भारतको पन्जाबबाट एक करोड बढीको सुन चोरी, कैलालीमा तीन जना पक्राउ
कैलाली - बुधवार सुन चोरीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिल्मी शैलीमा पक्राउ परेका धनगढीका सुनचाँदी व्यवसायी सन्तोष लामिछाने माथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनलाई काठमाडौँबाट कैलाली ल्याएर प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीमाथिको अनुसन्धानले प्रहरी सामु यो चारी प्रकरणका थप तथ्यहरू खुल्दै गएका छन् ।
बुधवार मुम्बई उड्न लागेका सन्तोष र उनकी श्रीमतीलाई प्रहरीले उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाज होल्ड गरेर पक्राउ गरेको थियो । उनीपछि सोही प्रकरणमा जोडिएको आरोपमा थप तीन जना पक्राउ परेका छन् । सुदूरपश्चिम सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष समेत रहेका लामिछाने भारतको पन्जाबमा भएको सुन चोरीमा संलग्न रहेको प्रहरीको आशङ्का छ । उक्त चोरी प्रकरणमा उनीहरूले एक करोड भन्दा बढी रकम बराबरको सुन चोरेको कैलाली प्रहरीको आरोप छ । उक्त प्रकरणसँग जोडिएका धनगढीका थप तीन जना पक्राउ परेका छन् । प्रहरीले लामिछाने पक्राउ प्रकरणको सोधपुछ र अनुसन्धानका लागि थप तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरू विरुद्ध करिब डेढ महिना अघि भारतीय दूतावास मार्फत एक करोड बढीको सुन चोरीको आरोपमा उजुरी आएको छ । यो प्रकरणमा प्रहरीको विशेष अनुसन्धान ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोका टोलीहरू समेत परिचालित छन् । प्रहरीले पक्राउ परेका व्यक्ति हरूका साथबाट केही सुनका गरगहना र नगद पनि बरामद गरेको छ । लामिछानेमाथि भने ठगीको कसुरमा समेत जाहेरी परेकोले त्यसमा पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । उनले धनगढी उपमहानगरपालिका–२ मा सौगात सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।