नेपाल–भारत सीमामा तारबार लगाउनै पर्छ ः सांसद तामाङ
जेठ ३० , धनगढी ः
सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य ताला लामा तामाङले नेपाल–भारतको सीमा क्षेत्रमा तारबार लगाउनपर्ने बताएका छन् । प्रदेश सभाको आठौँ अधिवेशनको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै यस्तो बताएका हुन् ।
‘अहिले पनि हुलाकी सडकमा काम गर्दा भारतीय सुरक्षाकर्मी आएर डराउने र धम्काउने काम गर्दै आएका छन्,’ तामाङले भने, ‘कञ्चनपुरदेखि दार्चुलासम्म कतै पनि सीमा व्यवस्थित नभएको हुँदा ठूलो बजेट लगानी गरेर संरचना निर्माण गर्न नसके पनि तारबार त गर्नैपर्छ ।’ तारबार गर्दैमा भारतसँग नराम्रो व्यवहार नहुने उनको भनाइ छ ।
‘तपाईं हामी सधैसँगै बस्ने दाई–भाई छुट्दा त घरमा पर्खाल लगाउँछौ । राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम उठाउनैपर्छ,’ तामाङले भने । उनले नेपाल–भारत हुने आवत–जावत व्यवस्थित बनाउन पनि सीमामा तारबार आवश्यक रहेको बताए । तामाङ कञ्चनपुरबाट निर्वाचित सासंद हुन् । अहिले पनि हुलाकी राजमार्गको निर्माणमा भारतीय पक्षले अवरोध गरिरहेको छ ।