कविता : स्वाभिमानको पर्खाल
स्वाभिमानको पर्खाल
जबसम्म खाइरहने छौँ छिमेकीको नुन
जबसम्म लाइरहने छौँ छिमेकीको सुन
जमिन मिचिने छ, घाँटी थिचिने छ ।
कति रटाउछौ, मात्रै स्कुले नानीहरूलाई
नेपालको खनिज सम्पदा बारेमा
अनि कैलेसम्म रट्नुपर्छ
हामी बेरोजगारहरूले
सर्टिफिकेट सिरानीमुनि राखेर
चिसापानीमा चाँदी छ,
सुनकोसीमा सुन छ र
सिन्धुपाल्चोकमा खरी छ भन्दै ।
युवाहरू घरिएको बेला
ए सरकार दे अनुमति
खानी उत्खनन् गर्न ।
होटेल व्यवसाय ठप्प भएका मुस्ताङ बासीलाई भन्दे
जाऊ थाकखोलाको नुन खन
कति जानू घुम्न र डेटिङ मात्रै फूलचोकीमा
एकचोटि फलाम र तामा खोजेर हेरौँ
कहाँनेर छ दैलेख, नेपालगञ्ज, दाङ, प्युठान र धनगढीमा पेट्रोल खानी
देखाइदेउन् विज्ञहरुले
अब पखाल्नुपर्छ मैलो आफ्नै आँगनको रिठाहरूले
थोरै दाउरा, धेरै कोइला र बालौँला ग्याँस पनि आफ्नै देशको ।
कहाँ के पाइन्छ आऊ खोजौँ फेरि
र खनौँला तिनै खानी
अनि भनौँला छिमेकीलाई
हामी स्वाभिमानी र स्वाधीन
र लगाउँला सभिमानकै पर्खाल सीमानामा
छिमेकीले हाम्रो आँगनमा थुक्न खोजे पनि उसैको मुखमा पर्नेगरी ।
पुष्पा शर्मा