टीकापुर हत्याकाण्डको आठ वर्ष पूरा, स्व.बालकको सालिक स्थापना
धनगढी,०७ भदौ । टीकापुर हत्याकाण्ड भएको आज ठिक आठ वर्ष पूरा भएको छ। आजकै दिन अर्थात् २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झपड भएको ठिक आठ वर्ष पूरा भएको छ।
टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झपडमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो। संविधान निर्माण चलिरहेका बेला सुदूपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको नाममा आन्दोलन चर्किरहेको थियो। अर्कातिर त्यहाँका थारु समुदायले सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर मिलाएर थरुहट प्रदेश बनाउन भन्दै आन्दोलन चर्काएका थिए।
आन्दोलन चलिरहेका बेला थारु समुदायले कैलालीको टीकापुरस्थित सरकारी कार्यालयमा थारुवान प्रदेशको बोर्ड टाँस्न खोजेका थिए। सरकारी कार्यालयमा थारुवानको बोर्ड टाँस्न थारु समुदायका आन्दोलनकारीहरु टीकापुर पस्न खोजेको जानकारीका आधारमा सेती अञ्चल प्रहरी कार्यालयका तत्कालीन एसएसपी लक्ष्मण न्यौपानेसहितको टोली सुरक्षाका लागि तैनाथ भएको थियो। तर सशस्त्र प्रहरीसँगको समन्वय अभावमा आन्दोलनकारीको भिडलाई प्रहरीले रोक्न सकेन। प्रहरीले रोक्न नसकेपछि थारु समुदायको उत्तेजित भिडले प्रहरीमाथि आक्रमण गरेको थियो। आक्रोशित आन्दोलनकारीले प्रहरीको टोलीमाथि तरबार, भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए।
त्यही क्रममा बोर्ड टाँस्न खोज्ने थारु समुदाय र अखण्ड सुदूरपश्चिम पक्षधरबीच तनाव चुलिइरहेका बेला २०७२ साल भदौ ७ गते टीकापुरमा एसएसपी न्यौपानेसहित आठजना र एकजना दुधे बालक टेकबहादुर साउँदको गोली लागेर मृत्यु भएको थियो।उनको आज सालिक अनावरण गरिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी टेक बहादुर साउँद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा स्थापना गरिएको टेकबहादुरको सालिक अनावरण गरिएको हो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरी, टेक बहादुर साउँदका बाजे जङ्ग साउँद र बुवा आमाले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।
सालिक अनावरणपछि रेशमले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउँद आफ्नो पनि बच्चा रहेको बताएका छन्। स्व। साउँदको सालिक अनावरण कार्यक्रममा साउँदका बुवा नेत्र साउँदसँग अङ्कमाल गर्दै पूर्व प्रतिनिधि सभा सदस्य समेत रहेका चौधरीले आफूहरूको भावनामाथि खेल्ने प्रयास भइरहेको बताएका छन।उनले नेत्र साउँद र म दाइ भाइ हो उनले भने, उहाँको बच्चा मेरो पनि बच्चा हो। हाम्रो भावनामाथि खेल्ने प्रयास हुँदै छ। मलाई जबरजस्त हत्याराको रूपमा उभ्याउन खोजियो। तर, उहाँहरुले मलाई र टीकापुरलाई बुझ्नुभएको छ।
उहाँहरूकै आर्सीवाद र सद्भावले म माननीय पनि भए। मैले सालिक बनाउँदै गर्दामा पनि धेरैले भनेछन्, सालिक ल्याउन नलगाउनुस्। त्यस्तै, उनले टीकापुरमा टाढाबाट ढुङ्गा हानेर सद्भाव खलबल्याउने काम समेत भइरहेको आरोप लगाएका छन्। उनले टीकापुरमा भाद्र ७ गते दुभाग्र्यपूर्ण घटना भएको बताए। अधिकार प्राप्तिको लागि अखण्ड र थरुहट आन्दोलन भएको बताए। संयोगले अखण्ड सुदूरपश्चिमको माग सम्बोधन भयो। असन्तुष्ट थरुहट आन्दोलनकारीभित्र आगोको झिल्कोमा अरूले खाना पकाउने कार्य गरेको चौधरीको भनाई छ। उनले आफू टीकापुरको विकास र समृद्धि मात्रै चाहेको बताउँदै टीकापुरलाई टीकापुर बनाउनमा आफ्नो पनि लगानी रहेको उनले भनाई राखेका छन्।