रामारोशनमा पर्यटक अलपत्र, अन्तर्राष्ट्रिय सम्मेलनबारे सरकार अनभिज्ञ

September 18, 12:41

अछाम,१ असोज  । अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र जाने पर्यटक हुलका हुल भित्रिँदै छन् तर त्यस्तो सम्मेलनबारे कुनै पनि तहका सरकारलाई जानकारी छैन। कतिपय पर्यटक अछामका विभिन्न स्थानमा अलपत्र परेका छन्। 

सरकारको इजाजतबिना नै सम्मेलनमा सहभागी हुन ठुलो सङ्ख्यामा अछाम पुगेका पर्यटक कोही जिल्लाको प्रवेश नाकामा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्।

भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका पर्यटक के कस्तो सम्मेलनमा सहभागी हुन आएका हुन् भन्नेबारे प्रस्ट भएको छैन। 

स्थानीय प्रशासन र स्थानीय तहलाई समेत सम्मेलनबारे जानकारी नभएपछि स्थानीय प्रशासनले सङ्घीय गृह मन्त्रालयमा सोधेको थियो। त्यसरी सोध्दै गर्दा स्थानीय प्रशासनले केही पर्यटकलाई अछाम प्रवेश गर्ने नाकामै रोक लगाएको थियो। तीन दिनदेखि पर्यटक अलपत्र परेको सूचना प्राप्त भएपछि गृह मन्त्रालयका सूचना अघिकारी उमाकान्त अधिकारीले रामारोशनमा सम्मेलन गर्न कुनै निकायबाट अनुमति लिए नलिएको, कार्यक्रमको प्रकार, कार्यक्रम सञ्चालनको अवधि र सुरक्षा चुनौतीबारे बुझ्न मन्त्रालयले निर्देशन दिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “कुनै एक व्यक्तिले आह्वान गरेको भरमा पर्यटक त्यहाँ पुगेको सूचना आएको छ। सम्मेलनको प्रकृति, उद्देश्य र वैधानिकता प्रस्ट नभएकाले आयोजकबारे समेत स्पष्ट बुझ्न मन्त्रालयले निर्देशन दिएको छ।” आयोजक को हो ? सम्मेलन कहिलेसम्म सञ्चालन हुने र सुरक्षा चुनौतीबारे बुझ्न निर्देशन जारी भएकाले यसबारे थप अनुसन्धानपछि मात्रै त्यहाँ कार्यक्रम गर्न दिने/नदिनेबारे टुङ्गो लाग्ने उहाँले बताउनुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत यति ठुलो सङ्ख्यामा पर्यटक के कति कारणले रामारोसन पुगे भन्नेबारे जानकारीमा नआएको बताएको छ। विभिन्न देशबाट दुई हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा जयगढ बजारमा रोकिएका छन्।

अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सम्मेलनका विषयमा आवश्यक सोधपुछपछि गृह मन्त्रालयलाई पत्रचार गरिएको बताउनुभयो। मन्त्रालयको निर्देशनपछि आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी उहाँले दिनुभयो। 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय तहको सिफारिस अनुसार सम्मेलनका लागि काम गरिदिन भनी मौखिक जवाफ दिनुभएको बताइएको छ। उक्त सम्मेलन तथा विदेशीले महिनौँसम्म गर्ने कार्यक्रम कसरी गर्ने ? को को सहभागी हुने भन्ने सम्बन्धमा सरकारी निकायसँग विस्तृत विवरण छैन। 

स्थानीय प्रशासनले रामारोशनमा आयोजना गर्ने भनिएको बृहत् सम्मेलनको विस्तृत विवरण मागेपछि समस्या आएको हो। उक्त सम्मेलनको विषयमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आधिकारिक जानकारी नआएको बताइएको छ। 

अछाम प्रदेशनाका चौखुट्टेमा रोकिएका एक सयभन्दा बढी विदेशी नागरिक तीन दिनदेखि त्रिपालमा बसिरहेका छन्। माथिबाट अनुमति आउने भन्दै प्रहरीको सुरक्षामा विदेशी नागरिक तीन दिनदेखि त्रिपालमा बसिरहेको चौरपाटी गाउँपालिका–६ का वडा सदस्य भानसिंह साउदले जानकारी दिनुभयो। यस्तै अछाम प्रवेशको पूर्वीनाका बेलखेतमा तीन दिन बसेर १६ जना विदेशी पर्यटक शनिबार फर्किइसकेका छन्। माथिको आदेश भन्दै प्रहरीले जिल्ला प्रवेश गर्न नदिएपछि उनीहरू फर्केका हुन्। 

रामारोशन पुगेकामध्ये ४९ जनाको विवरण सङ्कलन गरिएको रामारोशन पुग्नुभएका अछाम प्रहरीका निरीक्षक राजेन्द्र साउदले भन्नुभयो। “विदेशीलाई सुरक्षा दिनेसँगै पासपोर्ट, भिसा मितिलगायत हेरिरहेका छौँ।” अधिकांश भारतबाट नेपालका बनवासा, सुनौली, रुपैडिहालगायतका नाका हुँदै नेपाल आएर रामारोशन पुगेको बताइएको छ। 

विदेशीलाई रामारोशनमा पुग्न सहयोग गरिरहेका नेपाली सुजन खनालका अनुसार चीन, अफगानिस्तान र साउदी अरबबाहेकका लगभग सबै देशका नागरिक रामारोशन पुग्ने भए पनि उनीहरूले रमाइलो मात्रै गर्ने दाबी गर्नुभयो। -गोरखापत्र  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा