सुदुरपश्चिमलाई स्तब्ध पार्दै प्रदेश १ प्रधानमन्त्री कपको फाईनलमा
धनगढी,१० पुष / प्रदेश १ सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेको छ । घरेलु टोली सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाईनल पुगेको हो । यसअघि मेयर कपको सेमिफाईनलमा व्यहोरेको हारको बदला लिदैं प्रदेश १ फाईनल पुगेको छ ।
सुदुरपश्चिम प्रदेशले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले एक विकेट क्षतिमा भेट्टायो । प्रदेश १ ले १६ दशमलब ५ ओभरमा विजय लक्ष्य पुरा गरेको हो । पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरिन् । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाईन् । कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाईन् । रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित ९ रन बनाईन् । सुदुरपश्चिमका लागि कविता जोशीले मात्रै एक विकेट लिईन् ।
यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले सामान्य योगफल मात्रै बनायो । ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनाएको थियो । सुदुरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाईन् । कप्तान रितु कनौजियाले २५ रन बनाईन् । त्यस्तै डल्ली भट्टले १२ रन बनाईन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीय अलिशा खाडिया संगीता राई र ज्योती दनवारले समान एक विकेट लिईन् । खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भईन् ।