मेयर धनगढी प्याब्सन कप : ओक्सफोर्ड, धनगढी मावि र एरिस्टो विजयी
धनगढी - धनगढीमा जारी मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगितामा आज भएका तीन खेलमा ओक्सफोर्ड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मावि र एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा ओक्सफोर्डले ग्यालक्सी हाई स्कुललाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा धनगढी माविले पञ्चोदय माविलाई ४ विकेटले र तेस्रो खेलमा एरिस्टोले गार्डनर स्कुललाई १ सय १ रनले पराजित गर्यो ।
ओक्सफोर्ड युनिभर्सललाई जिताउन कुशल साउँदले ३ ओभर बलिङ गर्दै ८ रन खर्चेर ५ विकेट लिए । उनले घातक बलिङ गरेपछि ग्यालेक्सीले ८० रनमै आफ्ना सबै विकेट गुमायो । ८१ रनको विजयी लक्ष पछ्याएको ओक्सफोर्डका लागि हिमेश बोहराले सर्वाधिक २६ रन बनाए । खेलको प्लेयर अफ दी म्याच साउद चुनिए ।
दोस्रो खेलमा पनि धनगढी माविका बलहरू हाबी हुँदा पञ्चोदयले पराजय बेहोर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्चोदयाले १३.५ ओभरमा सबै विकेट गुमाएर ८४ रन बनायो । धनगढी माविका बलर किरण कार्कीले सर्वाधिक ३ विकेट लिए । ८५ रनको विजयी लक्ष पछ्याएको धनगढीले ११.२ ओभरमा ६ विकेट गुमाएर लक्ष भेट्टायो । उसका मनोज विष्टले अविजित ३६ रनको पारी खेले । खेलको प्लेयर अफ दी म्याच पनि विष्टनै चुनिए ।
तेस्रो खेलमा टल जितेर ब्याटिङ रोजेको एरिस्टोले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रनको विशाल योगफल तयार पार्यो । उसका सलिन बोहराले ४ चौकको मद्दतले ३४ बलमा ५४ रनको अर्धसतकीय पारी खेले । सुवास सिंहले टिमलाई ४३ रनको योगदान दिए । १ सय ६५ रनको विजयी लक्ष पछ्याएको गार्डनर स्कुल १४.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ६१ रनमा समेटियो । खेलको प्लेयर अफ दी म्याच सलिन बोहरा चुनिए ।
धनगढी प्याब्सनको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ ।
धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । सहभागी विद्यालयहरूमा एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल, शारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।
यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बोर्डिङ स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, थ्री स्टार बोर्डिङ स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालय रहेका छन् ।