छोड्नुस अब मनका सपना कविता
सुख दिनुभो
समृद्धि दिनुभो
बोक्नै नसकिने वैभव दिनुभो,
चुलो बलेको छैन कतै
कसौंडीमा पनि यो चलेको छैन कतै
भोकै देख्छु
जुम्ला–जाजरकोटहरु
न देख्छु
हुम्ला–कालिकोटहरु,
न मोटर चलेको देख्छु
न मार्सी धान फलेको देख्छु
न युवा छन् गाउँमा
न हलो चलेको देख्छु,
त्यति मात्रै हो र
अभावै अभावको भुमरीमा
सिङ्खो गाउँ ढलेको देख्छु ।
तपाई सपना रोप्नुहुन्छ
सपना गोडमेल गर्नुहुन्छ
र अनि
सपना फलाउनुहुन्छ
तर
ओढ्न मिल्दैन सपना
विच्छ्याउन मिल्दैन सपना
गम्ली आलो हालेर
निदाउन मिल्दैन सपना,
सपना न हो
न खान मिल्छ
न चपाउन मिल्छ
न निर्धक्कसँग पचाउन मिल्छ
छोड्नुस् सपनाका कुरा
अधुरा सुख, समृद्धिका कुरा,
सकिन्छ भने
नेपालीलाई दुईछाक हातमुख जोर्ने
अवसर दिनुस् न है ।
पूर्व पश्चिम रेल दिनुभो
माटो निचोरेर तेल दिनुभो ,
हावाबाट बिजुली निकाल्नुभो कतै
बिजुलीबाट हावा निकाल्नुभो कतै ,
कुरा कुरा फेरि कुरा
कोशी गण्डकीमा पानी जहाजका कुरा
सगरमाथाको बेस क्याम्पमा जम्बो जहाजका कुरा,
जम्मै कुरा अधुरा अपुरा
न गाउँमा चिम बलेको देख्छु
न सहरमा उद्योग चलेको देख्छु
फेरि पनि
कतै बुलेटका कुरा
कतै मेटोका कुरा
कतै बायुपी टावर
अनि
कतै हाइड्रो पावरका कुरा,
छोड्नुस सपनाका कुरा
अधुरा सुख, समृद्धिका कुरा,
सकिन्छ भने,
पश्चिम सेतीको उर्जाबाट चल्ने
विद्युतीय बस दिनुस् न है
कतै उद्योग दिनुभो
कतै रोजगार दिनुभो
कतै आत्मनिर्भरता अनि
कतै सोरोजगार दिनुभो
कुरा त के मात्रै गर्नुहुन्न र
कतै कृषिको आधुनिकीकरणका कुरा
कतै देशको औद्योगिकीकरणका कुरा
कतै पञ्चेश्वरका कुरा
कतै अपर कर्णालीका कुरा,
छोड्नुस् नयाँ कुरा
गरौं पुराना कुरा
न बासबारी छालाजुत्ता देख्छु
न गोरखकाली रबर उद्योग देख्छु
कहाँ छ विराटनगर जुटमिल रु
न सूर्यटोबाको कम्पनी देख्छु ।
फेरि पनि कुरा न हुन्
कहिले जून झार्ने कुरा
कहिले तारा झार्ने कुरा
कहिले मलमा घडेरी किनेर
कहिले वृहस्पतिमा हलोजोत्ने कुरा,
छोड्नुस् अब सपनाका कुरा
जम्मै कुरा अधुरा अपुरा
शिलान्यासमा नरिवल
फोड्दै गर्नुहोला ,
केबलकारले
सगरमाथा अनि कन्चनजङ्खालाई
जोड्दै गर्नुहोला ,
सकिन्छ भने
कृषकलाई समयमा मल दिनुस् न है
कसैलाई यता दिनुभो
कसैलाई उता दिनुभो
कसैलाई मन्त्री
अनि
कसैलाई नेता दिनुभो,
दायाँ हेर्छु
बबरमहल देख्छु
बायाँ हेर्छु
केशरमहल देख्छु,
टोलटोलमा सिंहदरबार भएपछि
श्री ३ उस्तै
श्रीपेच उस्तै
सत्ता अनि शक्तिको
दाउपेच उस्तै ,
दिन त के के मात्र दिनुभएन र
पोल्टोभरि संविधान दिनुभो
ठेलीका ठेली विधान दिनुभो,
पीए कतै
सीए कतै
जीएम कतै
पीएन कतै ,
काम भन्दा धेरै
कर्तुत देख्छु
न इमानदारिता देख्छु
न दस्तुर देख्छु,
कति गर्नुहुन्छ अख्तियारीको दुरुपयोग
कतै बिचौलिया जस्तो
कतै दलाल जस्तो ,
कतै दरि अनि
कतै हरिकङ्खाल जस्तो
छोड्नुस् आदर्शका कुरा
सुशासन अनि पारदर्शीताका कुरा,
सक्नुहुन्छ भने
कानुन अनुसार काम गर्दिनुस् न है ।
महाराजको जस्तो परिधान देख्छु
सामन्तको झैं सान देख्छु
अहम् उस्तै
दम्भ उस्तै
अहा उस्तै
घमण्ड उस्तै,
फेर पनि गफै त हो नि
गफै गफमा
शिष्टता दिनुहुन्छ
सदाचार दिनुहुन्छ
भ्रष्टाचारमा शून्य सहनशीलताको
असल विचार दिनुहुन्छ ,
र पनि कतै गर्नुहुन्न
बिष्णुका कुरा
बैकुण्ठका कुरा
गोकुल अनि
गोकुलधाममा कुरा,
अध्यागमन त्यस्तै
भन्सार त्यस्तै
नापी त्यस्तै
माल त्यस्तै
अदुअ मात्रै हो र
अदालतको ताल त्यस्तै ,
एनसेल, ओम्नी अरु के के
ललितानिवासमा पुरिएको
वाइडबडीको कङ्काल त्यस्तै ,
रामराज्य हुदै गरोस्
सक्नुहुन्छ भने
भ्रष्टहरुलाई जेल हाल्दिनुस् न है
लेखक हिक्मत शाही पद्यमा पब्लीक मुक्तीनारायण माध्यामिक बिद्यालय शिलगढीका शिक्षक हुन ।