डोटीमा ६८ थान काठ बरामद
साउन७,२०७७
मोहन पनेरु (डोटी)– डोटीको आदर्श गाउँपालिका वडा नं ५ लामीखालमा ६८ थान काठ बरामद भएको छ ।
मौवा इलाका प्रहरी कार्यालय डोटी र कालिकास्थान सब डिभिजन कार्यालयको संयुक्त टोलीले लामीखालका स्थानिय धर्म रोकायाको घरबाट काठ बरामद गरेको हो । कालिकास्थान सब डिभिजन कार्यालयका फरेष्टर नरेश धामीले अबैध काठ मंगलबार घरमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको बताए । धर्म रोकायाले सो काठ आफ्नो नभई दाजु अर्जुन रोकायाको भएको बताउदै आएका छन् । बरामत गरिएको सालको पुरानो चिरानी काठ सहित धर्म रोकायालाई कार्वाहीका लागि प्रकृया अघि बढाइएको फरेष्टर धामीले जानकारी दिए ।
डिभिजन बन कार्यालय डोटीका प्रमुख शम्भु प्रसाद तिबारीले घटनाको यथार्त बुझ्न टोली खटाइएको बताए । ‘अहिले सम्म मौखिक जानकारी मात्र छ’, तिवारीले भने, ‘यथार्त कुरा अनुसन्धान पछि मात्र थाहा हुन्छ । अहिल्यै सो काठ अवैध हो होइन भन्न सकिने अवस्था छैन ।’
सो घटनाबारे प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराइ भने बेखबर छन् । उनले घटनाबारे बुधबार बिहान सामान्य रुपमा बाहिरबाट थाहा पाएपनि आधिकारिक रुपमा भने कुनै जानकारी नआएको बताए ।