भोली सार्वजनिक बिदा छैन !
धनगढी । सरकारले यो वर्ष पनि शहीद दिवसमा सार्वजनिक बिदा नदिने भएको छ । शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधेपछि गृह मन्त्रालयले यसबारे प्रतिक्रिया दिएको हो ।
विगतका वर्षमा शहीद दिवसमा सार्वजनिक बिदा नदिने गरिए पनि सरकारले अर्को वर्ष २०८१ मा भने बिदा दिने निर्णय गरिसकेको छ ।
मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिइएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ । तर, अर्को वर्ष भने बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।’
उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत खुल्ने र सेवा प्रवाह हुनेछ ।
‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई पनि बिदा दिइएको छैन ।’