बस दुर्घटनामा मृत्यु भएका ३ जनाको सनाखत, घाइते ३२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार हुँदै
२०७७ साल साउन २८ गते बुधबार
चक्र बलायर,डोटी
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा भएको बस दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ बर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ बर्षकी लछ्मा विक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका ३२जनाको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको छ ।घाईते मध्ये ७ जनाको अबस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारका लागि बाहिर पठाउने तयारि भईरहेको जिल्ला अस्पतालका डाक्टर प्रमोद भट्टले बताए।
कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ फुलौटमा दुर्घटना भएको थियो।उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका थिए।