सहजपुर–बोगटान सडक जोडियो, डोटेली जनताको लागी यातायातको सहजीकरण
सहजपुर–बोगटान सडकको ट्रयाक जोडिएको छ । वि।सं। २०३८ सालमा भएको ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखि चर्चामा आएको बहुप्रतिक्षित बोगटान सडक आइतबार ट्रयाक जोडिएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभएको छ ।
०४३ सालदेखि निर्माण कार्य सुरु भएको सडक आइतबार जोडिएको हो । बडीकेदार गाउँपालिका वडा नम्बर ५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का बीचमा बाँकी रहेको भागमा सडक निमार्ण भएपछि आइतबार साँझ ६ः३० बजे निमार्ण कार्य सकिएको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष डम्मर घर्तीले जानकारी दिए ।
डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सहजपुर–बोगटान सडकले पूर्णता पाएपछि बोगटानमा खुसी छाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडकमा समावेश गरी प्राथमिकताका साथ बजेट विनियोजित गरेपछि बोगटान सडकले पूर्णता पाएको पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
कैलालीको सहजपुर, बिपीनगर, अत्तरकाँडा, सिमचौर, चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर जोडिएको छ । बोगटान सडक निर्माण कार्यक्रम अन्तर्गत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम समेत भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपैयाँमा खड्का–कृष्ण, बंगलामुखी र पवन निर्माण कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् । उक्त सडक जोडिएपछि बोगटान फुड्सिल, बडीकेदार, केआईसिंह, जोरायल गाउँपालिकाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
वि।सं। २०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक काट्ने काम सुरु भएको थियो । ‘धनगढी–दिपायल ९डिडी० सडक’को नामले काटिन सुरु भएको सडक पञ्चायत कालमा तत्कालीन डडेल्धुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल–डिडीडी’ नामाकरण गरेर काटिएको थियो । जसले सो सडकले बोगटान क्षेत्र जोड्न सकेन ।
२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्ने गरी यो सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरतबहादुर खड्काले सडकको शिलान्यास गरेका थिए ।
२०४८ सालमा आमनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्धराज ओझाले यही सडकलाई प्रमुख एजेण्डा बनाए । स्वर्गीय ओझा भूमिसुधार सहायक मन्त्री बने तर सडक बनेन । सिद्धराज ओझाले २०४८, २०५१ र २०५६ सालसम्म निर्वाचन जिते । त्यसक्रममा उनी पटक–पटक मन्त्री पनि भए । उता सडक निर्माणको गति भने निकै सुस्त रह्यो ।
२०६४ साल तत्कालीन नेकपा माओवादीका तर्फबाट संविधान सभा सदस्यमा विजयी उम्मेदवार खेम बमले न संविधान लेख्नमै सफल भए न बोगटान सडक निर्माण कार्यमा नै । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ५० लाख पावर बजेट हालेपनी हात्तीको मुखमा जिरा जस्तै भयो ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा यो सडक फेरी डोटी क्षेत्र नम्बर–२ का उम्मेद्वारहरुको साझा र प्रमुख एजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर आलेमगरले यही एजेन्डा उठाएर कार्यकाल भरी जसरी पनि सडक बनाउने कसम खाए । सहजपुर–अत्तरकाँडासम्म कालोपत्रेको काम सुरु त भयो तर सडक अझै जोडिन सकेन ।
२०७४ सालको प्रदेश सघंको निर्वाचनमा पनि यो एजेन्डा छुट्ने कुरै भएन । सबै उम्मेदवारको साझा र प्रमुख एजेन्डा बन्यो । तत्कालीन बाम गठबन्धनका उम्मेदवारहरूले यो एजेन्डा लिएरै विजयी मध्य प्रदेश सभा ‘ख’का विजयी उम्मेदवार त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भए र उक्त सडक प्रदेश गौरवको योजनामा समावेश भयो ।