मेयर धनगढी प्याब्सन कप सुरु : ऐश्वर्या विद्या निकेतन र ग्ली एकेडेमीको विजयी सुरुवात
धनगढी, २७ फागुन - मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उद्घाटन गरेका हुन् । प्रदेश प्रहरीको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत आज भएका दुई खेलमा ऐश्वर्या विद्या निकेतन र ग्ली एकेडेमी विजयी भएका छन् ।
आजको पहिलो खेलमा ऐश्वर्याले शारदा विद्या निकेतनलाई ७ रनले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको ऐश्वर्याले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १ सय १७ रन बनायो । १ सय १८ रनको विजयी लक्ष पछ्याएको शारदाले १५ ओभरमा ९ विकेट गुमाएर १ सय १० रन मात्रै बनाउन सक्यो । शारदाका लागि गोविन्द विष्टले ३८ रन बनाए । ऐश्वर्याका सुरेन्द्र धामीले ४ विकेट लिए ।
त्यस अघि ऐश्वर्याका स्वप्निल कडायतले ३९ रन बनाए । बलिङ तर्फ शारदाका नरेन्द्र मनराले ३ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सुरेन्द्र धामी भए ।
आजै भएको दोस्रो खेलमा ग्ली एकेडेमीले फारवेष्ट इङ्लिस बोर्डिङ स्कुललाई ६२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ग्ली एकेडेमीले निर्धारित १५ ओभरमा १ सय ३२ रन बनाएको थियो । १ सय ३३ रनको विजयी लक्ष पछ्याएको फारवेष्टले १५ ओभरमा ९ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । उसका तुषार बोहराले १९ र कपिल शाहीले ११ रन बनाए । ग्ली एकेडेमीको ब्याटिङमा अडिएन कुँवरले २४ र योगेश शाहीले २२ रन बनाए ।
धनगढी प्याब्सनको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैंया पाउनेछ ।
प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहने भएको छ ।