अत्तरियामा पुष ५ देखि ‘सुदूरपश्चिम राजधानी कप २०७८’ फुटबल प्रतियोगिता हुने
अत्तरिया, २५ मंसिर / कैलालीको गोदावरी नगरपालिकाको मुख्य बजार अत्तरियामा ‘सुदूरपश्चिम राजधानी कप २०७८ फुटबल प्रतियोगिता’ हुने भएको छ । अत्तरिया रहेको पिएफएम स्पोट्स क्लबको आयोजनामा आगामी पुस ५ गतेदेखि १० गते सम्म तेस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।
यस बर्ष पुरुष र महिला गरी दुवै तर्फका खेलहरु खेलाइने पिएफएम स्पोट्स क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
४७ लाख ६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगिताको पुरुष तर्फ विजेता हुने टिमलाई ५ लाख र उप विजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरिने पुरुष तर्फका खेल संयोजक रविन्द्र राज भण्डारीले जानकारी दिए ।
यस्तै महिला तर्फका विजेता टिमले १ लाख ५० हजार र उप विजेता हुने टिमले ७५ हजार रुपैयाँ नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने उनले बताए । यस्तै दुवै तर्फ विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद र ट्रफि प्रदान गरिने छ ।
सम्पूर्ण खेलहरु गोदावरी नगरपालिका वडा नं ८ मा रहेको शिवशक्ति खेल मैदान स्याउलेमा हुने संयोजक भण्डारीले बताए । प्रतियोगितामा सहभागि हुनका लागि कुनै उमेर समूह र क्षेत्र नतोकिएको उनले बताए । उक्त प्रतियोगितामा अत्तरिया, धनगढी, कञ्चनपुर, बुटबल लगाएतका ठाउँवाट गरि पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले सहभागिता जनाउने पक्कापक्की भएको आयोजकले जनाएको छ । आयोजक पिएफएम स्पोट्स क्लबका अध्यक्ष अमित बरालको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा गोदावरी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी प्रमुख अतिथि रहेका थिए ।
यस्तै विशिष्ट अतिथिमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिब दुर्गा प्रसाद अधिकारी रहेका थिए । देशको पहिचार र विकास खेलकुदकै माध्यामवाट हुने भएकाले खेलकुदका गतिविधिहरुलाई निरन्तर रुपमा अगाडी बढाइरहनुपर्ने वडा अध्यक्ष अधिकारीले बताए । उनले प्रतियोगितालाई सम्पन्न गर्न आफ्नो व्यक्तिगत र वडा तर्फवाट गर्न सकिने सम्पूर्ण सहयोगहरु गर्न तयार रहेको बताए । कार्यक्रममा क्लवका सल्लाहाकार एबम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बर पालले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सिद्ध बोहराले गरेका थिए ।