कांग्रेस प्रदेश क्षेत्रीय अधिवेशन, देउवाकै जिल्लामा‘विधानविपरीत’

news
news
November 20, 7:04

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा शुक्रबार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन धुमधामसाथ उद्घाटन भयो । त्यहाँका दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति भने केन्द्रीय कार्यालयमा अनशनरत छन् । उनीहरूको प्रश्न छ– सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा छ ?डडेलधुरा कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लसहित प्रदेशसभा (क) का सभापति मानबहादुर बुढामगर र प्रदेशसभा (ख) का सभापति करुणाकर भट्ट बुधबारदेखि सानेपामा रिले अनशनमा छन् । सभापतिको अनुपस्थितिमा प्रदेशसभा (क) र (ख) मा जिल्ला सचिवद्वय क्रमशः हेमराज चटौत र लक्ष्मीदत्त अवस्थीले अधिवेशनको अध्यक्षता गरे । ‘हामी सभापतिसहित सिंगो कार्यसमिति यता (काठमाडौं) छौं, उता (डडेलधुरामा) पञ्चे शैलीमा अधिवेशन भएको छ,’ प्रदेशसभा (ख) का सभापति भट्टले भने, ‘वडा र पालिकामा पनि अवैधानिक रूपमा अधिवेशन भएका छन् ।’ उनका अनुसार १७ सदस्यीय प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिका १२ पदाधिकारी केन्द्रीय कार्यालयमा अनशनमा बसिरहेका छन् । प्रदेशसभा (क) को ५ सदस्यीय कार्यसमितिका ३ जना पनि अनशनमा छन् ।

कांग्रेसको विधानको धारा १० (६) मा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको अध्यक्षता सभापतिले गर्ने उल्लेख छ । प्रदेशसभा (ख) मा जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका गणेश भट्ट निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा (क) मा कैलाश पाण्डे र जितबहादुर विष्टबीच सभापतिमा निर्वाचन भएको छ । ‘प्रदेशसभा अधिवेशनको अध्यक्षता सभापतिले गर्नुपर्छ । मैले कसैलाई कार्यवाहक दिएको छैन,’ प्रदेशसभा (क) का सभापति बुढामगरले भने, ‘विधानको खिल्ली उडाउँदै भएको नौटंकीलाई मान्यता नदिन निर्वाचन समितिलाई आग्रह गरेका छौं ।’

मल्ल समूहले भदौमै अधिवेशन प्रक्रियालाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको थियो । समितिले उजुरीमाथि निर्णय गरेको छैन । ‘सभापतिहरू यता अनशनमा हुनुहुन्छ, उता प्रदेशसभा अधिवेशन भएको कुरा आएको छ,’ निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने, ‘बैठकमा छलफल नभएको विषयमा यसै भन्न सकिने अवस्था छैन ।’

क्रियाशील सदस्यता विवादकै बीच अधिवेशन प्रक्रिया अघि बढाइएपछि सभापति मल्ल पक्षधरले वडा र पालिका अधिवेशनमा भाग लिएका छैनन् । विवाद समाधान गरेर मात्र अधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको भनाइ छ । क्रियाशील सदस्यता विवाद कायम रहेकै बेला भदौ २५ मा डडेलधुरामा अधिवेशन प्रक्रिया अघि बढेको थियो । त्यही दिन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी मान्यता नदिने जनाएको थियो । केन्द्रीय सदस्य शेखर कोइराला सभापति मल्लको आन्दोलनलाई समर्थन जनाउन डडेलधुरामै पुगेका थिए । अधिवेशन बहिष्कार गरी डडेलधुरामा आन्दोलन थालेको मल्ल समूह बुधबार काठमाडौं आइपुगेको हो ।

जिल्ला सभापति मल्लले सिफारिस गरेर पठाएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रले अरू थपेपछि विवाद चुलिएको हो । मल्लले नवीकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेका ३ सय ८ जनाको नाम काटिएको छ । केन्द्रले ४ सय ५२ जनाको नाम थपेको छ । सभापति मल्ल समस्या समाधान गर्नुको साटो जबर्जस्ती अधिवेशन प्रक्रिया अघि बढाइएको बताउँछन् । देउवानिकट नेता रघुवीर भट्टका अनुसार सभापति मल्लले अजयमेरु गाउँपालिकामा बागी उठेर कारबाहीमा परेका लोकराज भट्ट, पर्शुराम नगरपालिकामा एमाले प्रवेश गरी मेयर लडेका तारसिंह बोहरा, अमरगढी नगरपालिका–९ मा वडाध्यक्षमा बागी उठेका नरबहादुर पाल, महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा पार्टी केन्द्रीय समितिले सदस्यता खोसेका रामबहादुर विष्टलगायतको सदस्यता नवीकरणका लागि पठाएका थिए ।

‘उहाँहरूको नाम वडा र क्षेत्रबाट समेत आएको थिएन, सभापतिले चोरबाटोबाट केन्द्रमा पठाउनुभएछ,’ उनले भने, ‘हामीले थाहा पाएर केन्द्रमा उजुरी गरेपछि क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता नवीकरण रोकेको हो ।’ माओवादी केन्द्रबाट आएका केन्द्रीय सदस्य जनकराज कलौनी र अन्य पार्टीबाट समायोजन भएका ४ सय ५२ जनाको नाम केन्द्रीय निर्णयअनुसार थपिएको उनले बताए । ‘विधिसम्मत रूपमै वडादेखि प्रदेशसभासम्मको अधिवेशन भएको छ, सबै नेता–कार्यकर्ताले उल्लासका साथ भाग लिइरहेका छन्,’ उनले भने, ‘सभापतिसहित केहीले अनावश्यक बखेडा झिक्ने र भ्रम फैलाउने काम गरिरहेका छन् ।’

रौतहटको टोली फर्कियो

करिब ४ महिना रिले अनशन बस्दासमेत माग सुनुवाइ नभएपछि रौतहटका नेता–कार्यकर्ता घर फर्किएका छन् । उनीहरूले बुधबार अनशन तोड्दै गृहजिल्ला फर्किने निर्णय लिएका हुन् । रौतहटमा सदस्यता विवाद थियो । कात्तिक २७ मा उनीहरूलाई पेलेरै वडा अधिवेशन गरिएका थियो । ‘अनशन जति बसे पनि नेतृत्वले कान नसुनेपछि पार्टी जोगाउन जिल्ला फर्किने निर्णय गर्‍यौं,’ रौतहटका जिल्ला कोषाध्यक्ष रामश्रेष्ठ साहले भने, ‘अब त्यहीँ गएर संघर्ष गर्छौं ।’ उनका अनुसार रौतहट क्षेत्र नं. १ मा क्षेत्रीय सभापति र जिल्ला सभापतिको मिलेमतोमा क्रियाशील सदस्यतामा धाँधली गरिएको छ । वडाबाट सिफारिस नभएका व्यक्तिलाई समेत सदस्यता दिइएको उनले बताए ।

६० जिल्लामा अधिवेशन

करिब ६० जिल्लामा शुक्रबार कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सुरु भएको छ । नेताहरू भने आफूनिकट प्रतिनिधि जिताउन क्षेत्रमा केन्द्रित भएका छन् ।

सात प्रदेशमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये १४ जिल्लामा अधिवेशन भइसकेको छ । केही जिल्लामा क्रियाशील सदस्यताको विवादका कारण पालिका र वडा अधिवेशन नै हुन सकेको छैन । पालिका अधिवेशन भइसकेका जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

वडा तहबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि प्रदेशसभा क्षेत्रीय अधिवेशनका मतदाता हुन्छन् । प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिले मात्रै सम्बन्धित प्रदेश महाधिवेशनमा भाग लिन पाउँछन् । प्रदेशको नेतृत्व चयनले केन्द्रीय महाधिवेशनको संकेत गर्ने भएकाले पनि नेताहरूको ध्यान आफूपक्षीय प्रदेश प्रतिनिधि चयन गर्नेमा केन्द्रित भएको हो ।

प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट चुनिएका प्रतिनिधिले प्रदेश महाधिवेशनमा मतदान गर्ने भएकाले यसमा शीर्ष नेताहरूकै चासो छ । ‘प्रदेशसभा क्षेत्रीय अधिवेशन भनेको प्रतिनिधिसभा क्षेत्रको आधा भूगोल हो, यो अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको झल्को दिन्छ, यहाँबाट निर्वाचित प्रतिनिधिले नै प्रदेश कार्यसमिति चयन गर्ने हो, त्यसैले सबै नेता जिल्ला जानुभयो,’ कांग्रेस केन्द्रीय कार्यालयका एक सचिवले भने, ‘अहिले सबै नेताको ध्यान आफ्नो क्षेत्रतिर छ । आफ्नो क्षेत्रमै हारे माथि कसरी दाबी गर्ने भन्ने चिन्ता होला ।’

पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । आकांक्षी सबै नेता कुन भूगोलमा कसको प्रभाव बलियो बन्छ, त्यस आधारमा चुनावी टिम र रणनीति तयार गर्ने दाउमा छन् । सभापति देउवाले आफूपक्षीय नेता–कार्यकर्तालाई प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिमा जिताउन तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत आफूपक्षीयलाई ल्याउन निर्देशन नै दिएका छन् । देउवाले प्रदेश १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश २ मा रमेश रिजाल, वाग्मतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही तथा सुदूरपश्चिममा रमेश लेखक र एनपी साउदलाई जिम्मेवारी दिएका छन् ।

पौडेल समूहले पनि जिल्ला र क्षेत्रको जिम्मेवारी बाँडफाँट गरेका छन् । ‘जसको क्षेत्र जहाँ पर्छ, त्यहाँ उसले स्वाभाविक जिम्मेवारी लिनुपर्छ भन्ने हो,’ एक केन्द्रीय सदस्यले भने । सिटौला पक्षले भने जिल्ला र क्षेत्रको अंकगणितका आधारमा देउवा र पौडेल दुवै समूहसँग सहकार्य गरेर आफ्ना नेता–कार्यकर्तालाई पदमा पुर्‍याउने रणनीतिमा छन् । ‘हामीले पनि आ–आफ्नो क्षेत्र हेरिरहेकै छौं,’ पूर्वसहमहामन्त्री रामशरण महतले भने, ‘केन्द्रीय महाधिवेशन प्रतिनिधिको टुंगो लागेपछि त्यसले नेताहरूको शक्ति निर्धारण गर्छ ।’ पौडेल समूहबाट साझा उम्मेदवारी दिने विषयसमेत क्षेत्रीय प्रतिनिधि चयन भइसकेपछि मात्रै टुंगो लाग्ने उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा