पर्यटकीय संभावना भएको ठाउँ– केआई सिंहको गाउँ
हेमन्त विवश
पुराणअनुसार मानसखण्डका रूपमा परिचत सुदूरपश्चिम धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ। पुरातात्विक हिसाबले समेत महत्वपूर्ण ठानिएको गाउँपालिका हो– डोटीको के.आई.सिंह गाउँपालिका।
दिपायलदेखि दायाँबायाँ दुईतिरबाट सडकले जोडेको छ– के.आई.सिंह गाउँपालिको कार्यालय क्षेत्र। एउटा बाटो राजपुर भएर जान्छ भने अर्को बाटो सेती किनार भएर जान्छ।
राजपुर भएर जाँदा २१ किमी यात्रा गरिसकेपछि पुगिन्छ– वायल क्षेत्र। यो के.आई. सिंह. गाउँपालिका कार्यालय रहेको ठाउँ हो। यो छोटो र सजिलो बाटो हो।
अद्भूत साहस भएका, आफैँमा एउटा इतिहास ठानिएका उनै प्रजातन्त्रका सेनानी वीरयोद्धा पूर्व प्रधानमन्त्री डा. के आई सिंहको नामबाट राखिएको छ– गाउँपालिकाको नाम।
दिपायलबाट सेतीकिनार हुँदै पुगिने अर्को बाटो पूरै कच्ची, थोरै अप्ठेरो र लामो पनि छ। तर त्यो बाटो हिँड्दा गाउँपालिका परिक्रमा गरेजस्तो सबै वडाहरु घुम्दै राजपुर भएर दिपायल फर्किन सकिन्छ।
२००८ सालमा हजारौँको संख्यामा सिंहदरबारमा रहेका सैनिकलाई कब्जामा लिई आफूलाई नेपालको शासक घोषित गर्ने अद्भूत साहस भएका, आफैँमा एउटा इतिहास ठानिएका उनै प्रजातन्त्रका सेनानी वीरयोद्धा पूर्व प्रधानमन्त्री डा. के आई सिंहको नामबाट राखिएको छ– गाउँपालिकाको नाम। जहाँ पर्यटकीय हिसाबले महत्व र सम्भावना बोकेका थुप्रै रमणीय र ऐतिहासिक ठाउँहरु छन्। अध्ययन अनुसन्धानका लागि सांस्कृतिक, अध्यात्मिक र पुरातात्विक महत्व बोकेका थुप्रै गाउँबस्ती नदीकिनार आदि छन्।
नारीदाङ
डुम्राकोटको चैतमा उल्लेख भएअनुसार डुम्राकोटी र गोर्खाली सेनाबीच अन्तिम लडाइँ भएको यो ठाउँ यसै गाउँपालिका अन्तर्गत पर्दछ। इतिहास झल्काउने त्यो रण मौदान देख्न सकिन्छ त्यहाँ।
गाउँपालिकाको वडा नं २ मा पर्ने त्यही फाँटमा वि.सं.१८४६ मा गोर्खाली फौज र डोटेली सेनाबीच घमासान युद्ध भएको थियो। सेतीको त्यो किनार डुम्राकोटीहरुको शमसानघाट पनि हो।
युद्धमा हौसला प्रदान गर्न मधुवा आउजीले नरसिंहा बजाएका र शत्रुको तलबारको प्रहारले दुइटै खुट्टा छुट्टिदा समेत काटिएका खुट्टा बालुवामा घुसारेर साहस नगुमाई अन्तिम अवस्थासम्म भवानी शाहीले युद्ध लडेको वर्णन यसरी गरिएको पाइन्छ डुम्राकोटको चैतमा।
मुदुवा आउजीले नरसिंहा फुक्यो
रुपा शाहीका गाथ बेत काडो फुल्यो
सेती गङ्गावरिपरि फुलिगया पाती
घुडाधसी लड्दै छन् हो अर्जुन शाहीका नाति।
लेकगडा
स्वच्छ हावापानी गाउँले जनजीवन प्राकृतिक सुन्दरता सबै कुराले लोभ लाग्दो छ लेकगडा बजार। त्यो ठाउँ व्यापारिक नाका पनि हो। त्यतैबाट गएको छ बोगटान जाने सडक।
खान बस्न राम्रो व्यवस्था छ त्यहाँ। त्यहाँको मलासी होटलमा तीस जना पाहुनालाई सुत्न मिल्ने कोठाहरु छन्। अतिथि सत्कार गर्न पछि पर्दैनन् त्यहाँका मान्छेहरु।
दुई साइडमा पंक्तिवद्ध देखिने घरहरु, उकालोमा रहेको बजार, बजारको बीचमा पीच गरिएको चौडा बाटो, वरिपरि सुन्दर डाँडाकाँडाको दृश्यले रमाउँछ मन।
डुम्राकोट
एउटा इतिहास बोकेको एकान्तको ठाउँ डुम्राकोट पुग्नु अघि (सेती किनारको बाटो जाँदा) बाटैमा देखापर्छन् मौडा, घाँट लाउने ठाउँ, लोली गाउँजस्ता सुन्दर मनमोहक ठाउँहरु। घाँटलाउने ठाउँमा मोहन्याल बाबाको निकै पुरानो मन्दिर छ।
मोहन्याललाई शक्तिशाली देवताका रुपमा लिन्छन् त्यहाँका मान्छेहरु, जुन मन्दिरमा के आई सिह २०१२ लेखिएको घाँट (घन्ट) झुण्डिएको छ। यसबाट सजिलै भन्न सकिन्छ २०१२ सालमा के.आई.सिंहले चढाएको घण्टा भनेर।
त्यो समयमा के.आई.सिंहले त्यो क्षेत्रका अधिकांश मन्दिरमा एउटै खाले घण्ट चढाएको देखिन्छ। डुम्राकोट डोटी राजाको पुरानो कोट हो। जुन ठाउँ यतिखेर सुस्ताएको छ। उजाड अदाशलाग्दो देखिन्छ। तीन चार वटा घर मात्र छन् त्यहाँ। प्रायजसो भत्केका घरहरुका अवशेष मात्रै छन्।
त्यहाँका ठकुरीहरु बसाइँ सरेर पुगिसके कोही काठमाडौं त कोही कैलालीतिर। संरक्षणको पर्खाइमा बसेको त्यो ठाउँमा के.आई. सिंहले बाल्यकाल विताएको घर छदैछ।
हाल यो ठाउँमा गाउँपालिका र संघीय सरकारको साझेदारीमा कोटमा के.आई.सिंह सङ्ग्रहालयको निर्माण भइरहेको छ।
डोटी राज्यको राजधानी दिपायल कोटबाट छुट्टीएर डुम्राकोट जादा अर्जुन शाहीले साथमा लिएको तैनाथीको स्याम्बोलको रुपमा रोपिएको जमुनाको रुख र फेदमा उनै अर्जुन शाहीले ल्याएको शीला छँदैछ।
चौतारोमा रहेको ठूलो गोल ढुङ्गा देखिन्छ। जसलाई गादी भनिन्थ्यो। उक्त चौतारीलाई तेपारी भनिन्थ्यो। तेपारीको अर्थ मुद्दा मामिलाहरु मिलाउने ठाउँ भन्ने हुन्छ। उत्खनन् गर्ने हो भने यहाँ त्यति बेलाका धेरै कुराहरु भेटिनसक्छन्।
हाल यो ठाउँमा गाउँपालिका र संघीय सरकारको साझेदारीमा कोटमा के.आई.सिंह सङ्ग्रहालयको निर्माण भइरहेको छ। आन्तरिक र वाह्य पर्यटकलाई भित्र्याउने सोचले एउटा नमूना संग्रहालय बनाउन थालेको कुरा बताउँछन्– गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही।
आगामी वर्ष भित्रमा गाउँपालिकादेखि काठमाडौंसम्म डाइरेक्ट बस संचालन गर्ने योजनासमेत रहेको कुरा बताउछन् गाउँपालिका अध्यक्ष शाही।
गणेश काँडा
गणेश काँडा विशुद्ध मगर समूदायको बस्ती भएको गाउँ हो। के.आई. सिंह गाउँपालिकाभित्र गणेश काँडा र पिलेगडा गरी दुईवटा मगरहरुको बसोबास भएका गाउँ छन्।
समुद्री सतहदेखि बाइस सय मिटर उचाइमा रहेको गणेशकाँडा आन्तरिक र वाह्य पर्यटकका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो। सुदूरपश्चिमका पहाडी जिल्लामै पहिलो होमस्टे पनि हो गणेशकाँडा।
गाउँपालिकाबाट ११ किमि दूरीमा रहेको यो गाउँलाई सडकले जोडिसकेको छ। मोटरसाइकल लिएर बेलाबखत गइरहेका हुन्छन् आन्तरिक पर्यटकहरु। गाउँमा अल्लोको कपडा बनाउने गर्छन् यहाँका महिला। जुन कोट सिलाउन प्रयोगमा ल्याइन्छ।
अर्गानिक खानेकुरादेखि चारैतिर देखिने हिमाल, डाँडाकाँडाको सुन्दर दृश्य हेर्नका साथै मगर समुदायको संस्कृतिको अध्ययन गर्न पाइन्छ। बैशाख जेठ, भाद्र, आश्विनतिर चारैतिरको दृश्य राम्रो देखिन्छ। हिउँदमा हिउँ खेल्न त्यतिकै रमाइलो हुन्छ।
डाँडाको टुप्पोमा टल्किरहेको आकर्षक पलारे मष्टोको मन्दिरदेखि छत्रेश्वरको पिकनिक स्पोट उस्तै मनमोहक छन्।
पर्यटकीय संभावना बोकेका थुप्रै सम्पदाहरु छन्– के.आई.सिंह गाउँपालिकामा। ती सम्पदाहरुको पहिचान गरी संरक्षण र प्रवर्धका लागि गुरु योजना तयार पारेर अघि बढिरहेको छ गाउँपालिका।
गाउँपालिकाको वडा नं ५, रानागाउँमा खडायत मष्ठोको मन्दिर छ। त्यस्तै ब्वाराको जात्रामा मान्छेको सहयोग बिना बाजाको तालमा अफै गाँज नाच्नुलाई एउटा रहस्यकै रुपमा लिइन्छ।
वडा नं ६ र ७ अन्तर्गत पर्ने सलेना गाउँ तरकारी खेतीका लागि पाकेट क्षेत्र नै मानिन्छ। २००७ सालमै शिक्षाको सुरुवात भएको ठाउँ छत्रेश्वरमा सीताराम बाबाले शिक्षा दिने सानो घरको अवशेष छदै छ। डाँडाको टुप्पोमा टल्किरहेको आकर्षक पलारे मष्टोको मन्दिरदेखि छत्रेश्वरको पिकनिक स्पोट उस्तै मनमोहक छन्।
त्यसैगरी वडा नं ३ मा पर्ने देउकाँणाको जात्रा मठमन्दिर र झरनाले दिने आनन्द र आकर्षण छुट्टै छ। १२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको के.आई. सिंह गाउँपालिका ऐतिहासिक, सांस्कृतिक, अध्यात्मिक र पुरातात्विक हिसावले गहन ढंगको अध्ययन र अनुसन्धानको पर्खाइमा बसेको गाउँपालिका हो।
कसरी पुग्ने ?
काठमाडौंदेखि धनगढीसम्मको दूरी ६८० कि.मी। बसको यात्रा गर्दा १६ घन्टा र हवाइ यात्रा गर्दा एक घण्टा १५ मिनेटमा पुगिन्छ। धनगढीदेखि दिपायलको दूरी १८५ कि.मि., बसमा ६ घन्टा।
दिपायलदेखि गाउँपालिका कार्यालय रहेको क्षेत्र वायलसम्मको दूरी २० कि.मि.। १० कि.मि. कालोपत्रे १० कि.मि. कच्ची बाटो। जीपमा १ घन्टा ३० मिनेट।
के आइ सिंह संग्राहलयको बन्दै गरेको भवन
गादीको ढुंगा
साभार ः बिएल मिडीया