपाल सरकार आफैले बनाउने सवाल राखेको थियो । तर त्यसको कार्यान्वयनमा सरकारको कदम चलेको देखिदैन् । बरु जापान, अमेरिका र कतारका लगानीकर्ताको कम्पनी म्याट्रिक्स इन्टरनेसनलसँग लगानी बोर्डले आयोजना निर्माणको आर्थिक तथा प्राविधिक प्रस्ताव माग गर्ने तयारी गरेको खबर छ । सेती नदीमै रहेको चारसय ५० मेगावाटको अर्को आयोजना एसआर–६ लाई समेत पश्चिमसेतीसँगै राखेर १२ सय मेगावाटको प्याकेज एउटै कम्पनीलाई दिने तयारी भएको खबर छ ।