मेरो छोरी जस्तै बुहारी...... !
पीएनएम सफर, कैलाली, २५ माघ -
हाम्रो समाज कहाँ, कहिले र कसरी परिवर्तन भयो, कसैले बुझ्न सकेन । रूढिवादी परम्परा, पुरानै मान्यता, न कहिले परिवर्तन थियो न हुनेछ, एक बुहारीको नजरमा । एक बुहारी जब पराईको घर अँगाल्न पुग्छिन् उसले हजारौँ आफ्ना सपना, इच्छा चाहाना सबै पन्छाउने गर्छिन्, हजारौँ कुरासँग सङ्घर्ष गर्नु पनि यत्तिसम्मकी म यो घरको सदस्य हु भनेर नै सङ्घर्ष गर्नु पर्ने । छोरी हुँदा जति सहज हुन्छ बुहारी भएपछि त्यति नै कठिन हुन्छ । सासूको नजरमा बुहारी एक दास र छोरो को सम्पत्ति खान आएकी अर्काकी छोरी त्यो भन्दा तल्लो लेबल छैन बुहारीको आखिर कहिले परिवर्तन हुन्छ हाम्रो मन ? कहिले परिवर्तन हुन्छ हाम्रो समाज ?
अचम्म लाग्छ अर्काकी छोरी भनेर बुहारीको उपमा देख्दा आखिर किन बुहारी जसको घरबाट आएकी भए पनि देन त सासू ससुराको श्रीमानकै घरकै छ नि हैन र ? पल्लो घरकी फलानीकी सासूले मलाई अहो ! कति काम गर्ने बुहारी पाएकी फलानीले, कति राम्री कति ज्ञानी भन्ने, आफ्नो घरकी बुहारीको खेदो खन्ने अनि मेरो घरकी सासूले फलानीलाई राम्री देख्ने ज्ञानी देख्ने सबै थोक अर्कोको बुहारीमा देख्ने आफ्नो बुहारी बेकामको देख्ने अचम्म छ । अझ फलानी घरमा आउँदा त मेरो बुहारी त मेरो छोरी जस्तै हुन् ..उफ् नाटक कति सकेका होलान् ? बरु बुहारीलाई बुहारीकै नाउमा माया गर, छोरीलाई छोरीकै नाउमा माया गर । एक बुहारीले छोरीको दर्जा कहिल्यै पनि पाउँदिन चाहे उसले प्राण नै किन न त्यागोस् । रहन देऊ बुहारीलाई बुहारीकै ठाउँमा, माया गर्नलाई छोरी भन्न जरुरी छैन । बुहारीलाई बुहारीको माया दिन सकिन्छ । बुहारी पनि मान्छे हो मेसिन होइन । थकाई लाग्छ होला, भोक लाग्छ होला, गाह्रो हुन्छ होला, मनमा कहिलेकाहीँ तगारो आउँछ होला, सोचे हुँदैन ? कहिले बुहारीको तारिफ गरे हुँदैन ? कहिले बुहारीलाई एक कप चिया पकाएर खुवाउन सकिँदैन ? कुरा काट्दै हिँड्नुको सट्टा कहिलेकाहीँ अरूसँग प्रशंसा गरे हुँदैन.....?
एउटा बुहारी बिहान ५ बजे देखि रातिको दश बजेसम्म दौडिरहन्छ । छोरा छोरीको दिसा पिसाब, सासू ससुराको दिनभरिको टहल, श्रीमानका नाना थरी अपमान, तर पनि यो कातर समाजले कहिले पनि बुहारीलाई बुहारी रहन दिएन । कसैले छोरा खोसेर लगी भन्ने आरोप खेपिन, कसैले अलच्छिना, कसैले दाइजोको निहुँमा ज्यान फालिन, आखिर किन किन ? समाज बद्लिन त म बद्लिनु पर्छ । तर म कहाँ बद्लिएर ? हो नि बुहारी हुनलाई जति सजिलो छ त्यति बुहारी बनेर अरूको मन बुझाउन गाह्रो रहेछ । पसिना जिउमा आए जिउ गनाउनु पर्छ । यहाँ त समाज गनाउँछ । एक बुहारीको जीवन धुलो सरि देख्ने सासू छोरीको लागि भने प्राण त्याग्नसम्म पछि पर्दिनन् । छोरीलाई चाहिँ ज्वाइँले महलमा राखेर रानी बनाओस् तर बुहारीको लागि छोराले एक सिन्को नभाँच्देओस् । बुहारीको जीवन नर्क होस्, छोरीको जीवन स्वर्ग होस्, तर सासूले त्यो कुरा बिर्सनुभएन आफ्नो छोरी पनि अर्कैकी बुहारी हो । मानसिकता बदलौँ, भावना आफै परिवर्तन हुन्छ, छोरीको स्थानमा बुहारीलाई राखेर माया गर्न सक्नु हुन्न भने अर्काकी छोरीको अपमान पनि गर्नु भएन । होलान् कोही बुहारीले छोरीको माया पाएको अनि कोही सासूले आमाको माया पाएको तर विरलै होला बुहारी र सासू आमा छोरी भएको...। माया गर्नलाई आमा छोरी नै हुन जरुरी छैन सासू बुहारी भएर नै अथाह माया गर्न सकिन्छ ।
छोरी र बुहारीको मान र समानता बराबरी, छोरी र बुहारीको औपचारिकता बराबरी, शिक्षा दीक्षा बराबरी हक अधिकार बराबरी अनि बुहारी चाहिँ कसरी तपाईँको घरको मात्र बुहारी भइन् ?