हिक्मत शाहीको मर्मस्पर्शी कविता: भैगो म कवितै लेख्दिन
२०७७ भाद्र २९ गते सोमबार
भैगो म कवितै लेख्दिन
अभिच्छिन्न अभाव अनि
अनन्त गरिबीको कुचक्रमा
निरन्तर फसेर
अाफ्नै सपनाहरुको
एक्लो मलामी बनेको म
जम्मै इच्छा अभिलाषाहरु
पोको पारेर
घरि चोकमा मरे
घरि चौतारोमा मरे ,
मर्नु अनि मरि नै रहनु
मेरो नियति बनेको छ ,
निभेको चुलोको भित्तामा
अमुर्त चित्र बनेर
लत्तपतिएको मेरो भोक भित्र
तिम्रा अाश्वासनको पोको उधिन्दा उधिन्दै
निसास्सिएर निस्किएको
सास मेरै हो
साउदी , कतार अनि दुबईमा
भेटिएको लास मेरै हो
रोल्पा , रुकुम अनि जाजरकोट तिर
बाँझो बनेको थातबास मेरै हो
पल पल
मरेर बाँच्न
अनि
बाँचेर फेरि मर्न
कम्ता गार्हो छ र ?
रोग भोक अनि अभाव
मेरो जीवन पद्धति बनेको बेला
तिमी समृद्धिको कविता लेख भन्छौं
मैले कसरी लेख्नु र ?
भैगो बरु म कवितै लेख्दिन !
नयाँ के बनायौ र तिमीले
फेरिएको के छ र तिमीमा
जे छ दुरुस्त छ
पुरानो जस्तो नयाँ उस्तै छ
पात्र फेर्यौ
चरित्र फेरेनौ
पटकथा फेर्यौ
प्रवृत्ति फेरेनौ
र त
जता हेर्छु
सकसै सकस छ
सास फेर्न समेत कठिन
उकुसमुकुस छ ,
लुट उस्तै
झुट उस्तै
शासन सत्ताका लागि
टुटफुट उस्तै ,
सिंहदरवारको भग्नावशेष
गाउँगाउँमा पुर्याएर
चन्द्र शमशेरको मृत अात्मा
रक्तविज बनेर जागेको बेला
तिमी नयाँ नेपालको कविता लेख भन्छौं
मैले कसरी लेख्नु र ?
भैगो बरु म कवितै लेख्दिन !
शासक मालामाल भएर
जनता कङ्गाल भएको समयमा
जता हेरे पनि
रोग देखिन्छ
भोक देखिन्छ
शोकको अालोकमा
अभावका प्रतिविम्बितहरु
अनन्त देखि अनन्तसम्म
कङ्काल बनेर सल्बलाउन थाल्छन् ,
अनि तिमी
रोग भोक अनि अभावको उत्खनन गरेर
सुख निकाल भन्छौ ,
विष छरेर
अमृत फलाउन खोज्ने
तिम्रो मुर्खता देखेर
लाजले समेत जिब्रो टोकेको बेला
तिमी सुखको कविता लेख भन्छौ
मैले कसरी लेख्नु र ?
भैगो बरु म कवितै लेख्दिन !
राज्यकोषमाथि ब्रमहलुट भएको बेला
चोर लुटेरा अनि भ्रष्टलाई
छुट भएका बेला
भ्रष्टको मुख नहेरे के फरक पर्छ र
दुबै मन मिलेको बेला
अनि फेरि
बेमौसमको राग अलाप्छौ तिमी
भ्रष्टाचारमा शून्य सहनशीलताको ,
कता छैन भ्रष्टाचार ?
तिम्रो अासनमा छ
तिम्रो शासनमा छ
जीवनको अवसान भएर
मसानमा जल्दै गर्दा
तिम्रो चीताको खरानीमा समेत
भ्रष्टाचारको दुर्गन्ध फैलिएको बेला
तिमी सदाचारको कविता लेख भन्छौं
अनि मैले कसरी लेख्नु र ?
भैगो बरु म कवितै लेख्दिन !
हिक्मत शाही
सिलगढी, डोटी