अरुण दासका हत्याराले भने – ‘शरीर र टाउको छिनाएर बेङलोर भाग्दैछौं’
धनगढी,४ पुष / कैलालीका अरुण दास हत्या घटनाको फोन कल रेर्कड बाहिरिएको छ । शनिवार जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शरीरबाट टाउँको छिनालिएको अवस्थामा शव फेला परेको थियो ।
दासकै साथी भएको बताउदै एकजना युवाले आफूलगायतका केहीले हत्या गरेको आशयको कुरा गरेको फोन कल रेकर्ड बाहिरिएपछि प्रहरीले यसैमा केन्द्रीत भएर घटना अनुसन्धान अगाडी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्तासमेत रहेका डिएसपी बेदप्रकाश जोशीले बाहिरिएको भनिएको कल रेकर्ड कतिको सत्य,तथ्यमा आधारित हो ? त्यसका बारेमा अनुसन्धान सुरु गरिसकेको बताए ।
‘रिसिभरलाई आइडेन्टिफाई गरिएको छ, घटनाको जानकारी दिने युवाका बारेमा जानकारी बटुलिरहेका छौं,’ उनले भने,‘प्रहरीको ध्यान अन्यत्र मोड्नका लागि पनि यसरी कुराकानी गरिएको हुनसक्छ । हामी सबै तथ्य र सम्भावनाहरुका बारेमा सुक्ष्म ढंगले अनुसन्धानमा जुटेका छौं ।’
उक्त फोन कलमा एकजना युवाले टाउँको र शरिर अलग हुने गरी हत्या गरेपछि आफूहरु भागेर भारत गइरहेको बताएका छन् । ‘हामी बेङलोर जादै छौं । अहिले रुपैडिहा पुगेका छौं,’ ती युवाले भनेका छन्, ‘एक–दुई दिनमा त्यो लाश फेला पर्नेछ ।’
प्रहरीका अनुसार ती युवाले बोल्दा ब्याकग्राउण्डमा अरुको श्वर पनि सुनिन्छ । यो घटना पनि लम्कीका भुपेन्द्र बडुवालको हत्या जस्तो संगठित अपराधीले गरेका हुन् वा लागूऔषध प्रयोगकर्ताले गरेका हुन् त्यसका बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘घटनास्थलमा चुरोटका ठुटा र प्याकेटहरु भेटिएका छन् । फोनमा कुरा गर्ने ती युवाको आवाज सुन्दा पनि लागूऔषध प्रयोग गर्ने हुन् कि भन्ने शंका लागेको छ,’ डिएसपी जोशीले भने, ‘उनीहरु समूहमै सामुदायिक वनमा गएको र केही बिषयमा बादबिबाद भएको कुरा पनि आएको छ ।’
जानकी गाउँपालिका वडा नं. ९ कै अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा दासको शव फेला परेको थियो । शव आफन्तलाई जिम्मा लगाइसकिएको छ । प्रहरीका अनुसार दास अति निम्न बर्गिय परिवारका हुन् । उनी मजदूरी गर्थे र उनका बुवाआमा पनि रोजिरोटीका लागि भारतमा काम गर्छन । प्रहरीले अनुसन्धानमा तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको छ ।