‘फेरि वन कार्यालयले उठिबास लगाउँछ कि भन्ने डर छ’

एक
एक
December 30, 10:24

धनगढी,१५ पुष / कैलालीको भजनी नगरपालिका वडा नम्बर ७, हिक्मतपुर सामुदायिक वनभित्र सानो टहरामा गुजारा गरिरहेका छन्, ६९ वर्षीय टीकाराम डंगौरा । तीन दिनसम्म सडकमा त्रिपालमुनिको बासपछि अहिले उनी फेरि सामुदायिक बनमा नै फर्किएका छन् ।

उनलाई इलाका बन कार्यालय, भजनीले बनमा अस्थायी रुपमा बस्न सहमति दिएको हो । बाढीले घरबास सबै उजाडेपछि टीकारामको परिवार १४ वर्षदेखि सोही बनमा बस्दै आएका थिए ।गत ७ गते इलाका वन कार्यालयले ‘वन अतिक्रमण हटाउने भन्दै’ उनको टहरा पनि डोजर लगाएर भत्काएपछि उनी पुनः सडकमा पुगेका थिए ।

उनी परिवारसहित तीन दिनसम्म सडकमा त्रिपालमुनि बसे । गत ११ गते इलाका बन कार्यालयले उनलाई सो सामुदायिक बनमा अस्थायी रुपमा बस्न अनुमति दिएको हो । तर, टीकारामको मन अहिले पनि विचलित छ ।

‘अझ, फेरि वन कार्यालयले उठिबास लगाउछ कि भन्ने डर छ’, उनले भने, ‘२०७४ सालको बाढीले घरबास बगाएपछि यही वनमा बस्दै आएको थिएँ’, उनले भने, ‘गत बिहीबार वन कार्यालयले डोजर लगाएर टहरा भत्कायो । अहिले बस्न त दिएको छ, तर कुन दिन डोजर लगाएर हाम्रो उठिबास गराउँछ भन्ने डर छ ।’

उनका अनुसार भजनी नगरपालिका प्रमुख, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अर्को व्यवस्था नभएसम्म यही वनमा अस्थायी रुपमा बस्न अनुमति दिएको हो ।

टीकारामले सरकारले बाढीप्रभावित परिवारलाई उचित र सुरक्षित घरबासका लागि अहिलेसम्म कुनै व्यवस्था नगरेको गुनासो गरे । सामुदायिक वनभित्र टहरा बनाएर उनले सानो चिया पसलबाट जीविकोेपार्जन गर्दै आएका थिए । वन कार्यालयले टहरा भत्काएपछि उनको गरिखाने माध्यम पनि सकिएको छ ।

गत साता डोजर लगाएर टहरा भत्काएकामध्ये टीकारामसहित १८ परिवारलाई प्रशासनले सोही वनमा अस्थायी रुपमा बस्न दिएको छ ।
आइतबार देखि सोही वनमा अस्थायी रुपमा बसोबास गर्न पाएका बाबुराम चौधरीको अनुहारमा खुशीसँगै चिन्ता छाएको देखिन्छ ।

‘हामी बाढीबाट प्रभावित भएर घरबारविहीन भएकाहरू सुरक्षित स्थान खोज्दै यही वनमा टहरा बनाएर बसेका थियौँ’, बाबुरामले भने, ‘हामीहरू यहाँ बसेको देखेर बस्तीका अरुहरू पनि जबरजस्ती यही वनमा टहरा बनाएर बस्न थाले । वनमा बस्ती हुन थालेपछि वन कार्यालयले डोजर लगाएर सबै टहराहरू भत्कायो । अझ पनि नक्कली बाढीपीडितहरू यहा बस्न थालेपछि फेरि हाम्रो उठिबास त हुने होइन ? टहरा समेत गुमाएर तीन दिनसम्म त्रिपालमुनि सडकमा बास बस्दा निकै समस्या भएको उनीहरू बताउँछन् ।

‘यस्तो कठ्याङ्ग्रिँदो चिसोमा बालबच्चासहित सडकमा राम्रोसँग सुत्न पनि सकिएन’ उनीहरूले भने, बालबच्चालाई रुघाखोकीले सताएको छ । अहिले बल्ल टाउको लुकाउने ठाउँ पाएका छौँ ।

२०७८ साल साउनमा मोहना नदीमा आएको बाढीले बाबुरामको घरजग्गा बगाएको थियो । नदीले घर जग्गा कटान गरेपछि उनी परिवारसहित सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका थिए ।

‘घरभित्रै नदीको बाढी पसेपछि सशस्त्र प्रहरीको टोलीले उद्दार गरेर सामुदायिक वनभित्र बसाएको थियो । अहिले वन कार्यालयले डोजर लगाएका कारण तीन दिनसम्म सडकमा बास बस्नुप¥यो’, उनले भने । बाबुरामको श्रीमती, एक छोरा र एक छोरीसहित चार जनाको परिवार छ ।

गत साउन महिनासम्म सो वनभित्र बाढी प्रभावित परिवारहरू मात्रै बस्दै आएका थिए । मोहना नदीको कटान र बाढीका कारण वरपरका बस्ती जोखिममा पर्न थालेपछि ती बस्तीका एक सय २० परिवार पनि सोही वनभित्र घरटहरा बनाएर बसोबास गरिरहेका थिए ।

वनभित्र बस्ती बढ्न लागेपछि अतिक्रमणको जोखिम रोक्न डोजर चलाएर हटाउनुपरेको इलाका वन कार्यालय भजनीका सहायक वन अधिकृत दिलिपकुमार यादवले बताए ।

‘हामीले बाढीप्रभावित परिवारमाथि समस्या थप्न अतिक्रमण हटाएका होइनौँ’, उनले भने, ‘घर भएकाहरू पनि वनभित्र टहरा निर्माण गर्न लागेपछि डोजर चलाउनुपर्ने बाध्यता भएको हो ।

भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले बाढी प्रभावित १८ परिवारलाई अस्थायी रुपमा सोही सामुदायिक वनमा बसोबास गराउन वन कार्यालयसँग आग्रह गरिएको बताए ।

‘उनीहरूका लागि सुरक्षित र उचित बसोबासका लागि हामीले प्रयास गरिरहेका छौँ । वडाबाट प्रहरी मुचुल्का तयार गरी नगरपालिकाले प्रमाणित गरेर सो विवरण जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाउने तयारीमा छौँ’, नगर प्रमुख शेरबहादुरले भने, ‘जिल्ला प्रशासनले उनीहरूका लागि उचित घरबासका लागि पहल गर्नेछ । अहिले वन कार्यालयलाई अस्थायी रुपमै बसोबास गर्न दिन र कुनै पनि क्षति नपुर्याउन भनी आग्रह गरिसकेका छौँ ।’

सम्बन्धित वर्गका समाचारहरू

जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा