संसद बैठक एक हप्ताका लागि स्थगित
काठमाडौं ,२८ मंसिर / सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका छन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८ पेस गरेका छन् ।
त्यस्तै रेल्वे अध्यादेश २०७८, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि संसदमा पेश भएको छ ।
संसद अधिवेशन चालु नरहेको अवस्थामा सरकारले ल्याएको अध्यादेश संसदको पहिलो बैठकमा नै पेस गर्नुपर्ने प्रावधान छ ।
संसदको यो अधिवेशनमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।
एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।