अमेरिका जानु तिम्रो बाध्यता कदापि होइन !
प्रेना भुसाल आजपनि चिसो गल्लीको उही निद्राबाट बिउँझाउँदै गोडामुनिबाट कसैले स्पर्श गर्छ। कसैले सुम्सुम्याएको जस्तो, कसैले छोएको जस्तो, कसैले उठ भनेर घचेटे जस्तो ।
एकछिन त लाग्छ, म अर्कैको बिस्तारामा सुतिरहेकी छु। रातभरि निद्रा लाग्दैन। १ बजेसम्म त जागै थिएँ । खोई कतिबेला निदाएछु पत्तै भएन। त्यस्तै आज पनि छोटो निद्राबाट एक्कासी बिउँझिन्छु, जस्तो कि कसैले तर्साएको जस्तो । जुरुक्क उठेर एकैछिन वरिपरि हेरेर टोलाउनु । कहाँ छु म ? को हुन् यी मेरा अगाडि लम्पसार पल्टिरहेका मानिसहरु। मलाई ठम्याउनै १५ मिनेट लाग्छ । म बेहोस छु तर होसमा आउने कोसिस गर्छु ।
यसो गोडातिर हेर्छु, मलाई सुम्सुमाएर सधैँ जगाउने मान्छे सरसफाई गर्ने दिदी पो हुन् त। ए साँच्ची, उनले सधैँ बिहान ५ बजेबाट बढार्ने र पोछा लगाउने काम गर्छिन् अनि ६ बजे तिर खोई कता हराउछिन्, कतै देख्दिनँ ।
विस्तारै फिल्मको उल्टो रिमोट घुमाए झैँ मेरा स्मृतिका ढोकाहरु खुल्छन् र एक–एक गरी सम्झन्छु आज आइतबार एक हप्ता मात्र भएछ म यहाँ आएर बसेको पनि । काठमाडौँमा पुर्ख्यौली घर, बानेश्वरको चहलपहल भित्रको घुमाउरो गल्लीमा रहेको लामिछाने निवास कुनै महलभन्दा कम छैन । घरभन्दा पनि दरबारको आकृति हो भनी उल्लेख गर्दा फरक पर्दैन ।
दुई छोरा र आमा–बाबुको एकल परिवार झट्ट हेर्दा खान्दानी देखिन्छ। श्रीमान् नेपाल सरकारको उपल्लो ओहोदाको कर्मचारी, जागिरको सिलसिलामा बाहिर बसेपनि श्रीमतीले सानोतिनो व्यवसाय गरी छोराहरुलाई स्कुल पठाउने काम गर्छिन्।
समयको बढ्दो रफ्तारसँगै छोराहरु पनि बढ्दै जान्छन्। जेठो छोराको पढाइ सानैदेखि अब्बल हुन्छ। सधैँ उत्कृष्ट हुने जेठो छोराले विज्ञान विषयबाट स्नातक गर्छ र विस्तारै उसलाई अमेरिकाको मोह लाग्न सुरु गर्छ।
काठमाडौँमा लोकल मानिसहरुको रहनसहन अनि देखावटी भनौँ वा चलिआएको पक्रिया हो, अलि उच्च स्तरको परिवारका छोराछोरी विदेश नगएको घर कमै भेटिन्छ। देखावटीपन र चिप्लो विलासिताको आकर्षण हुनुपर्छ क्यारे। यो चलनबाट यो परिवार पनि अछुतो रहेन।
जेठो छोरा लाखौ लगानी लगाइ अमेरिका डाक्टर पढ्न गए। यता कान्छो छोरा भर्खर ११ कक्षामा पढ्दैछ। दिनहुँ जसो उसको पनि १२ कक्षा सकेर दादासँगै अमेरिका पढ्न जाने डिमान्ड कुनै काम लगाउँदा होस् या पढ्न पठाउँदा नै किन नहोस्, प्रायः दैनिकजसो आउने गर्छ।
विडम्बनाको कुरा यो छ कि पूरा गर्न सक्ने या नसक्ने भन्दापनि पूरा गर्दिने कि नगर्दिने भनि बुवा–आमा दोधारमा हुन्छन्।
तीन–बीस पुग्न थालेका बुवा–आमाको छोराहरुको विवाह गर्दिने, बुहारी भित्राउने अनि नातिनातिनी खेलाएर बस्ने रहर त टाढैको कुरा हो। जब छोराछोरीको आवश्यकता बढ्न थाल्छ तब छोराछोरी विदेशको लालचमा लागेर टाढिनुपर्ने।
कान्छो छोराको पनि १२ कक्षाको पढाइ सकिन्छ। उता अमेरिकाबाट जेठो छोराले भाइलाई पठाइहाल्नु, नयाँ सेमेस्टर खुलेको छ भर्ना गर्नुपर्छ भन्दै दैनिक फोन गर्ने गर्छ।
यता श्रीमानको जागिर सकियो। ३०÷३५ वर्ष जागिर गरेका उनी आधा उमेर जागिरमै समर्पित गरी अब त घरमा परिवारसँगै बसि सुखको सास फेर्ने दिन आयो भन्ने बेलामा छोराहरुबाट अलग हुनुपर्दाको पीडा छँदै छ । यतिका वर्ष दुःख गरेर कमाएको सम्पत्ति छोराहरुकै लागि त हो। उनीहरुको इच्छा पूरा गर्दिनु पर्छ, पछि त पढिसकेपछि घर फर्किहाल्छन् नि भन्दै दैनिक जसो श्रीमतीले उल्टै श्रीमानलाई सान्त्वना दिन्छिन् र सम्झाउछिन्।
जेठा छोरालाई अमेरिका पठाउँदा लाग्ने खर्च र कान्छो छोरालाई पठाउँदा लाग्ने खर्चमा केही भिन्नता थिएन। दुःख पनि त्यस्तै, कहिले बैँक धाउनु पर्ने, कहिले मालपोत त कहिले नगरपालिका।
एक महिना त एकजनाको ड्युटी नै त्यसैमा जान्छ। धाउँदा धाउँदा सबै प्रकृया पूरा हुन्छ र कान्छो छोरो पनि अमेरिका जान्छ । यता पाँच तले घरमा बुढाबुढी मात्र हुन्छन्। उनीहरु घरमा भए नभएको कुरा कुकुर भुकेको आवाजबाट मात्र ठम्याउन सकिन्छ। कस्तो अचम्मको हुँदो रहेछ सहरिया बसाइ, न कसैको सहयोग चाहिने न कसैको घर आवत जावत गर्ने ।
हाम्रो गाउँघरतिर एकदिन पाहुना नआएको र कसैको घर नगई घरमै बसेको दिन हुँदैन। गाउँघरमा जस्तो जम्मा भएर चिया गफ गर्नको लागि सहरमा कफी सप मै जानुपर्छ।
कोभिडको दोस्रो भेरियन्ट्सको महामारीले फेरि लकडाउन भएपछि भाडावालाहरु कसैको काम बन्द भएर घर गए त कसैको कलेज बन्द भएर गए। सबैतिर सुनसान थियो।
तेस्रो तलामा म मात्र थिए। म बसेकोभन्दा माथि बाँकी दुई तलामा घरबेटी बस्थे। दिन प्रतिदिन फेसबुकमा कोरोनाबाट मृत्यु हुनेका फोटाहरु आउने क्रम घटेको थिएन।
सधैँ झैँ एकदिन खाना खाएर सुत्न लागेकी थिएँ। मोबाइलको घन्टी बज्यो। रातको समय ९ः३० भएको थियो। घरबेटी आन्टीको नम्बरबाट फोन आएको रहेछ। कहिलेकाहीँ यही समयमा ’खाना खायौ? ठिक छ नि, म तल नआएको पनि धेरै भयो’ भन्दै फोन गर्थिन्।
यो समयमा उनको फोन आउँदा कुनै आश्चर्य लागेन। फोन उठाएँ। उनले आत्तिएको स्वरमा माथि आउन भन्दै फोन राखिन्। के भएछ भन्दै माथि गएँ। उनको कोठामा योभन्दा अगाडि कहिले गएकी थिइनँ।
ठूलो हल रहेछ। चारैतिरबाट पर्दा लगाइएको। भित्तापट्टि दुई वटा बेड। यतिभन्दा अरु हेर्न भ्याइनँ। कोठाको भुइँको गलैचा माथि लम्पासार पल्टिरहेका घरबेटी अंकल अनि छेउमा बसेर सुमसुम्याउँदै रुँदै गरेकी आन्टी।
यो सबै देखेर एकछिन त मेरो होस उड्यो। के भयो भन्न मन थियो तर भन्न सकिनँ। नजिकै राखेको पानीको जगबाट रुमाल निकाल्दै श्रीमानको निधारमा पानीपट्टी गर्दै गरेकी आन्टी म गएको देखेर पुर्लुक्क मेरो मुखमा हेर्दै हत्तपत्त दराजबाट मास्क निकाली लगाउन भन्दै पुनः श्रीमानलाई पानीपट्टी गर्न सुरु गरिन्।
उनले गरेको क्रियाकलाप देखेर पक्कै कोरोना लागेको रहेछ भन्ने यकिन भयो।
नजिकै छटपटाइरहेका एक बृद्ध मान्छे जुन मृत्युसँग लडिरहेका थिए। उमेरले ६० पुगे होलान्, तर घरमा सहारा दिने कोही थिएन। कति दिनदेखि बिरामी छन् उनी, त्यो पनि बेखबर थिए।
घरबेटीसँग यसै त भाडावालाको सम्बन्ध नजिकको हुँदैन। यतिकैमा आन्टीले अस्पताल जानुपर्ने भयो भन्दै झोलामा कपडा हाल्न भन्दै मलाई भनिन्। उनले भने बमोजिम सबै राखिदिएँ। तल बाटोमा गाडीको हर्न बज्यो। गाडी बोलाएका रहेछन् क्यारे। हामी ती बिरामी बृद्धलाई हातमा डोहोर्याउँदै तल झर्यौं। कसैको कार आएको रहेछ। कार चालक गाडीबाट झरी बुवालाई एकदमै च्याप्यो कि क्या हो भन्दै हातमा समाउँदै गाडी भित्र राख्न मद्धत गरे। सिटको तल एउटा अक्सिजन सिलिन्डर समेत थियो।
कारवाला कोही आफन्त होला भन्ने लाग्यो। गाडीमा चढेर हामी टिचिङ अस्पताल तिर लाग्यौं। गाडीमा बस्दै गर्दा झल्यास्स सम्झिएँ, केही दिन अघिमात्र जेठो छोराले अमेरिकामा राम्रो काम गरेर पुरस्कृत भई अमेरिकामा छोराको चर्चा धेरै चलेको र एनआरएनको उपाध्यक्ष समेत भएको कुरा सुनाउँदै थिइन्।
उता नाम चलेको लोकप्रिय डाक्टर छोरा, यता बा आमाको अवस्था देख्दा त्यो चर्चा, परिचर्चा र लोकप्रियता खोक्रो आकृति जस्तो लाग्यो।
केही समयपछि अस्पताल पुग्यौं। चारैतिर बेडमा लडिरहेका बिरामीहरु कसैले कसैको मतलब राखेका थिएनन्। सबै आ–आफ्नै पीडासँग जुधिरहेका थिए। ती बृद्धलाई पनि गल्लीमै भएपनि बेड मिल्यो र अक्सिजन लगाएर भर्ना गर्यौं।
कारवाला हामीलाई अस्पतालमै छोडी घर फर्किए। म र घरबेटी आन्टी वरिपरिबाट बिरामीलाई हेर्दै बस्यौं। तेस्रो दिन थियो होला हस्पिटल बसाइको, उनका श्रीमानलाई सन्चो हुने कुनै छाँटकाट थिएन।
अक्सिजन सकियो भन्दै कहिले कता, कहिले कता भौतारिएका थियौं। बिरामी कुरुवा एकजनाभन्दा बढी बस्न नदिएता पनि डक्टरसँग हातजोडेर म पनि सँगै बसेँ। सुत्ने ठाउँ कतै थिएन।
दिउँसो दुवै जनालाई अस्पतालमा छोडी कोठामा जान्छु। खाना बनाएर टिफिनमा खाना राखि बेलुका अस्पतालमा लिएर जान्छु। मलाई कोरोना सर्छ भन्ने डर पनि छैन। ती बृद्ध मान्छेलाई छिटै निको होस् भन्ने कामना गर्छु।
अस्पतालको बसाइ एकहप्ता भएको थियो। त्यो रात घरबेटी आन्टी भने छिटै निदाइन्। मलाई निद्रा लागेको थिएन। निद्रा लागोस् पनि कसरी? सबैतिरको आतंकित माहोल। को कतिबेला मर्छ र उसका आफन्तको चिच्याहट सुन्नु पर्ने हो भन्दै मन डरले फुलिरहन्छ।
मनमा अनेक कुराहरु खेलिरहेका थिए। मान्छे बाहिरबाट जति नै सम्पन्नशाली देखिएपनि भित्र भित्र उनीहरुका पीडा कुनै गरिबका भन्दा कम हुँदा रहेनछन्। गरिब परिवारमा त बरु दुःख साटासाट गर्ने परिवार सँगै त हुन्छन् तर यो हुनेखाने परिवारको दया लाग्छ देखेर।
यस्तै यस्तै सोच्दै गर्दा मलाई घरबेटी आन्टीले एकदिन भनेका कुराहरु सम्झिन्छु। धेरै पहिले एकदिन म छतमा गएको बेला आइफोन निकाल्दै यो मेरो जेठो छोरा हो, डाक्टर पढेर सिध्यायो। टोपी लगाइदिन जान पाएनौं अंकल बिरामी भएर। अहिले अस्पतालमा जागिर गर्छ, पुरस्कार पनि पायो रे भन्दै सेतो कोट लगाएको फोटो देखाएकी थिइन्।
कहिले छोराको जन्मदिनको पार्टीको फोटो देखाउँथिन्, कहिले समुन्द्रको छालमा खेलेको भिडिओ देखाउँदै भन्थिन्, जेठो छोरा विदेश गएको ७ वर्ष भयो अहिलेसम्म एक पटक आएको छैन। आउँछु मात्र भनेर आश देखाउँछ।
घर आएर बिहे गर्नुपर्छ भन्दा मैले बिहे गर्ने सोचेको छैन भन्छ। ’नेपालमै आएर सेवा गर तिमी डाक्टर भइसक्यौ। कान्छोलाई लगानी लगाइदिएपछि व्यवसाय गर्छ भन्दा नेपालको कानुन राम्रो छैन त्यति बुझेको पनि छैन।
नेपालमा रोजगार पाइँदैन, पाए पनि पारिश्रमिक कम हुन्छ। अब मलाई अमेरिकाको बानी परिसक्यो। नेपाल आएर काम गर्न गार्हो हुन्छ ममी। यहाँ त घरबाट बाहिर निस्क्यो कि कतै धुलो हिलो कुच्नु पर्दैन। कुरै नगरम् त्यहाँको।
नेपालको तुलनामा अमेरिका धर्ती आकाशको फरक छ, हरेक कुरा राम्रो छ यहाँ। तपाईहरु पनि यतै आएर बस्दा हुन्छ ममी’ भन्दै जेठो छोरालाई घर बनाइदिन भनि राखेको घडेरीमा लगाएको साग टिप्दै गर्दा सुनाएकी थिइन्।
मैले पनि उनका कुरामा होमा हो मिलाउँदै सबै सुनिदिन्थेँ अनि हेरिदिन्थेँ। सुनाउन् पनि अरु कसलाई सुनाउन्? म बसेको करिब तीन वर्ष यता त्यो घरमा पाहुना आएको देखिनँ। न त छोराहरु नै आए न त एकदिन एउटा पाहुना समेत आएको देखे। आज मलाई उनको बाबुको अवस्था देखेर अमेरिकी नेपाली डक्टरलाई केही जवाफ दिन मन लागेको छ। सम्माननीय अमेरिकी नेपाली डाक्टर, तिमीलाई मैले सम्मान गर्नुको कारण पनि छिट्टै बुझ्छौ होला किनकि तिमी मल्टी–ट्यालेन्ट छौ भन्ने सुनेकी छु।
तिमीले दैनिकजसो फोन गर्दै बुवाको स्वास्थ्य अबस्था बुझ्छौ। तिम्री आमाले तिम्रो खुसीको लागि तिम्रा बाबु अचेत अवस्थामा पल्टिरहेका हुँदा पनि बाबुको अवस्था ठिक भएको भनी सुनाउँदा मलाई अचम्म लाग्छ।
तिमी कसरी विश्वास गरेर बस्न सक्छौ त्यहाँ। विचरी यी आमाले मुटु माथि पत्थर राखी तिम्रा बाबुको सेवा गरिरहेकी छन्। बाबुआमाको सेवा गर्नु तिम्रो पनि दायित्व हो जस्तो लाग्छ मलाई ।
तिमीले दैनिकजसो फेसबुकमा पोष्ट गर्ने नेपाल र नेपालीको राष्ट्र सम्मानका २÷४ बात कोर्दैमा राष्ट्रियता भएको मान्दिनँ म। यतिले मात्र नेपालको माया गरेको भन्ने सोच्छौ भने त्यो तिम्रो भ्रम हो ।
होला, तिमीले दुःख पाएका नेपाली नागरिकका लागि हजारौँ रुपैयाँ दान गरेका छौ रे। तिमीले दान गरेको रकमले कतिको ज्यान त बचायौ होला तर यहाँ मृत्युसँग लडिरहेका तिम्रा बुवाको लागि अहिले रकमको भन्दा पनि तिम्रो साथको जरुरी छ।
रकम र सम्बन्धमा धेरै फरक छ। पैसा, चर्चा, र लोकप्रियताले सम्बन्ध किन्न सकिँदैन। तिमीले एक पटक मात्र पाएका छौ यी बुवा आमा। गुमायौ भने कहिल्यै पाउने छैनौ। तिमी रकम दान गरेर आफूलाई आत्मसम्मान पाएको भन्ठान्छौ होला तर त्यतिले तिम्रो आत्मसन्तुष्टी हुनु हुँदैन।
होलान् तिम्रा सपनाहरु, करियरका पोकाहरु। तिमीलाई ठूलो मान्छे बन्ने रहरहरु। यी सबै पाउनु भन्दा पहिले गुमाएका अतीतलाई एक पटक पल्टाएर हेर। तिम्रा बाबु–आमाका विवाह गर्दादेखि आजसम्मका दुःख कष्टहरु हेर, उनीहरुका सपना र रहरहरु हेर ।
जुन तिमी सहजै पूरा गर्न सक्थ्यौ तर तिमी पूरा गर्न चाहँदैनौ। अनिश्चयको विराट आशाको मिति नेपाल आउने र तिम्रो विवाह गर्ने रहर विलीन छ उनको मनमा। आजपनि तिम्रा लागि सपना बुन्ने आमाका आशा सेलाएका छैनन्।
तिमी सोच्छौ होला अमेरिका आउनु मेरो बाध्यता हो। तर तिम्रो त्यो बाध्यता नभई रहर मात्र हो। विदेश जानु बाध्यता हो भन्छौ भने कतारको खाडी मुलुकमा गएर पसिना बगाउने २२ वर्षे युवालाई सोध ’उसका बाध्यता कति छन्?’ भनेर।
तिमी र उसमा फरक यति छ कि उसले नेपालमा आएर पसिना बगाउन चाहन्छ, तिमी बाबु आमालाई अमेरिकामा लगेर धुलो हिलोबाट बचाउन चाहन्छौ। किनकि तिमीलाई विदेश मोह दिन प्रतिदिन बढ्दो छ।
तिमी नेपाल आएर रोजगार पाउछौ किनकि तिमी सम्पन्नशाली परिवारको सदस्य। त्यसमाथि अमेरिकाको सेवा गरेका डाक्टर हौ। त्यो कतारको नेपाली युवा नेपाल आए पनि गिट्टी बालुवाको काम गर्ने हो।
पायो भने मात्र, पाएन भने फेरि खाडी नै जाने हो। नेपालको कानुन राम्रो छैन, नेपालमा सेवा सुबिधा राम्रो छैन जुन तिमीले बारम्बार उल्लेख गर्छौ रे। हो, नेपालको कानुन राम्रो छैन किनकि तिमी जस्ता होनहार पढेलेखेका युवालाई दिनहुँ विदेशको मोह बढिरहेको छ।
ज्ञान, विवेक र स्वतन्त्रताको प्रयोग नेपालमा पनि गर्न सक्छौ तिमी। परिवर्तन तिमीबाटै सुरु गर्ने हो भने नेपाललाई नेपाल जस्तो बनाउन सकिन्छ, अमेरिकासँग तुलना गर्नु पर्दैन ।
सभार ःसेतो पाटी बाट