समाजवादको सपना : युवा नेतृत्व र जनप्रयि कांग्रेस

news
news
November 23, 11:51
news
सुरेन्द्र भट्ट
लेखक : पूर्व जिल्ला सचिव
ने वि संघ डोटी

 
अंग्रेजको चाकरीका भरमा देश लुटिरहेका क्रूर राणा शासकलाई धुलो चटाउन बिपीको नेतृत्वमा कांग्रेसको लडाइँ युगान्तकारी क्रान्ति थियो । यो गौरवमय इतिहासलाई रच्न बिपीले प्रजातान्त्रिक समाजवादको सपना देखेका थिए । उनी हरेक नेपालीका घरमा एउटा दुहुनो गाई, एक हल गोरु, गरिखान पुग्ने जमिन, औषधिमूलो गर्न र सन्तानलाई शिक्षा दिन सक्ने अवस्था होस् भन्ने चाहन्थे । हलो जोतिरहेको किसानको तस्बिर हेरेर योजना बनाउनू भन्ने उनको निर्देशनको अर्थ थियो, नेपाली जनसाधारणको मर्म र हितलाई सर्वोपरी राख्नु ।
   बिपीले समाजमा समाजवादको विचार मात्र दिएनन्, विचारलाई सुविचारित तरिकाले समाजमा, प्रशासनमा, अर्थतन्त्रमा र बिदेश नीतिमा कसरी प्रयोग गरेर जाने भन्नेमा पनि मार्गचित्र तयार गरेर जिवन्त पार्टी संगठन बनाए । जसले एसियामै प्रजातान्त्रिक समाजवादको शंखघोष गर्न त सक्यो तर प्रजातन्त्रका बिरुद्धमा कतै कोहीसँग सम्झौता नगर्ने अडान लिएका कारण विपीले नेपाल छोडेर निर्वासित जीवन समेत बिताउनुप¥यो । दुर्भाग्यवस, अहिले पार्टी छ तर विपीको ‘समाजवाद’ को सपना कहाँनेर छ ? पार्टीनै द्विविधाग्रस्त अवस्थामा देखिएको छ ।
नेपाली कांग्रेसको सपना र जपनामा सधैँसधैँ आउँछन्, महामानव बिपी । कुनै समय उनी नेपाली जनताका लागि वीर विश्वेश्वरप्रसाद कोइराला थिए । त्यो रूपक अब खासै उच्चारित हुँदैन । सपना र जपनामा जति आए पनि कांग्रेसको जीवनमा बिपी र उनको सपनामाथि निर्दयतापूर्वक दमन जारी छ । संसदीय सत्तामा रमाएका कम्युनिस्टले गरिबको राज्य ल्याउने सपना देखाएजस्तै भएको छ कांग्रेसको बिपी जपना ।
आज सकेसम्म आफ्ना श्रीमती, ज्वाइँ, छोराछोरी, सम्धी, पिए आदिलाई च्याप्ने, बढाउने, तान्ने जस्ता प्रवृत्ति बढ्दै गएर पार्टीभित्र परिवारवाद हाबी भएको छ । नेपाली काङ्ग्रेसका लागि आज परिवारवाद नै मूल सिद्धान्त भएको छ, जुन आजको मूल समस्याको रूपमा छ । 
आज नेपाली काङ्ग्रेस नीतिगत विचलनको भासमा नराम्रोसँग फसिसकेको’  छ । ‘बिपीको समाजवादी नीति सिद्धान्त कत्ति पनि अनुकरण नगरिएको बरु विचलन भएको भन्न सकिन्छ । गौरवशाली इतिहास भएको पार्टी भनेर गौरव गर्ने नेपाली काङ्ग्रेसका पछिल्लो नेतृत्व वर्गले कहिल्यै पनि इतिहासको अध्ययनबाट पाठ सिक्ने काम गरेन । पार्टी नेतृत्वमा जबसम्म सत्तालाई प्राथमिकता दिने लोभ कायम रहन्छ, आफ्नाहरूलाई च्याप्ने प्रवृत्ति अनुरूप नेतृत्व चल्दछ तबसम्म बिपीले रोपेको राजनीतिक संस्कारमा नेपाली काङ्ग्रेस जान सक्ने  छेैन । 

 वर्तमान नेतृत्व राजनीतिक व्यवस्थापनमा किन र कहाँ कमजोर रह्यो, स्थिर र चलायमान किन हुन सकेन, अनेकन टीकाटिप्पणी भएका छन् । गाउँ, नगर र जिल्ला हुँदै चुनिएका झन्डै पाँच हजार नेता–कार्यकर्ताले महाधिवेशनमा प्रतिनिधित्व गर्दै छन् । विवेकसम्मत निर्णय गरेमा नेपाली जनताले परिवर्तनका लागि धेरै समय कुर्नु पर्नेछैन ।
विगत केही वर्षदेखि जनता र कार्यकर्ताले लक्ष्यअनुरूप उपलब्धि खोजेका छन् । आज नेपाली कांग्रेसको दोस्रो पंक्तिका नेतृत्वले मौका पाउँदासमेत भरोसा दिन सकेको छैन । जस्तै कठोर अवस्थामा पनि कांग्रेस एक हुँदै अगाडि बढेको देखेको यो पुस्ता आजको संक्रमणकालीन समयमा पनि संवेदनशील भएन भने कस्तो सन्देश जाला ? कार्यकर्तालाई वितृष्णा, जनतालाई निराशा र शुभचिन्तकहरूलाई लज्जाबाहेक केही हुनेछैन ।
पढेलेखेको, संसार देखेको आजको नेतृत्व पुस्ता गुट–उपगुट र तेरोमेरोमै व्यस्त रह्यो । यसलाई नेपाली कांग्रेसभित्र जागेका युवाहरूको परिवर्तनको अभियानले सच्याउन सक्छ ।
बिपी, सुवर्णजीको राजनीतिक सिद्धान्त, गणेशमान, किशुनजीको बलिदान, गिरिजाप्रसादको संगठन कौशल तथा कार्यकर्ता–प्रेम र सुशील कोइरालाको सादा जीवनले नेपाली कांग्रेसमा निरन्तरता पाउन सक्नुपर्छ । सबै त्याग गर्न सक्ने क्षमता नै नेतृत्व हो । विगतमा इतिहास रचेका नेताहरूको काखमा प्रशिक्षण पाएका हालका नेताहरूको सार्वजनिक चर्चा विरलै देख्न, सुन्न पाइन्छ । सिद्धान्त र आदर्शसँग सत्ताको जोडघटाउ मुछिँदा गलत सन्देश गएको छ, त्यसको पनि पर्वाह छैन, बरु बचाउ छ । यही स्थिति रहे कांग्रेससँग विचार र सम्भावना दुवै रहने छैन । 
नेपाली जनताले ०१५ सालको जस्तो सुसंस्कृत चिन्तन र अभ्यास खोजेका छन् । यसमा वर्तमान नेतृत्व बाधक नबनोस् । राजनीतिको पहिलो सर्त वैधानिक अनुशासनको पालना हो । भनिन्छ, १५ सालमा पहिलोपटक नेपाली कांग्रेसले सत्ता पाउँदाको स्वाभिमान, अनुशासन मुलुकप्रतिको जिम्मेवारी अनुकरणीय थियो । इतिहास, राजनीति र समाज बचाउनका निम्ति नेपाली कांग्रेस प्रतिबद्ध थियो । आज परिवारवाद र गुट बचाउने सोचको पर्याय भएको छ । नेपाली कांग्रेस समकालीन राजनीतिमा कांग्रेसको बिग्रेको त्यही साख बचाउने जिम्मेवारी लिएर अगाडि आउनुपर्छ । जनता काँधमा काँध मिलाएर सहयात्रा गर्न आतुर छन् । हिजो, गाउँघरका साधारण जनताको चिन्ता लिने कांग्रेस थियो र न कांग्रेस बाँचेको थियो । वर्तमानले पुनः त्यस्तै नेता र नेतृत्वको खोजी गरिरहेको छ । यस चिन्तालाई आसन्न महाधिवेशन र नयाँ नेतृत्वले सम्बोधन गर्न सक्नुपर्छ । 
हिजोका दिनमा  आफ्नै नेतृत्वमा निर्वाचन  सम्पन्न गरेको काङग्रेसको,  २३ सिट (प्रत्यक्ष) र  ४० सिट (समानुपातिक) मात्रै भयो  किन विषय खोजनीय छ । कांग्रेस इतिहासमा यति विधि कमजोर कहिल्यै थिएन । नेपाली कांग्रेसको अधिवेशन आफैँमा एउटा पर्व हो । यसले हजारौँ नेता जन्मायो, हुर्कायो, कतिले प्रजातन्त्रका निम्ति सहादत प्राप्त गरे, कति सहिद बेघरबार भए । ००७ सालदेखि आजपर्यन्तका सबै क्रान्ति, जनआन्दोलनको अगुवाइ गरेको यो पार्टी आन्तरिक राजनीतिक एकाघरको किचलोका बाबजुद कांग्रेसले बाह्य आक्रमण पनि सहेकै हो । तर पनि बहस र छलफल हुन्थे । तर, आजका दिनमा नेपाली कांग्रेसमा कुनै पनि विषयमा छलफल, संवाद र निष्कर्ष छैन । त्यसैले युवापुस्ताले अहिले जुन बहस सुरु गरेका छन्, त्यो नै पार्टी रूपान्तरणको जग हो । यही जगमा उभिएर यस अधिवेशनबाट नेपाली कांग्रेसले राजनीतिक तथा सामाजिक रूपान्तरणको अभियान चलाउनेछ । हालको नेतृत्वले तोकिएको समयमै महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई जिम्मेवारी सुम्पँदाको दृश्य इतिहासमै स्वर्णिम हुनेछ ।
नेपाली कांग्रेसको वर्तमान नेतृत्व गुणगानको पारखी छ । जबकि, युवापुस्ता जनजीविकाको हरेक सवालको जवाफका निम्ति तयार छ । फरक यही छ, प्रस्तावित नेतृत्व र वर्तमान नेतृत्वमा । कांग्रेसमा युवा नेताहरूको बाहुल्यता हुँदाको सन्देश फैलिँदा मात्रै पनि लोकतन्त्रमा विश्वास राख्नेहरूले थप ऊर्जा प्राप्त गरेका छन् । सन्देशले मात्रै पनि ऊर्जा थपिएको छ भने पदीय जिम्मेवारी सम्हालेको अवस्थामा कति उत्साहित होलान्, आमजनता १
जनतामा उत्साह भर्नकै निम्ति पनि १४औँ महाधिवेशनमा पुस्ता हस्तान्तरण पहिलो र अन्तिम सर्त हो । युवा नेतृत्वले नेपाली कांग्रेसको काँध थाप्नुपर्छ । पन्छिएर देलान् र पाउँला भन्ने होइन । निर्भय उभिएर लल्कार्न सक्नुपर्छ । त्रासका बीच नयाँ नेतृत्व मौलाउँदैन ।  नांगो खुट्टा र भोको पेटले जीवन गुजारेका पुराना कांग्रेसीको पनि  नेता हुन सक्नु पर्छ । 
आजको नेपाली कांग्रेसले बिपी र सुवर्णको जस्तै कथा मागेको छ । कांग्रेसले इतिहासका हरेक प्रश्नको जवाफ दिँदै भावी पुस्तालाई बहुविधामा प्रशिक्षित गरी जिम्मेवारी निर्वाह गर्न सक्ने कुशल राजनीतिकर्मी बनाई मुलुक सेवामा समर्पित गर्नुपर्छ । इतिहासमा कांग्रेसलाई उच्च नैतिक एवं सामाजिक चरित्र भएको पार्टी मानिन्थ्यो, आज ठीक उल्टो प्रतीत हुन्छ । व्यक्तिगत सम्बन्ध र उठबसका आधारमा नेतृत्व स्वीकार गर्ने परिपाटीको अन्त्य नै विद्रोह हो । नेपाली जनमानसले त्यही विद्रोह खोजेका छन्, युवाशक्तिसँग । बिपी, सुवर्णको राजनीतिक संस्कारलाई आत्मसात् नगरेसम्म कांग्रेस उँभो लाग्दैन । मुलुकमा आज राजनीतिक अस्थिरता छ । जनविश्वास जगाउन पनि संविधान निर्माणका बखतको सैद्धान्तिक विचलन छिटै भरपाई गर्नुपर्नेछ । जुन १४औँ महाधिवेशन र निर्वाचित नेतृत्वबाट मात्र सम्भव छ ।
तसर्थ : जबसम्म वास्तविक कार्यकर्तालाई पाखा लगाइन्छ, तबसम्म सबल काँग्रेसको कल्पना गर्न सकिन्न । नेपाली काँग्रेसले प्रजातन्त्रवादी पार्टी हो । प्रजातन्त्र भनेको निर्वाचनद्वारा निर्वाचित प्रतिनिधिबाट गरिने शासन प्रणली हो । बहुमतको निर्णय मान्ने प्रजातान्त्रिक चरित्र भएन भने प्रजातन्त्रको मर्म रहँदैन र प्रजातान्त्रिक समाजवाद आकासको तारा जस्तो हुनेछ । बीपीलाई भजाएर कति दिनसम्म पार्टीको नीति र सिद्धान्त टिक्ला रु युवालाई कसरी प्रभावमा पार्न सकिएला ? महाधिवेशनले खास प्रजातान्त्रिक समाजवादी नीति अवलम्बन गर्न सक्ने, जनताप्रति उत्तरदायी, पारदर्शी र सेवामुखी नेतृत्व खडा गर्न सक्नुपर्छ ।

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा