माधवलाई धोका दिएका भीम रावल सूपमा नजिककै विश्वास पात्रको साथ गुमाउँदै, यी नेताले छोडे उनलाई 

Bhim Rawol Final
Bhim Rawol Final
August 20, 10:13

धनगढी - 

नेकपा (एमाले) को विवाद मिलाउन गत २ जेठमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरू सम्मिलित कार्यदल बन्यो । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल थिए भने नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।

कार्यदलले एमालेभित्रको विवाद मिलाएर २ जेठ ०७५ मा फर्काउने खाका तयार पार्ने जिम्मेवारी पाएको थियो । कार्यदल गठन हुनुअघि त्यही दिन नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले भेट गरेका थिए । एउटै पार्टीका रुपमा त्यही भेट नै ओली र नेपालको अन्तिम बनेको छ ।

कार्यदलले १० बुँदे खाका पनि तयार पार्‍यो । तर, त्यसलाई नेपालले स्वीकार गरिदिएनन् । वरिष्ठ नेता नेपालले २ भदौमा नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएका छन् । तर, २ जेठमा उनका तर्फबाट कार्यदलमा सम्मिलित ५ मध्ये एक जनाले पनि साथ दिएनन् । भनिरहनै परेन, ओली र नेपालबीच एकअर्कामा शत्रुतापूर्ण सम्बन्ध छ । ‘दुश्मन’ सँग वार्ता गर्न गएको टोली उसैसँग सामेल भइदिएको यो घटना राजनीतिक रुपमा दुर्लभ र अपवादपूर्ण बनेको छ । विश्लेषक हरि रोकाका अनुसार माधव नेपालका तर्फबाट वार्ता गर्न जाने अनि ओलीकै मान्छे भइदिनेहरूको चरित्रले राजनीतिमा नैतिकता हुन्छ कि हुन्न भन्ने प्रश्न खडा भएको छ । 

त्यस मध्येका एक हुन डा. भीम रावल । विगतमा भीम रावलको पक्षमा रहेका सुदूर पश्चिम प्रदेश सभाका अधिकांश सदस्यहरूले पार्टी विभाजनसँगै उनको साथ छोडेका छन् । रावलको साथ छोड्नेमा उनको अत्यन्त निकट मानिने दीर्घ सोडारी पनि छन् । सामाजिक विकास मन्त्री हुँदा केपी शर्मा ओलीबाट बर्खास्त गरिएका सोडारी यति बेला भौतिक पूर्वाधार मन्त्री छन् । उनी नेकपा एमाले कैलाली (माधव समूह) का अध्यक्ष समेत हुन् । उनको अध्यक्षतामा बसेको नेकपा एमाले कैलालीको पदाधिकारी बैठकले माधव नेपालको पक्षमा उभिने निर्णय गरेको छ ।

सोडारी यति बेला काठमाडौँ छन् । उनी बुधवार अर्याल होटेलमा भएको माधव नेपाल पक्षको भेलामा समेत सहभागी थिए । उनले आफू सहित अधिकांश प्रदेश सभा सदस्य नेकपा एमाले समाजवादीमा आबद्ध हुने बताएको स्रोतले बतायो ।

सोडारीले आफूसँग आधा दर्जन सांसद रहेको बताउने गरेका छन् । अमर साउद र बल बहादुर सोडारी उनी निकट मानिन्छन् । सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको पक्षमा छन् ।

मन्त्री जोशीले आफू अतिवादी र प्रतिगमनको विपक्षमा भएको बताइन । पूर्व वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट पनि भीम रावलको साथ छोडेकी छन् । भट्टले पनि नेपाललाई साथ दिएकी छन् । त्यस्तै नेकपा एमाले कञ्चनपुरमा अध्यक्ष रहेका तारा लामा तामाङ, प्रदेश सभा सदस्य कुलवीर चौधरी, सुशीला बुढाथोकी पनि माधव नेपाल पक्षमा छन् । 

आर्थिक मामिला मन्त्री प्रकाश शाह भने नेता रावलको पक्षमा देखिएका छन् ।मन्त्री शाहले पार्टी विभाजन गर्ने सैद्धान्तिक र वैचारिक आधार नभएको र आफू पार्टी विभाजनको पक्षमा नरहेको बताए । उनले पार्टी विभाजन हुँदा लोकतन्त्र नै कमजोर हुने भएकोले आफू पार्टी एकताका पक्षमा रहेको स्पष्ट पारे ।

नाताले नेता रावलको भिनाजु हर्क बहादुर कुँवर गोविन्द पनि रावलको पक्षमा लागेका देखिदैनन । सरकारमा राज्यमन्त्री रहेकी अर्चना गहतराजले रावललाई साथ दिएको स्रोतले बतायो । स्रोतले भन्यो, जहाँ रावल जान्छन् । त्यही पार्टी र समूहमा गहतराज रहनेछिन् । कुँवरले आफू प्रतिगमन र अतिवादको विपक्षमा भएको बताए ।

म विधि, पद्धति र लोकतन्त्रका पक्षमा थिए । र अहिले पनि छु, हिजो हामीले प्रतिगमन र अतिवादीका विरुद्ध सङ्घर्ष गर्‍यौ, कुँवरले भने, प्रतिगमन त सच्चियो, अतिवादी सच्चिएको छन् । उनको भनाइको आशय ओलीका विरुद्ध देखिन्छ । तर रावलका कारण उनी दोधारमा हुन सक्ने स्रोतले बतायो ।

प्रदेश सभा सदस्य प्रकाश रावल पनि भीम रावल निकट मानिन्छन् । तर यति बेला उनी तटस्थ छन् । चुनकुमारी चौधरीलाई रावलले राज्य मन्त्री बनाएका हुन् । यद्यपि मन्त्री पद जोगिने सर्तमा मात्र उनी रावलको पक्षमा जाने देखिन्छन्, स्रोतले भन्यो, तर अहिलेको सरकारमा रहेकाहरू रावललाई साथ दिँदा भने मन्त्री पद गुमाउने निश्चित छ । नेकपा एमालेका २५ सांसद रहेको सुदूर पश्चिम प्रदेश सभामा भीम रावलका पक्षमा सुदूर १८ जना सदस्य थिए । सात जना भने ओली पक्षमा उभिएका थिए । पार्टी विभाजन हुँदा उनीहरूले एक ढिक्का भएर रावललाई साथ दिने दाबी गरिएको थियो । तर रावलकै विश्वास पात्रहरूले उनको साथ छोडेका छन्

पार्टी विभाजनले नेपाल समूह पनि सुदूर पश्चिम प्रदेश सभामा विभाजन भएको छ । कतिपय सांसद एकताका पक्षमा भन्दै तटस्थ देखिएका छन् । अव एकताको सम्भावना नरहेपछि एक दुई दिनमा सबै सांसदहरूले आफ्नो कित्ता स्पष्ट पार्ने बताइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा