घर जान फुर्सद नै कहाँ छ र
दिपायल पिपल्ला स्थित रामबावु यादवको चिया पसल । साना नानीबाबुहरूले निहुरेर छिर्न मिल्नेझैं गरी झारिएको थियो सटर । बाहिर सडकभरि छरिएका थिए– प्रहरी जवान । पसलभित्र गम्भीरतापूर्वक बसिरहेका थिए– एक बालक ।
सँगै बसेका उनका बुवा रामबावु पल्टाइरहेका थिए– हिसाबकिताबको बहिखाता। बिस्तारै सटर माथि उठाएर पसलभित्र गएँ। अनि ती बालकसँग भलाकुसारी गरेँ।
म ती बालकलाई प्रश्न गर्छु, ‘कति कक्षामा पढ्छौ बाबु ?’
उनी नम्र भएर उत्तर दिन्छन्, ‘६ कक्षामा’
म पुनः सोध्छु, ‘पढेर के बन्छौ ?’
सजिलैसँग भनिदिन्छन् – ‘ईञ्जिनीयर !’
‘भोलि तिम्रो बुवा बूढो हुनुहोला। त्यतिबेला यो पसल कसले चलाउँछ ?’
अलिकति पनि विलम्ब नगरिकन उत्तर दिन्छन् उनी, ‘बन्द गरिदिने।’
यो सम्वाद सुनेर मुसुमुसु हँसिरहेका थिए– उनका पिता रामबावु । बेलाबखत मायालु पाराले हेरिरहेका थिए– छोरा भानुको मुहारमा। ‘कति जना छोराछोरी छन् तपाईंका’ – रामबाबुतिर दृष्टि फाल्दै प्रश्न गर्छु। अलि भावुक मुद्रामा सुनाउँछन् उनी, ‘तीन छोरी अनि छोरो यही एउटा हो। यसैमा चित्त बुझाउनु पर्यो के गर्नु।’
चित्त बुझाउनुपर्यो भन्ने वाक्य सुन्दा फेरि भनेँ, ‘के हो यो चित्त बुझाउनु भनेको ?’
मनमा बेलाबखत आइरहने कुरा फ्याट्ट निस्कियो उनको मुखबाट – ‘हैन, एक्लै भयो भनेर नि !’ यो समस्या रामबावुको मात्रै हैन। उनी त एक प्रतिनिधि पात्र मात्र हुन्। अधिकांशको सोचाइ यस्तै छ। सुदूरपश्चिममा त अधिकांशको मुखबाट सुनिन्छन्– एकलो कति टेकलो। एक्लो छोरालाई नि के छोरा भन्नु ! एक आँखाको नि के भर जस्ता भनाइ ।
यस्ता भनाइ सुनेर पनि आँट हराउँछ छोरीमान्छेमा। आफू छोरी भएर जन्मेकोमा खिन्नता प्रकट गर्छन् र धिक्कार्न थाल्छन् आफैँलाई। केही छोरो नपाएर पीडित। कोही एउटा मात्र भएर चिन्तित। बुझिनसक्नु छ यो समाज !
छोरा र छोरीबीचको विभेद पनि हो– समाज रुपान्तरणको बाधक। समाजको यस्तै खाले सोचले कमजोर पारिदिएको छ– छोरीहरूलाई ।
समय जति नै परिवर्तनशील भए पनि हट्न सकेको छैन समाजमा जरा गाडेर बसेको पितृ सत्ताको भोक। जुनसुकै तन्त्र आए पनि कतिपय कुरामा अझै हुन सकेको छैन– मान्छे परिवर्तित। छोरीलाई हेर्ने दृष्टिकोण उस्तै छ। आखिर छोरी नचाहने समाजले किन र कसरी बुहारीको खोजी गर्छ ? मनमनै सोचिरहेँ।
कुनै बेला सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकमका रुपमा चिनिन्थ्यो– दिपायल। सदरमुकाम मात्रै नभएर विगतमा डोटी राजाको कोट पनि थियो दिपायलमै। अचेल बिस्तारै रुप परिवर्तन हुँदै गएको छ।
कोरोना लकडाउनका कारण सुनसान देखिन्छ बजार। वरिपरि हराभरा छ। आफ्नै गति र लयमा सुसेलिरहेकी छन् सेतीले गीत। फ्याट्टफुट्ट देखिने मान्छेको जक्सन बनिरहेकै छ रामबाबुको मिठाइ पसल। प्रायःजसो नेता, कर्मचारी र सर्वसाधारणहरू दिपायल आएपछि चिया–नास्ता खाने ठाउँ नै त्यही हो । आफ्ना काकासँग १० वर्षको उमेरमा आएका थिए उनी दिपायल। उनको जन्मथलो धनुषा जिल्ला हो। सगोलमै बस्थे काका बा सबै जना। ३ कक्षासम्म धनुषमै पढेका उनले २०४८ सालमा दिपायल आएपछि विद्यालय जान पाएनन्।
२०४८ सालतिर सेती बगरमा सुरु गरेको काकाको चियापसल ०४९ सालमा हालको बजार रहेको ठाउँ पिपल्लामा सर्यो। साँझ बिहान दिउँसो भाँडा माझ्न थाले उनी। अनि सँगसँगै सिके चिया, समोसा पकाउन पनि ।
जतिजति उमेर बढ्दै गयो त्यति–त्यति चासो बढ्दै जान थाल्यो व्यापारतिर। त्यतिबेलासम्म काका बुवा अलग भैसकेका थिए। अलग भएपछि दिपायल छोडेर काका धनुषा फर्किए । उनले चियापसल सँगै सुरु गरे श्रृङ्गारको पसल पनि। भाइलाई समेत बोलाए दिपायलमै। भाइलाई काउन्टर सम्हाल्न लगाएर आफू दौडधूप गरिरहे बजारमा। होलसेलमा विभिन्न प्रकारका सरसामान बेच्न। संकटकालमा पूर्णविराम लाग्यो उक्त कार्यमा ।
उनले सुरुका ती संघर्षका दिनहरू सम्झिदा लामो सास तान्दै सुनाए– ‘दुःखको कुरै नगर्नू। दुःखको सीमा नै रहेन। अति नै सघर्ष गरेँ जीवनमा। सुरु–सुरुमा सबैले देशी भनेर हेप्थे। बारम्बार दिमागमा आइरहन्थ्यो गाउँ फर्किने कुरा। कहिलेकाहीँ साह्रै खिन्नता छाउँथ्यो। राजनीति उस्तै थियो। समाज उस्तै थियो। कसो–कसो कर्म गर्न छाडिनँ। भाग्यको भरमा टिकेँ। अब त यो ठाउँ छोड्न मन लाग्दैन। निकै प्यारो लाग्छ।’
जिन्दगीमा धेरैपल्ट रोए उनी। सबैभन्दा बढी रोएको दिन थियो भाइको छोरो गुमाउँदा। उनी सुनाउँछन्– ‘ऊ बिमारी भयो उपचारका क्रममा कहाँकहाँ पुगे तर बचाउन सकिनँ ।’ उक्त घटना सुनाउँदै गर्दा एकछिन मौनता छायो उनमा। रसाएका परेली चल्मलाउँदै निःशब्द बनिदिए– क्षणभरका लागि। सङ्कटकालमा पनि उनले निकै तनाव झेलेका रहेछन्। अझै पनि डराउँछन् त्यो कुरा सबैलाई भन्न।
दाइजो प्रथाका कारण छोरी शब्द नै सुन्न नपाए हुन्थ्यो ठान्ने समाजमा जन्मिए उनी। उनको घर समाजमा चिन्ताको विषय बनिदिन्छन् छोरीहरू। उनी सुनाउँछन्, ‘हाम्रोमा त छोरी जन्मिनुलाई कलङ्ककै रुपमा लिन्छ समाजले।’
२२ वर्षको उमेरमा मागी विवाह गरेका रामबाबुको दिमागमा अनेक प्रश्नहरूले बास गर्न थालेछन् जति बेला श्रीमती पूजा बच्चा पाउने भइन् भन्ने कुरा थाहा पाए। तीन महिना पछाडि परिवारलाई चेक गराउन पुगेछन् अस्पताल।
डाक्टरलाई सोद्धा उत्तर पाएछन् छोरा छ भन्ने। तर, जन्मिदा छोरी जन्मिछन्। दोस्रो पटक पनि त्यस्तै भएछ। अनि छोडेछन् डक्टरलाई सोध्न पनि। तेस्रो सन्तानका रुपमा पुनः छोरी नै पाएछन्। चौथोपल्ट जब छोरा पाए। बल्ल खुसी छाएछ मुहारमा।
पढालेखा अनि क्रान्तिकारी सोच भएका भनिएकाहरुमा त छोरा कै लोभ देखिन्छ भने। रामबाबु जस्ता पुरानै संस्कार र मान्यतामा अडिएकाहरूमा त झन हुने नै भयो छोराको मोह।
त्यसैले त उनी सुनाउँछन्, ‘थुप्रै प्रकारका तनावले मनमा डेरा जमाए गए बेलाबखत। तर पनि हरेश खाइनँ। जीवनमा न कुनै कुराको तालिम लिएँ न त कसैसँग केही सिकाइ मागेँ। बिभिन्न मिठाइ पसलमा गएँ। नयाँनयाँ प्रकारका मिठाइ किनेर घरमा आएँ। कसरी बनाउनुपर्छ भन्ने कुरा अरुसँग सोध्न सक्दैन थिएँ। सोध्न मन त लाग्थ्यो तर लाज लाग्थ्यो। घर पुगेर त्यस्तै प्ररिकारहरू बनाउन खोज्दा कति पटक बिग्रियो। बिस्तार–बिस्तारै बनाउन सकेँ विभिन्न परिकारहरू। अहिले पनि धनगढी गएको बेला विष्ट, महावीरलगायतका केही मिष्ठान्न भण्डारमा गई मिठाइका आइटम किन्ने बानी उस्तै छ।’
दिपायलमा बर्थडे केक उनको पसलमा मात्रै पाइन्छ। मिठाइका विभिन्न परिकारहरूका साथै दूध, दही, मोही पनि पाइन्छ उनको पसलमा। नेतादेखि सर्वसाधारण सबै आउँछन् पसलमा। उनले सुनाए, ‘पूर्वमन्त्री सिद्धराज ओझा जिल्ला आएको बेला सत्कार होटलमा बस्नुहुन्थ्यो। चिया खान मेरो पसलमा आउनुहुन्थ्यो। अचेल यता आएको बेला पूर्वमन्त्री वीरबहादुर बलायर, प्रेम आलेलगायत प्रायः नेता आउनुहुन्छ। सबैले माया गर्नुहुन्छ। आफ्नोलागि गर्नुपर्ने त आफैँले हो। ठूलाबडा मान्छेले के छ खबर भनेर सोधी मात्र दिए पनि खुशी लाग्दो रहे छ, सर !’
यौवनारुढ युवतीको झैं मन्द मुस्कानमा प्रस्तुत भइदिन्छन् उनी सबैसामु। सघर्षको फल मिठो हुन्छ भनेझैँ छोटो समयमा उनले राम्रै कमाए। १८ जना कामदारलाई तलब दिएर पसलकै कमाइले आफ्नो परिवार पालेर बचेको रकमले दिपायल बजारमा सडकछेउमै घडेरी किनेर तीन तले घर ठड्याए। घरमा आमाबुवालाई खर्च पनि पठाइ नै रहे। उनले सुनाए, ‘माग्न आउने कसैलाई पनि खाली हात पठाएको छैन। थोर बहुत दिएकै हुन्छु।’
०६२÷०६३ पछाडि दुई–चार वर्ष निकै गति लियो उनको व्यापारले। दिपायल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम। लोकसेवादेखि प्रहरीमा भर्नाका लागि परीक्षा दिन आउनेको घुइँचो लाग्थ्यो। त्यति बेला दिनकै ३५–४० हजारको व्यापार हुने गरेको सुनाउँछन् उनी।
वृद्ध आमाबुवा धनुषामै छन्। यतिखेर भाइ आमाबुवासँगै बसेका छन्। भाइका दुई छोरा एक छोरीमध्ये एक छोरा एक छोरी उनीसँगै छन्। यतै पढाइरहेका छन्। १८ जना कामदारमध्ये बन्दाबन्दीका कारण नौ जना घर गइसकेका छन्। यतिखेर ९ जना कामदार र १८ जना परिवारका सदस्य गरी २७ जना पाल्नुपरेको छ उनले। कमाइको स्रोत भन्नु त्यही पसल हो, जो बन्दाबन्दीका खोल्न पाएका छैनन्।
उसो त सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली सरेपछि उनको व्यापारमा मन्दी आउन थालिसकेको थियो तर पनि उनी निकै आशावादी छन्। निकट भविष्यमा कैलालीमा समेत व्यापार सञ्चालन गर्ने सोच बनाएका यादवको बाआमासँग भेट नभएको पनि ४ वर्ष भइसक्यो। घर जान फुर्सद नै नपाएको कुरा सुनाउँछन उनी।
केही वर्षअघि उनले बाआमालाई पनि दिपायलमै बोलाएछन् तर महिना दिनभन्दा बढी बस्न सकेनछन्। उनी सरल, सहज र आत्मीय ढंगले भनिदिन्छन्, ‘बाआमाका साथी–संगतिया सबै उतै छन्। आफ्नै समाज र संस्कृतिमा रमाउन चाहनु हुन्छ उहाँहरू। मेरो साथी–संगतिया सबै यतै छ। २८ वर्ष भैसक्यो यो ठाउँमा बसेको। अब त उता गए पनि गाउँमा बस्न सक्दिनँ धेरै दिन। माया, ममता, स्नेह, पैसा सबै पाएको छु यता। तर, छठलगायत केही चाडपर्वमा मनले खोजिदिन्छ उतैको समाज र संस्कृति। छठको बेला श्रीमती पूजा ब्रत त बस्छिन्, तैपनि उताको जसरी छठ पर्व मनाउने हाम्रो समुदायका अरु मान्छे छैनन् यहाँ। त्यतिबेला दुवैले सम्झिरहन्छौँ जन्मथलो।’
साभार बिएल मिडीया