बझाङमा सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण : वडा सचिव र प्राविधिकविरुद्ध मुद्दा दर्ता

news
news
July 18, 4:55

बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम चोरी भएको प्रकरणमा वडासचिव र प्राविधिक सहायविरुद्ध मुद्दा दर्ता गरिएको छ । लाभग्राहीलाई वितरण गर्न लगिएको सामाजिक सुरक्षा भत्ता बापतको ३९ लाख रकम वडा सचिव ‌ओपिन्द्र  महतोको कोठाबाट बुधबार राति चोरी भएको थियो ।

घटना रहस्यमय भएको भन्दै वडा सचिव महतो र सोही वडामा कार्यरत प्राविधिक सहायक खड्कबहादुर सिंहलाई आपराधिक विश्वासघात गर्न नहुने मुद्धा दर्ता गरी छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीले बताए ।

चौधरीका अनुसार वडा नं ११ का वडाध्यक्ष रामबहादुर बोहराले विश्वासघात गरेर आर्थिक तथा आपराधिक लाभ लिन खोजेको भन्दै सचिव महतो र प्राविधिक सहायक सिंहको नाममा उजुरी दर्ता गराएका हुन् । वडा सचिव महतोले अहिले बुंगल–९ र ११ को प्रसासनिक जिम्मेवारी सम्हाल्दै आएका थिए ।

वडाध्यक्ष बोहराले महतोले सामाजिक सुरक्षा भत्ता बापतको रकम ल्याएको र लाभग्राहीलाई वितरण हुन लागेको बारे आफूलाई जानकारी नभएको बताए । यस विषयमा आफूलाई कुनै जानकारी नभएको बोहराले बताए । 'त्यत्रो पैसा ल्याएपछि कम्तिमा पनि हामी जनप्रतिनिधिलाई सामाजिक सुरक्षा भत्ताको रकम ल्याएको छु अब वितरण गर्नुपर्छ कहिले गर्ने कसरी गर्ने भनेर जानकारी दिनु पर्ने हो,' उनले भने, 'तर सचिवले यस बारेमा हामीलाई कुनै जानकारी दिएनन् ।'

एक्कासी रकम चोरी भयो भनेपछि आफूहरूले सामाजिक सुरक्षा भत्ताको रकम बुझेर ल्याएको रहेछ भन्ने थाहा भएको उनको भनाइ छ ।

घटनाको प्रकृति हेर्दा चोरी भएको भनिएको ठाँउमा शंकास्पद गतिविधि केही नभएकाले घटना रहस्यमय भएको स्थानीय बताउछन् ।

११ नम्बर वडाका वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका महतो मंगलबार मात्र सदरमुकाम चैनपुरबाट रकम बुझेर वितरण गर्न वडा कार्यालय पुगेका थिए । बुधबार सचिव महतोले सामाजिक सुरक्षा भत्ताको २९ लाख लाख ३१ हजार रकम बुधबार वितरण गरि सकेका थिए ।

सचिव महतोले आफू बस्ने कोठाभन्दा पर रहेको वडा कार्यालयमा इन्टरनेट चलाउन गएको बेला पैसा चोरी भएको बताएका छन् । तर, चोरी भएको भनिएको कोठा तथा पैसा राखिएको दराजमा कुनै तोडफोड नभएको प्रहरीले जनाएको छ । वडासचिव ओपिन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई आपराधिक विश्वासघात गर्न नहुने अन्तर्गत मुद्दा दर्ता गरेर पाँच दिने म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा