कैलालीमा प्रहरीकाे थुनाबाट एक जना हतकडी सहित फरार
धनगढी, १९ जेठ/ईलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडी सहित फरार भएको छ । जेठ १८ गते मेडिकललका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ बर्षिय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका छन् ।
जेठ १४मा घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्यामा पक्राउ गरी थुनामा राखेको थियो । दुबैजनालाई मेडिकल जाँचका लागि स्थानीय अस्पताल घोडाघोडीबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद जोशीले जानकारी दिए ।
दुबैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरुलाई मेडिकलका लागि लगिएको थियो । ‘दुबै जनालाई एक हतकडी लगाएको थियो’ प्रहरी नायव उपरिक्षक जोशीले भने–‘प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडी सहित भगेका हुन् ।’ दुबै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भैरहेको थियो । अहिले फरार भएका थुनुवाई खोजिका लागि जिल्ला र ईलाकाको टोली खटिएको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिए ।