लघुकथा : जीवनाधार
करिब ९ वर्षकी बालिका उसको जीणर् शरीर, लट्टा परेको कपाल, थोत्रो कपडा, जाडोले कठाङ्घिएर काप्तै गरेको शरीर र पत्रिकासँगै करेन्ट सर्ने उसको हातमा चिसोपनाको डिग्री । साक्षरहिन आँखा भएपनि अरुलाई पढ्न अनुरोधको कर्तव्यबोध गर्छे । यसैले ऊ जुन पत्रिकालाई पनि समाचार पत्र भनिदिन्छे ।
परिवारको तिरस्कार अत्याचार कस्तो हुन्छ ? अचानालाई पो थाहा हुन्छ । यसैले आफ्नो स्वाभिमानको अस्तित्व बचाउन आमा मुस्किलले फुटपाथमा पसल थापेर आफ्नो लाजगाल टार्छे र टाउको लुकाउने अपरिहार्यतालाई घरबाट निकाली चिसो र फोहोर छिंडी भए पनि डेरा सम्मुख पुर्याउँछे । दिन बित्तै जाँदा एक दिन आफन्तको जालो बुन्दै सहारा र ममता खन्याउने मामा भनाउँदाहरुले बेपत्ता बनाईदिन्छन् । समाचारपत्रहरुमा खबर बनाइन्छ तर ती अवोध बालिकालाई के थाहा ? -आमा मरिसकी भनेर । ऊ सम्झिन्छे – आमा मावल गएकी छ ।
यसैले ऊ भनिरहेकी छे – एउटा निरिह महिलामाथि अत्याचार, लौ पढ्नुस्, पढ्नुस् आजको “समाचारपत्र” पुलमुनि महिलाको लाश ।
म नियाल्दै गरेको हुन्छु – कठै ! संसारबाटै एक्ली, आफ्नो अस्तित्वको लागि, आज आमाको मृत्यु बनेको छ,उसको लागि खबर, पेट भर्ने उसको जीवनाधार ।