जिल्ला प्रशासन कार्यालय डोटीले स्थानीय तहका सेवाग्राहीहरुलाई तोक्यो फरक- फरक दिन

डोटी
डोटी
August 07, 10:34

२०७७ साउन २३ गते शुक्रवार
मोहन पनेरु,डोटी
जिल्ला प्रशासन कार्यालय डोटीमा गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा नेपाली नागरिकता लिनेहरूको सङ्ख्यामा दिनहुँ वृद्धि हुन थालेको छ । कोरोना संक्रमण फैलिनु भन्दा पहिले दैनिक २५ देखि ३० वटा सम्म नागरिकता बितरण गर्दै आएको जिल्ला प्रशासन कार्यालयले अहिले दैनिक १०० देखि २०० सम्म नागरिकता बितरण गर्दै आएको बताएको छ।

कोरोनाको संक्रमण फैलिएपछि भारतमा रोजगारी गर्दै आएका जिल्लाका नागरिकहरु अहिले गाउँघरमा आएका र उनीहरुका श्रीमती सहित घरपरिवारका सदस्य नागरिकता लिन आउन थालेपछि प्रशासनमा भिड बढ्न थालेको बताइएको छ । जिल्ला प्रशासनमा तोकिएको दरबन्दि अनुसारका कर्मचारी समेत नहुँदा नागरिकता बितरणमा समस्या हुँदै आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दीमा दुई वर्ष देखि सरकारले कर्मचारी नपठाएका कारण उक्त दरबन्दि खाली रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी शाखा अधिकृत दुई जनाको दरबन्दी भएपनि लामो समयदेखि एकजना शिवकुमार राइले काम चलाउदै आएको र उहाँको पनि जिल्ला प्रशनासन कार्यालय खोटाङ सरुवा भएका कारण झनै समस्या भएको जिल्ला प्रशासन कार्यालय डोटीका खरिदार तेजबहादुर खड्काले बताए।

नागरिकता लिनेहरुमा पूरुष भन्दा महिलाको सङ्ख्या बढी भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । नागरिकता लिने नागरिकहरुको दिनहुँ भीडभाड बढेपछि जिल्लाका नौँ वटै स्थानीय तहका नागरिकहरुलाई नागरिकता लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालय डोटीले समय तालिका तोकेको छ। विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण गरिएको बन्दाबन्दी खुलेसँगै नागरिकता लिनेहरुको भीड बढेपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।

कतिपय सेवाग्राहीहरुले मास्क, सेनीटाइजर प्रयोग नगर्ने, भौतिक दुरी कायम नगर्ने लगाएतका स्वास्थ्य सुरक्षाका मापदण्डहरु समेत वेवास्ता गर्ने गरेकाले भीडभाड कम गरी कोभिड–१९ को जोखिम कम गर्न यस्तो निर्णय गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीले कोरोनाबाट जोगिन सामान्य सावधानी पनि नअपनाएको तथा नागरिकताका लागि निकै भिड लाग्न थालेपछि हामीले नयाँ नियम लागु गरेका छौँ, आसा छ, अब भिड केही नियन्त्रण हुँने छ र कोरोनाको डर पनि कमि हुँने छ ।”

प्रशासनले तोकेको नयाँ नियम अनुसार शिखर नगरपालिका, केआइसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका नागरिकहरुले आइतबार र बुधबार जिल्ला प्रशासन कार्यालयबाट सेवा प्राप्त गर्नेछन। त्यसैगरी आदर्श गाउँपालिका, पूर्वीचौँकी गाउँपालिका र सायल गाउँपालिकाको लागि सोमबार र विहीबार समय छुट्याएको छ। दिपायल सिलगढी नगरपालिका, बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका नागरिकहरुका लागि मंगलबार र शुक्रबार नागरिकता सेवा प्रदान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय डोटीका सुचना अधिकारी तथा प्रशासकीय अधिकृत शिवकुमार राईले बताउनुभयो।

सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षा सम्बन्धी न्यूनतम सावधानीका मापदण्डहरुको पालना नगर्ने नागरिकहरुलाई सकभर सम्झाई बुझाई गर्ने र अटेरी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याईने समेत जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको सूचना अधिकारी राईले जानकारी दिनुभयो ।

कोरोनाका कारण जिल्लाका विद्यालयहरु पूर्ण रुपमा बन्द छन भने यातायात सवारी पासका आधारमा सञ्चालन भईरहेका छन् । बजार क्षेत्र लगायत अन्य सार्वजनिक क्षेत्रमा भने मानिसहरु स्वास्थ्य सुरक्षाका मापदण्डको प्रवाह नै नगरी हिडडुल गरिरहेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय डोटीले कार्यालयमा बिना मास्क आउने सेवा ग्राहीलाई प्रबेश निषेध गर्ने निर्णय पनि गरेको छ । कोरोनाको बेवास्ता गर्दै सेवाग्राही बिना मास्क आउन थालेपछि प्रशासनले उक्त निर्णय लिएको प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सेवाग्राहीको भिड बढेको छ, कतिपय मास्कनै प्रयोग नगरी सेवा लिन आउन थालेका कारण कोरोना संक्रमणबाट जोगिनका लागि मास्क बिना आएकालाई प्रबेश नदिने निर्णय गरेका हौँ ।”

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा