"बुढेसकाल"
आँखाको गति शून्यझैँ हुन गयो,बाढी पस्यो दाँतमा ।
जिब्रो स्वाद विहीन बन्दछ अझैँ,चिन्ता बढ्यो आँतमा ।।
खुट्टाको भरछैन हिड्न नसकी,लौरो सहारा भयो ।
व्यर्थैमा कति तड्पिँदै बहकिँदै,यो जिन्दगानी गयो ।।
निन्द्रा छैन परन्तु सुत्नु कसरी,स्वप्ना हजारौँ थिए ।
पानी प्यास र रोग भोक अब ता,कुण्ठा बनी अल्झिए ।।
छाती दुख्छ चसक्क कम्मर लुलो,गाँठा दुखेका क्षण ।
काँप्छन् हात सहास छैन तनमा,को गर्छ खै रक्षण ।।
बोली मत्थर भो सुके रहरका,जो कल्पना आशमा ।
घाँटीले जल खोज्छ पाउँछ कहाँ,सङ्कष्ट भो श्वासमा ।।
खोकी लाग्छ सिँगान -याल मुखमा,धारा बनी झर्दछन् ।
हेप्छन् नाति पनाति नित्य घरमा,छी छी खुबै गर्दछन् ।।
थाहै हुन्न दिशा पिसाब रहझैँ,पीडा बडो बन्दछ ।
धोई दिन्छु पखाल्छु बेर्छु कपडा,कस्ले यहाँ भन्दछ ?
भन्छन् बोझ भयो तनाव भरियो,छोरा बुहारी पनि ।
बाँच्नै पर्छ सकिन्न मर्न सजिलै, हेलाँ सबैको बनी ।।
पैले ताकतिलो उमेर रहँदा,साह्रो जवानी हुँदा ।
हुन्थे साथ सबै भुलौँ र कसरी,आँखा भिजे सम्झिँदा ।।
यो संसार विचित्र बन्छ सबको,यस्तै न हो झुक्कल ।
आयो आज बुढेसकाल अब ता,चिन्ता बढ्यो केवल ।।