मासिने क्रममा घोडाघोडी क्षेत्रको जैविक विविधता
घोडाघोडी । घोडाघोडी ताल क्षेत्रमा पहिले देखिएका चराहरू अहिले देखिन छाडेका छन् । नकटा हाँस देखिन छाडेको त वर्षौँ भइसक्यो । विश्वव्यापी महत्त्वको सिमसार सूचीमा रहेको घोडाघोडी क्षेत्रका २४ वटा प्राकृत तालहरूमध्ये सात वटा सुकेर चौरमा परिणत भएका छन् । बाँकी रहेका तालमा पानीको सतह घट्दो छ । चुरे दोहन, वन फडानी एवं माछाको अवैध सिकारलगायत कारणले घोडाघोडीको जैविक विविधता मासिँदै छ । बेला बेलामा संरक्षणका योजनाहरू बने, नीतिहरूको घोषणा भयो तर प्रभावकारी कार्यान्वयन नहुँदा ताल क्षेत्रको सङ्कट गहिरिँदो छ ।
जुलोजिकल सोसाइटी लन्डनका नेपाल कन्ट्री म्यानेजर तथा चरा विशेषज्ञ डा. हेमसागर बरालले सुरुमा घोडाघोडी घुम्दा देखिएका चराहरू अहिले देखिन छाडेको बताउनुभयो । “तराईमा पाइने चार प्रजातिका हाँसमध्ये सबैभन्दा ठुलो नकटा हाँस घोडाघोडीमा नदेखेको वर्षौँ भयो,” उहाँले भन्नुभयो ।
ताल क्षेत्रको संरक्षणमा दुई दशकदेखि सक्रिय रहेका स्थानीय संस्था चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीका अनुसार, चरा नै घोडाघोडी ताल क्षेत्रको मुख्य आकर्षण हो तर जलाधार क्षेत्र नै सुक्दै गएपछि जैविक विविधतामा ह्रास आएसँगै पानीमा रमाउने चरा पनि सङ्कटमा परेका छन् ।
“सिमसारका दुई मुख्य विशेषता पानी र जमिन सँगसँगै हुनु हो,” वातावरणविद् तिलक ढकालका अनुसार सिमसार क्षेत्रमा किसिम किसिमका जीवजन्तु तथा वनस्पति छन् । तिनीहरूको अस्तित्व बचाइराख्न जैविक विविधताको संरक्षण आवश्यक छ ।
सिमसार क्षेत्रलाई विश्वकै सबैभन्दा बढी उत्पादनशील पारिस्थितिकीय प्रणाली मानिन्छ । ‘प्रकृतिको मिर्गौला’ मानिने सिमसारमा निरन्तर जल परिचालन र शुद्धीकरण प्रक्रिया चलिरहन्छ । सम्पूर्ण मानव, अन्य प्राणी एवं वनस्पति जगत्को अस्तित्व जोगाउने आधार भएकाले सिमसारलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रूपमा हेर्नुपर्ने चराविद् डा.बराल बताउनुहुन्छ ।
सिमसार क्षेत्रहरूमा दुर्लभ चराचुरुङ्गीको पनि वासस्थान मानिन्छ । राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार, नेपालको तराईका सिमसार क्षेत्रहरूमा मात्रै ३२ प्रजातिका स्तनधारी जनावर, ४६१ प्रजातिका चरा (जसमध्ये १५ प्रजाति दुर्लभ श्रेणीका), ९ प्रजातिका कछुवा, २० प्रजातिका सर्प र २८ प्रजातिका माछा पाइन्छन् ।
घोडाघोडी तालमा सूचक प्रजातिको रूपमा रहेको हरिहाँस र बगाले सिमकुखुराले सन् २०१५ देखि बच्चा कोरल्दै आए पनि ताल भने सुक्दै गएको छ । यसरी तिनीहरूलाई चाहिने वासस्थानको क्षेत्र घट्दै गएर नकारात्मक असर पर्न थालेको छ ।
घोडाघोडीमा पाइने विभिन्न जैविक विविधतामध्ये चराका लागि यो क्षेत्र निकै महत्त्वपूर्ण मानिएको छ ।यहाँ ३८० प्रजातिका चार पाइने अभिलेखमा उल्लेख गरिएको छ ।
तर यहाँ पाइने चराहरूमध्ये २८ प्रजातिका राष्ट्रिय स्तरमै लोपोन्मुख खतरा, दुई प्रजातिका अतिखतरा र ४१ प्रजातिका सामान्य खतरामा छन् । नेपाल पक्षी संरक्षण सङ्घ कैलालीका सहायक फिल्ड अधिकृत हिरुलाल डगौराले कैलो टाउके हाँस, खोले हुट्टिट्याउँ, सुनौलो तोपचरा, कालो खैरो गिद्ध, सेतो गिद्ध, कुरारी फ्यालफ्याले, माछाकुललगायतका चरा लोप हुने खतरा बढेको बताउनुभयो ।
जङ्गल अतिक्रमण, चरिचरन, जङ्गल फडानी, चोरी सिकारलगायतका गतिविधिले चराको वासस्थान नै असुरक्षित भई चराहरू लोप हुने खतरा रहेको डगौराले बताउनुभयो । हिउँदको समयमा साइबेरियन चराको आगमनले घोडाघोडी ताल क्षेत्र निकै रमणीय देखिन्छ । डंगौराले भन्नुभयो, “पाहुना चराको सङ्ख्या पनि विगतको तुलनामा कम हुँदै गएको छ ।”
‘सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन गरी सिमसारजन्य स्रोतको दिगो तथा बुद्धिमत्तापूर्ण उपयोग गर्ने’ लक्ष्य राखेर ‘राष्ट्रिय सिमसार नीति, २०६९’ को घोषणा भएको डा. बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ सिमसार क्षेत्रमा हुने गतिविधि सिमसार नीति अनुरूप छैनन्, पानीको दोहन, जलचरको दोहन, नदीजन्य पदार्थको दोहन भएका छन् जसको असर सिमसार क्षेत्रमा देखिँदै गएको छ ।”
सिमसार नीति बने पनि ऐन बन्न नसकेको औँल्याउँदै चराविद् बरालले भन्नुभयो “सरकारले सिमसार ऐन ल्याउनुपर्छ ।” सिमसार क्षेत्र सङ्घीय सरकार अन्तर्गत परे पनि प्रदेश,स्थानीय सरकारसँग समन्वय गरेर संरक्षणका कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने वातावरणविद्हरूको सुझाव छ ।