युट्युबर, टिकटकर र ’सेल्फी समाजसेवी’बाट जोखिममा राउटे सभ्यता
– रतन देवकोटा
’धेरै चकचक नगर त । यस्तै हो भने राउटेलाई लैजा भन्छु !’
’बोलाउनु न त । के गर्छ र राउटेले !’
’राउटेले ससाना केटाकेटीलाई छोपेर लिन्छन् । अनि खाल्डोमा गाड्छन् । फलामको सुइरोले तालुमा घोचेर आकाशमा मान्छेभन्दा अग्लो रगतको सिर्का पारेर वनदेवीको पूजा गर्छन् ।’ आमाको मुखबाट यस्तो कुरा सुन्दा मेरा नाडीमा रगत चल्न छोडेजस्तो महसुस हुन्थ्यो । फुर्तिलो जिउ भारी हुन्थ्यो ।
म सानो छँदा मेरो विद्रोही स्वभावलाई रोक्न, अंकुश लगाउन आमाले यो वाक्याशंलाई धेरै पटक प्रयोग गर्नुभएको मलाई अझै सम्झना छ ।
राउटेहरू कस्ता निर्दयी होलान् ? साँचै कस्ता होलान् राउटे ? कस्तो ठाउँमा बस्छन् होला ? कस्तो खान्छन् होला ? मान्छेको बलि दिने कस्तो अच्चम ? मेरो बालमस्तिष्कमा यस्ता अनगिन्ती प्रश्नहरूको अनन्त ज्वारभाटाहरू उठिरहन्थे । बालपन ढल्किँदै गयो । आमाले पनि भन्न छोड्नुभयो । मैले पनि बिर्सिंदै गएँ । राउटे शब्द मानसपटलमा धुमिलिँदै गयो ।
जापानी चक्लेट
मास्टर्स तहमा पढ्दा राउटे शब्द फेरि नजिकियो । समाजशास्त्रको विद्यार्थी नभइदिएको भए राउटे समुदायप्रतिको चासो सायदै हुन्थ्यो । संयोगवश सन् २०१८ मा टोकियो विश्वविद्यालयमा मानवशास्त्र अध्ययनरत सात जना जापानी विद्यार्थीको शोध सहयोगका लागि म झण्डै एक महिना राउटे बस्तीमा पुगेँ । (बस्तीमा बस्न राउटेले दिँदैनन् । तर, राउटेछेउको गैरराउटे समुदायमा बसेँ, जहाँबाट राउटे बस्तीमा दिउँसो जान । भेट्न सजिलो हुन्थ्यो ।) झण्डै एक महिना राउटे समुदायमा बसेपछि मलाई राउटेहरूको जीवनशैली निकै रुचिपूर्ण लाग्यो । मैले मास्टर्समा राउटेमै थेसिस गर्ने अठोट गरेँ । बाल्यकालमा आमाले तर्साएको कथाले मलाई झन् राउटेबारे अध्ययन गर्न उत्प्रेरित ग¥यो ।
त्यो एक महिना रिसर्चर भएर गएको थिइनँ । म त जापानी रिसर्चरलाई सघाउन मात्रै गएको थिएँ । त्यो समयमा मैले राउटेको जीवनशैलीबारे मिहिन अवलोकन गर्ने र बुझ्ने मौका पाएँ । जापानीहरूले चक्लेट ल्याएका थिए । नेपालमा त्यस्तो चक्लेट पाइँदैन क्यारे ! मैले पनि पहिलो पटक देखेको थिएँ । राउटेलाई पहिलो दिन भेट्न जाँदा जापानीहरूले उपहारस्परूप अर्थात् ¥यापोर्ट बिल्डिङका लागि चक्लेट दिए ।
गोरा अनुहार । चिम्सा आँखा । होचा कद भएका मानिसहरू पहिलो पटक देखे सायद राउटेहरूले । उनीहरूहरूले अनौठो मानेर हेरिरहेका थिए ।
’यी काँ बाटी आयाका हुन् ?’
’जापानबाट ।’
’किन आयाका हुन् ?’
’तपाईहरू धेरै राम्रो लाग्यो रे । अनि राउटेको संस्कृति बुझ्न र तपाईंबाट सिक्न आयाका हुन् ।’ जापानीहरू राउटे बस्तीमा आउनुको कारणबारे मैले स्पष्ट पारेँ । जापानीले राउटेलाई चक्लेट दिए । लिँदैनौँ भनेनन् । चक्लेट लिए । मजाले चक्लेटलाई ओल्टाई पल्टाई हेरे । तर खाएनन् । एक जना छरितो राउटे केटो दगुर्दै मतिर आयो । र, शंकामिश्रित भावमा मिठाई देखाउँदै सोध्यो, ’ए ! यो के हो ?’ ’यो मिठाई हो । मिठाई । जापानमा बनेको’, मैले उसको आँखामा हेर्दै भनेँ । ’जापानमा बनेको !’, राउटे केटोले मेरै शब्द दोहो¥यायो । (प्रायः राउटेहरू गैरराउटेले बालेका वाक्यको अन्तिम शब्द दोहो¥याउने गर्छन् ।)
उसको अनुहारमा लागेको शंकाको बादल हरायो । उज्यालिँदै ऊ अरू राउटे भएतिर पुग्यो र आफ्नो भाषामा बोल्दै हाँस्यो । सबै जना चक्लेट खोलेर खान थाले । यो दृश्य मलाई निक्कै अनौठो लाग्यो । जापानीहरू नौला थिए । भाषा बुझिँदैनथ्यो । नयाँ मान्छेले खाऊ भनेर केही दिँदा राउटेले शंका गरे । र, पुष्टिका लागि मकहाँ आए । अपरिचित कुनै पनि मानिससँग बढी खुल्न चाहँदैनन् राउटेहरू । मैले यही बेला थाहा पाएँ ।
दाताको म्याट, ईश्वरको डर
२९ भदौ अर्थात् बालदिवसको दिन थियो । स्थानीय सरकार प्रमुख, एनजीओकर्मी र पत्रकार राउटे बस्तीमा आए । राउटेहरूलाई नाँच देखाऊ भने । राउटेहरूले नाँच देखाए । जोहान राइनहार्ड, जाना फोर्टिएर, डा.युवराज लुइँटेल, पूर्णप्रकाश नेपाल, गौरीबहादुर कार्की, डोरबहादुर विष्टलगायतले राउटेबारे विभिन्न लेख तथा पुस्तक प्रकाशित गरेका छन् । उहाँहरूको अध्ययनमा मेरी आमाले भनेको कुरा मैले कहीँ भेटिनँ । र, राउटेलाई सोधें, ’राउटेले नरबलि दिन्छन् हो ?’
स्थानीय सरकार प्रमुखले प्रत्येक राउटेको औँठा छाप उठाए । र, प्रत्येकलाई २ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरे । एनजीओकर्मीले राउटेलाई राहतस्वरूप प्लास्टिक म्याट दिए । पत्रकारले फोटो खिचे र फेरि आउने वाचाका साथ फर्किए । भत्ता पाएको दिन राउटे बस्तीको माहौल नै बदलियो । सानादेखि ठूला राउटेहरू पसल पुगे । कसैले पसलेको उधारो तिरे । कसैले लिच्ची नाम गरेको रक्सी किने । कसैले नुन । कसैले सानासाना बच्चाका लागि चाउचाउ । पाउरोटी । यस्तैयस्तै किने । भत्ता पाएको केही दिन पसलमा राउटेको निक्कै आवतजावत बाक्लियो ।
राउटेहरू लगभग भुइँमै सुत्छन् भन्दा हुन्छ । स्याउलामाथि पातलो दरी बिछ्याएर सुत्छन् । राउटेको यस्तो जीवन देखेपछि तपाईं हामीलाई दया जाग्छ नै । सायद एनजीओकर्मीले यही अवस्था देखेर राउटेको आवश्यकता म्याट ठाने र बालदिवसको दिन सबै परिवारलाई म्याट प्रदान गरे । राउटेले पैसा स्वीकारे । तर, म्याट दुत्कारे । म्याट पाएको पछिल्लो दिन स्थानीयलाई बेच्न हिँडे । कसैले तरकारीसँग म्याट साटे । कसैले रक्सीसँग । कसैले पैसासँग । कसैले चाहिँ सित्तैँमा दिए भन्ने पनि सुनियो ।
’किन बेच्न थालेको ?’, रक्सीले टिल्ल शिवराज राउटेलाई सोधेँ ।
’चामल किन्ने पैसा नाइँ ’, जवाफ दियो ।
शिवराज राउटे गत जेठमा ३४ वर्षको अल्पायुमा परलोक भयो । ऊ अत्यधिक रक्सी पिउने युवा थियो । ऊ अब सम्झनामा मात्रै छ । मैले पूर्वमुखिया मइन बहादुरलाई सोधेँ, ’तपाईंहरूले किन म्याट सस्तोमा बेच्न लाग्नुभएको ? तपाईंलाई यसमाथि सुत्न सजिलो हुन्छ । महँगोमा किनेर उपहार दिएको हो नि ।’ ’राउट्यालाई यो निको लाग्दैन ता । राखि क्या गन्न्या ता ?’, उनले भने ।
’किन निको लाग्दैन ?’
’राउटेको आफ्नै चलन छ । राखि क्या गन्न्या ता ?’, उनले भने । मैले अर्को राउटे सहायक मुखियालाई पनि यही प्रश्न गरेको थिएँ । ’म्याट राउटेको होइन । यो राख्यौँ भने देउता रिसाउँछ । सिकार बिग्रिन्छ’, उनले राउटेको ईश्वरप्रतिको गहिरो विश्वास व्यक्त गरे । मष्टोपूजक राउटे दैवीशक्तिमा निक्कै आस्था र विश्वास गर्छन् । मान्छे जन्मिनु र मर्नुलाई ईश्वरको खेल र लेखान्त ठान्छन् । ईश्वर रिसाएपछि राउटे बस्तीमा हानि हुन सक्ने खतराले बस्तीबाट म्याट हटाएको उनले बताए । वर्ग, छुवाछुत र विभेदविहीन राउटे समुदाय भ्रमणशील जाति हो । जति बेला पनि हिँड्न तयार हुनुपर्छ । धेरै सरसामान जोड्न÷थुपार्न चाहँदैनन् राउटे । बाँदर मार्ने जाल, राउटी छाउने पाल, बसुलो, बञ्चरो, केही थान भाँडा र केही जोर लुगाबाहेक राउटेको अरू कुनै सम्पत्ति हुँदैन ।
राउटे सभ्यता र संस्कृतिलाई नबुझी म्याट दिनेहरूले कम्तीमा राउटे के चाहन्छन् भनेर बुझ्ने कोसिस गरेको भए हुन्थ्यो । राउटेलाई बालबालिका पढाउने चिन्ता छैन । घरजग्गा जोड्ने लालच छैन । राउटेको घर हुँदैन, त्यो बनाउने सपना पनि हुँदैन । राउटेहरू घुमन्ते हुन् । विभिन्न क्षेत्रमा घुमिरहन्छन् । उनीहरूमा कुनै ब्राण्डेड सामानको मोहमा रत्तिने तिर्खा पनि छैन । एकै ठाउँमा बस्ने मोह र माया पनि छैन । लाग्छ– राउटेहरू बग्ने खोला हुन् । बगिरहन्छन् । कहिले सङ्लिँदै । कहिले धमिलिँदै । अफसोच, अहिले सङ्लिनै नसक्ने गरी धमिलिँदै गइरहेको छ राउटे समुदाय । पहिलो पटक मैले राउटेलाई दैलेखको गुराँस गाउँपालिकामा भेटेको थिएँ । राउटे विषयमै शोध गर्ने भएपछि मैले सो विषयबारे तयारी गर्न थालेँ । जोहान राइनहार्ड, जाना फोर्टिएर, डा. युवराज लुइँटेल, पूर्णप्रकाश नेपाल, गौरीबहादुर कार्की, डोरबहादुर विष्टलगायतले राउटेबारे विभिन्न लेख तथा पुस्तक प्रकाशित गरेका छन् । उहाँहरूको अध्ययनमा मेरी आमाले भनेको कुरा मैले कहीँ भेटिनँ । र, राउटेलाई सोधें, ’राउटेले नरबलि दिन्छन् हो ? राउटेले भने, ’गोडाले भेटेको, आँखाले देखेको कुरा भन्नुपर्छ । कानले सुनेको भन्नु हुँनैन । कानले सुनेपछि आफैँलाई दुःख हुन्छ ।’
राउटेले नरबलि दिन्छन् भन्ने हामी दुनियाँले निर्माण गरेको भ्रम हो । यो भ्रम अहिले मात्रै होइन, दशकौँदेखि रहिआएको छ । मेरी आमालाई समाजले सुनायो । आमाले मलाई सुनाउनुभयो । सायद मैले राउटेबारे बुझ्ने प्रयास नगर्दाे हुँ त, ममा पनि यो भ्रम रहिरहने थियो । राउटेबारे दर्जनौँ भ्रमहरू छन् ।
यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई भाला रोपी मार्छन् भन्ने हल्ला अहिले केही सामाजिक सञ्जाल र मिडियामा दुष्प्रचारित गरिएको छ । यो राउटे सभ्यता र संस्कृति नबुझेकाहरूको अल्पज्ञानको पराकाष्ठा हो । भ्रम छुन्छौँ र भ्रम फैल्याउँछौँ । त्योबाहेक अरू केही गर्न किन सकेनौँ हामीले ?
संक्रमणमा राउटे
राउटे समुदायमा पछिल्लो केही दशकमा निकै परिर्वतन आएको छ । राउटेले खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जंगलमै स्वतन्त्र रूपमा बाँचिरहेका राउटेहरूको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । र, गहिरिएपछिका अनन्त असरहरू राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जाति राउटे नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिमका दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । झण्डै ९ सय वर्षपहिला घना जंगलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, शहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ । हाल यो समुदायमा कुल ३६ घरधुरी छन् भने जम्मा राउटेहरूको संख्या १५० छ । बाँदरको सिकार तथा जंगली फलफूल संकलन गर्दै जीवन निर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडाहरू बनाएर स्थानीय मानिसहरूसँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ । कुनै दिन ’पैसा छोए पाप लाग्छ’ भन्ने राउटे अचेल अन्नसँग साँट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । बाँदरको संख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न संघसस्थाहरूको प्रभाव राउटे समुदायमा बढ्नाले राउटेहरू विस्तारै परर्निभर बन्दै गएका छन् ।
(सान्दर्भिकः न्यायका नाममा राउटे युवतीलाई झन् नङ्ग्याउँदै युट्युबर, मुखिया भन्छन्– हाम्रा जनतालाई बिगारे) सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ । आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ताचप्पल लगाउन थालेको छ । झण्डै ९० प्रतिशत राउटेले जुत्ताचप्पल लगाउन थालेका छन् ।
औपचारिक शिक्षा लिएपछि झण्डै ८५ प्रतिशत राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । ’किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा भने विस्तारै परिर्वतन आइरहेको छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ । तर, भ्रमणशीलको पाङ्ग्रा भने रोकिएको छैन ।
अहिलेसम्म मोबाइल फोन कुनै पनि राउटेले प्रयोग गरेका छैनन् । तर, राउटे केटाकेटी तथा युवापुस्ता अरुले प्रयोग गरेको मोबाइल हेर्न भने हुरुक्क हुन्छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरा मोहमा फसेको छ । ‘पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् ।’ (स्रोतः स्थलगत अवलोकन) कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै संकटमा फसेको देखिन्छ । विरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुंगाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, झण्डै ८० प्रतिशत राउटेहरू अचेल साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ ।
४० प्रतिशतभन्दा बढी राउटेहरू काठका भाँडाकुँडा पैसामै साटफेर गर्न रुचाउँछन् भने ५५ प्रतिशत अन्न तथा पैसामा साट्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो । आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटेले अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्न थालेका छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर राउटेलाई चिनिन्थ्यो । तर, अचेल राउटेलाई सबैभन्दा धेरै माग्न आउँछ ।
विरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुंगाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो । झण्डै ८० प्रतिशत राउटेहरू अचेल साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडको प्रयोग गर्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ ।
झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटेहरू अचेल ५० प्रतिशतभन्दा बढीले डाक्टरको विश्वास गर्छन् । केही वर्षअघिसम्म मोटरगाडीदेखि डराउने राउटेहरू अचेल काम विशेष कतै जानुप¥यो भने ९० प्रतिशत राउटेहरू गाडी चढ्न रुचाउँछन् ।
घट्दो व्यापार, बढ्दो परर्निभरता र कुलत
सरकारले सन् २००८ बाट प्रतिराउटे मासिक ५ सय रुपैयाँ दिन थालेको थियो । हाल हरेक राउटेले ४ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने गर्छन् । तर, भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् । राउटेलाई कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । राउटेले खाम्ची भाषा बोल्छन् । केही वर्षपहिले बाह्य समुदायसँग सम्पर्क तथा सञ्चार राउटे मुखियाले मात्रै गर्थे । मुखिया तथा केही पुरुष राउटेहरूले मुस्किलले नेपाली बोल्थे । तर, अहिले झण्डै ९० प्रतिशत राउटेलाई नेपाली भाषा जान्नैपर्ने बुझाइ छ । आजभन्दा करिब १० हजार वर्षपहिले गैरराउटेहरूका पुस्ताले घुमन्ते जीवन शैली त्यागे र कृषि समाजमा विलय भए । तर, राउटेहरू भन्छन्, ’खेती ग¥यार एकै ठाउँमा बस्नु प¥या त हामीलाई म¥याजस्तो लाग्दो छ त ।’ अहिलेको राउटे मुखियाको पुस्ता रहँदासम्म राउटेहरू स्थायी बसोबास गर्ने स्थिति देखिँदैन ।
राउटेको पेसा काठका भाँडाकुँडा बनाएर स्थानीयसँग अन्नसँग साट्नु हो । तर, राउटेको हातमा सजिलै पैसा आएपछि राउटेको मौलिक पेसा हावा फुस्किएको बेलुनझैँ खुम्चिएको छ । राउटेहरू बाँदरका शिकारी हुन् । तर, पैसाले रक्सी र चुरोटमा पहुँच बढायो । कुलतमा लट्ठिएपछि बाँदरको सिकार घटेको छ । राउटेको शरीरलाई चाहिने लगभग ५० प्रतिशत प्रोटिनको स्रोत बाँदरको मासु हो, जुन अहिले राउटेले प्राप्त गर्न सकिरहेका छैनन् । उनीहरू शारीरिक रूपले दिनानु दिन कमजोर र मानसिक रूपले मगन्ते सावित भइरहेका छन् ।
पैसा नछुने राउटे सभ्यता भत्किएको छ । र, राउटे समुदाय दुःख, द्वन्द्व र परर्निभरताको अँध्यारो सुरुङमा धकेलिएको छ । सरकारले मासिक भत्ता दिन थाल्यो । एनजीओ आईएनजीओले दान दिन थाले । समाजसेवीले चक्लेट र चुरोट दिँदै राउटेसँग सेल्फी खिच्न थाले । राउटे समुदाय दुनियाँका लागि क्रीडास्थल बनिरहेको छ । राउटेको गोप्यतामाथि हमला त झन् अहिले युट्युबरले गर्दै छन् । टिकटकेले गर्दै छन् ।
(यो पनिः युट्युबरले गरेको यौनहिंसा र राउटेका कुरा)
राउटेहरूले गैरराउटेलाई सजिलै विश्वास गर्दैनन् । आफ्नो समुदायको आन्तरिक कुरा सजिलै खुलाउँदैनन् पनि । राउटे केटाकेटी, युवा अथवा महिलाहरू एक्लै गैरसमुदायमा जाँदैनन् । जानुप¥यो भने साथमा जान्छन् । गएको २१ जेठमा सुर्खेतको गुर्माकोटमा राउटे युवतीहरूमाथि भएको सामूहिक यौन दुर्व्यवहारको घटना राउटे र गैरराउटे समुदायबीचको कालो दिन हो ।
दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना हुन् । तर, बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ ।
राउटे संरक्षणका विकल्पहरू
राउटे संस्कृति र सभ्यतालाई जोगाई राख्नु हाम्रो कर्म र लक्ष्य हो भन्ने लाग्छ भने निम्न विकल्पहरूमा सरोकारवालाहरूको ध्यान जान जरुरी छः
१. सरकारी तथा गैरसरकारी विभिन्न संस्थाले राउटे समुदायलाई नगद पैसा दिने गर्नाले राउटेले पैसाको सदुपयोग गर्न सकेका छैनन् । बरु राउटेलाई चाहिने, राउटे संस्कृति सुहाउने आवश्यक चीज राउटेलाई दिन सक्यो भने राउटेले नगदको दुरुपयोग गर्ने थिएनन् । पैसा पाउनेबित्तिकै रक्सी पिउने गरेको देखिन्छ । जसले गर्दा राउटेको कार्यक्षमता घटिरहेको छ ।
२. राउटेले निर्माण गर्ने काठका भाँडाकुँडालाई विशेष महत्त्व दिँदै उचित बजार र उत्प्रेरणाको वातावरण सिर्जना गर्नका लागि राज्य र स्थानीय सरकारको ध्यान बेलैमा जानु आवश्यक छ । राउटेको सीप र क्षमताको राज्यले मूल्यांकन गरी उच्च मान्यता दिन जरुरी छ ।
३. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योजना तथा कार्यक्रममा घुमन्ते जातिको अधिकार तथा राउटेको संस्कृतिको संरक्षणका लागि हुनुपर्ने भूमिकाको दायरालाई फराकिलो बनाउँदै एकीकृत गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । परिवर्तनका नाममा आदिवासी सभ्यतालाई मास्ने प्रयास भने भइरहेको छ ।
४. राउटे समुदायका आवश्यकताबारे राज्य स्वयम् नै बेखबर छ । राउटे जातिमाथि गहन अध्ययन तथा अनुसन्धानको जरुरी देखिन्छ । राउटेबारे खासै अध्ययन भएको पाइँदैन ।
५. हामीले चाहेको राउटे बनाउनेमा होइन, राउटेले चाहेको राउटे बन्नका लागि राउटेमाथि काम गर्न खोज्ने विभिन्न संघसंस्थाको ध्यान जान जरुरी छ ।
६. युट्युबर, सेल्फी समाजसेवी र टिकटकेवालाबाट हुन सक्ने यो समुदायबारेको कुप्रचारलाई रोक्न स्थानीय सरकारले प्रवेशमै निषेध गर्न जरुरी छ ।
साभार ः शिला पत्र