दिपायलमा प्रहरीले सोध्योः ‘तपाईकोे मास्क खोई ?’
डोटी भदौ ८,विश्वभर नोवेल कोरोनाभाईरस(कोभिड–१९)को सन्त्रास अझै घटेको छैन् । ‘दोस्रो चरण’को संक्रमण उत्कर्षमा पुगेर केही कमी आएपनि संक्रमण फैलने दरमा अझै नियन्त्रण भने आईसकेको छैैन् । झन् ‘तेस्रो चरण’को खतराले ढोका ढक्ढक्याई सकेको छ ।
तर, भीड बेपरवाह बन्दै गएको छ । कतिसम्म भने सहरक्षेत्रको भीडमा मास्कको प्रयोग शुन्यतान्मूख छ । जसले जोखिमको खतरा बढाउदै लगेको विज्ञहरु चेतावनी दिन थालेका छन् ।
विश्व स्वास्थ्य संगठन र विज्ञहरुको राय अनुसार कोभिड–१९ बाट बच्न मास्कको प्रयोग आधारभूत शर्त हो । विज्ञहरुका अनुसार हावामा रहेका थोपा र कणहरुमा कोरोनाभाईरस हुने सम्भावना हुन्छ । ती थोपा र कणहरुबाट एन–९५ मास्कको प्रयोगले ९५ प्रतिशत र सर्जिकल मास्कको प्रयोगले ८० प्रतिशतसम्म बचाउदछन् । जसले संक्रमणको जोखिम घटाउछ ।
यद्यपी यसको गम्भिर्यताका विषयमा भीड लापरवाह बन्दा जोखिम बढेकाले नेपाल प्रहरीले देशका अधिकांश ठाउँमा मास्कको प्रयोगलाई दबाबमूलक तथा अभियानमूलक ढंगबाट अघि बढाईरहेको छ ।
यस्तै अभियान मंगलबार विहान दिपायलमा पनि सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिपायलस्थित पीपल्ला बजारमा सवारीचालक, सहचालक तथा बटुवाहरुलाई लक्षित गर्दै ‘तपाईको मास्क खोई !’ अभियान सञ्चालन गरेर सचेत पार्ने प्रयास गरेको छ ।
‘भीडले सावधानी अपनाउनै छाडिसक्यो । जोखिम बढ्दै गयो । त्यसैले सचेत पार्न यो अभियान चलाएका हौ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षण दानबहादुर मल्लले भने,‘पछिल्लो समय यो हाम्रो प्रहरी संगठनको केन्द्रीय कार्यक्रम पनि हो ।’ प्रहरीले सो क्रममा मास्कको उपयोगिता, मास्कको प्रयोग गर्ने तरिकाका विषयमा पनि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले मास्कको प्रयोगलाई अपरिहार्य बनाउन सबैसंग आग्रह गरिन् । ‘महामारीलाई हलुका ढंगबाट लिनुहुदैन् । जसले आफ्नै ज्यान जोखिममा पार्छ,’ उनले भनिन्,‘त्यसैले मास्कको अनिवार्य प्रयोग गरौँ ।’
प्रहरीले जिल्लाका अन्य भीड हुने स्थानहरुमा बेलाबेला यस्ता कार्यक्रमहरु गर्दै आएको छ । जिल्लाका मुख्य बजारहरुमा मास्कको प्रयोग नगरेर जथाभावी हिँडडुल गर्नेहरुलाई सचेतनाबाहेक जरिवाना नै गरेर पनि दबाबमूलक रुपमा काम गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।