मर्मत सम्भारको अभावमा जीर्ण बन्दै कर्णाली पुल
कैलाली। कैलाली जिल्ला र बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई जोड्ने कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ। कैलालीको टीकापुर नगरपालीका ८ स्थित कर्णाली नदीमा रहेको उक्त पुल मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको हो।
रू ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो पुलको पूर्वपट्टिको किनारमा कटान र पहिरोको जोखिमका कारण जीर्ण बन्दै गएको स्थानियले बताएका छन् । कर्णाली पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ। पुलदेखी नजिकैको पहाड भाँसिएको र पुल थप जोखिममा परेको स्थानिय दिपेश चौधरीले बताए।
पटक पटक बर्षातको बेला पुलको पूर्वपट्टि बर्दियाको राजापुर नगरपालिकातर्फ पानीको धार बगेकाले पुल थप जोखिम पर्दै आएको छ। पुलको पूर्वतर्फको पिलरसँगै अहिले तारजाली भाँसिदै गएको छ । विगत केही वर्ष यता सो पहाडमा स–सानो पहिरो जाने गरेको भएपनी यस वर्षको वर्षायाममा भने पहाड नै भाँसिएको थियो।पहाड नजिक रहेको उक्त पहिरोले पुलको जमिनमुनिको भागलाई भत्काएर लैजाने सम्भावना बढाएको छ। जस्ले गर्दा पुल झन् जोखिममा परेको हो। पुल नजिकैको पहाड भासिएको बारेमा संरक्षणको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय बाँकेले अनभिज्ञता जनाएको छ।
कार्यालय प्रमुख निरजशाक्यले पहिरोको बारेमा कुनै जानकारी नभएको बताए।उनले कार्यालयको क्षेत्राधिकार भित्र पुलको मर्मत सम्भार मात्रै रहेको र पहिरो गएको बारेमा अहिलेसम्म जानकारी नभएकोले अब हेर्ने बताए ।
पहाड भाँसिएको ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने भएकाले अहिलेसम्म कसैले पनि पहिरोको स्थलगत अध्ययन नगरेको पाइएको छ। पहिरो गएको ठाउँमा जानका लागि निकुञ्जको अनुमति लिनुपर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताए।
उनले पहिरो गएको बारेमा निकुञ्जलाई जानकारी रहेको बताए। उनले पुल र पहिरोबिचको दूरी टाढा रहेकाले तत्काल खासै फरक नपार्ने जवाफ दिए। पर्यटकीय हिसाबले समेत महत्त्वपूर्ण चिसापानीस्थितको पुल बेवारिसे अवस्थामा छ। सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका कर्मचारी र सुरक्षाकर्मी हटाएको थियो। दिनहुँ सयौँको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन्। दशैंतिहार, नयाँ वर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौँ पुग्छ। दिनहुँ सयौँको संख्यामा सवारी साधनओहोर दोहोर गर्छन्।
पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे। उनीहरुले सर्वसाधारणलाई पुलमाथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे। २०४९ सालमा निर्माण भएको पुल निर्माण भए पश्चात् अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार समेत हुन सकेको छैन। यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको थियो । एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालीन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भूभागसँग जोडेको थियो। त्यसअघि नदी पार गर्न फेरी (डोरीको सहायताले वारपार गर्ने)चढ्नु पर्थ्यो। सवारी साधन लगायत फेरी मार्फत वार पार गर्थे। रसुवा कन्ट्रक्सनले विसं २०७१ मा निर्माण सम्पन्न गरेको पुल भासिँदै जाँदा कम्पनीले वर्षेनी वर्षात्मा मर्मत भन्दै तारजाली हाल्दै आएको छ। वर्षेनी पुल छेउमा तारजाली भासिँदै जाँदा मर्मतमा धेरै रकम खर्च भएको छ ।