अछाममा बाली जोगाउन खेतमै बास

September 15, 10:25

अछाम, भदौ २९ । ढकारी गाउँपालिका–८, घोडासैनका दुर्गा जैसी मकैबारीमा रात बिताउन लागेको एक महिना बित्यो तर दुःख गरी लगाएको मकै पाक्ने बेलामा बँदेलबाट बचाउन सक्नुभएको छैन। 

“गडा (गह्रा) का धार (छेउ) मा पाल हालेर रातभर बस्न लाग्याका एक महिना भयो, त्यै पनि बँदेलले केही राखेन” जैसीले भन्नुभयो, “बारीमा मकै पाक्न थालेपछि बँदेलको बथान नै आउने थालेको छ।” घोडासैन अर्का किसान पुस्कर उपाध्यायले बारीकै छेउमा बसेर हुलमा आउने बँदेल धपाउन नसकेकोमा ठुलो चिन्ता छ। “दिउँसो बाँदर, राति बँदेल। लगाएको खेती त जङ्गली जनावारको आहारा बन्यो,  हामी त त्यसै मर्ने भयौँ,” पुस्करले भन्नुभयो। 

मकैबारी जोगाउन कृषक बारीमै रात कटाउन थालेका छन् तर पनि, जोगाउनै मुस्किल भएको गुनासो उहाँहरूको छ। निकै मेहनत गरेर लाएको खेतीमा जनावरले खान थालेपछि रातभर त्रिपालको बास हुन्छ। हुलका हुल बँदेल र बाँदर आउने भएपछि धपाउँदा धपाउँदैमा समय बित्ने गरेको छ। अन्न बालीनालीसँगै केही दिन यता चितुवाले बाख्रा, गोरुसमेत मार्न थालेको स्थानीय कृष्ण देवकोटाले जानकारी दिनुभयो। 

खेतबारीको छेउतिर त्रिपाल र खाँबा हालेर अस्थायी खर्क बनाएर बसे पनि हुलमा आउने बँदेल र बाँदरबाट खेतीपाती बचाउन नसकेको कृषकको भनाइ छ। मङ्गलसेन नगरपालिका–७, जनालीरवामा पाक्नै लागेको धान बँदेलले सखाप पारेको वडाध्यक्ष राजबहादुर शाहीले बताउनुभयो। 

सदरमुकाम मङ्गलसेन, ढकारी, रामारोशन, साँफेबगरलगायत क्षेत्रमा बँदेल र बाँदरले खेती नष्ट गर्न थालेको छ। पीडित कृषकहरूले राहत रकमभन्दा आफूहरूलाई खेतगरामा जाली वा काँडेतारको माग गरेका छन्। 

कृषकले जङ्गली जनावरबाट आफ्नो खेती जोगाउन स्थायी उपायका लागि तीनै तहका सरकारसँग आग्रह गरेका छन्। बालीनाली जोगिने उपाय नभएमा आफूहरू अन्यत्रै बसाइ सरेर जानुपर्ने बाध्यता आइलागेको दुर्गा जैसीको भनाइ छ। 

जङ्गली जनावरले पाक्नै लागेको खेती नष्ट गरेको गुनासोसहित डिभिजन वन कार्यालय अछाममा ११८ जनाको निवेदन परेको छ। यसरी खेतबारी जोगाउन गएकालाई जङ्गली जनावरले आक्रमण गरी घाइते बनाउने गरेको छ। 

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु र दुई जना घाइते भएको फरेस्टर झपटसिंह धामीले जानकारी दिनुभयो। जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएमा १० लाख, घाइतेको उपचारमा १० हजार राहत पाइने धामीको भनाइ छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा