कविता: माछो कसोरी भिज्यो
कविता: माछो कसोरी भिज्यो
पृथ्वीदेखि ग्रहादि केन्द्रित भयो, विज्ञान अन्वेषण।
ती जम्मै ग्रहमा बसाइ सरने, सुन्दै छु उद्घोषण।।
सारा विश्व विकाशका पथ महाँ, सोपान चढ्दै हिँड्यो।
हाम्रो देश सदैव अल्झिन पुग्यो, माछो कसोरी भिज्यो।।
भन्छन् गर्नु नयाँ नयाँ प्रविधिले, कक्षा महाँ शिक्षण।
मात्रै कागजमा सुहाउन पुगे, सिद्धान्त वा दर्शन।
आकांक्षा रुचि चाहना सब लुट्यो गाली र लठ्ठी भिड्यो।
यो विद्यालयले रटाउछ सधैं, माछो कसोरी भिज्यो।।
गर्छन् डाक्टर अस्पताल थलमा, प्राणै प्रत्यारोपण।
मान्छे हेर्न चुक्यो यहाँ अनि लुक्यो, विज्ञानको दर्पण।।
खुट्टा ठेस र टाउको पनि दुख्यो वा हात कांढो विझ्यो
धामी झाँक्रि कमाइ सोधन पुगे, माछो कसोरी भिज्यो।
हुन्छन् राज विराज आज जनमा,आदर्श खोक्राहरू।
फल्दैनन् तर बुझ्नु आगन महाँ, रोपेर बोक्राहरू।।
झाण्डा झुण्ड, उदण्ड, खण्ड दलका, बेअर्थ नारा भिँड्यो।
बुझ्नेले अझ सोध्नु व्यर्थ छ बुझ्यौ, माछो कसोरी भिज्यो ।
छन्दः शार्दूलविक्रीडित
तीर्थराज भट्ट, डोटी जोरायल
हाल : धनगढी