कैलालीमा सिमसारको चरम दोहन

February 02, 12:25

धनगढी । पृथ्वी, मानव, जलचर जीव तथा वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र मासिँदै गएको छ । मानवद्वारा भइरहेको चरम दोहनका कारण सिमसार क्षेत्र मासिँदै गएको हो । 

राज्यका निकायबाटै पनि सिमसार मास्ने कार्यमा हस्तक्षेप बढेको बताइएको छ । स्थानीय तहले राजस्व आम्दानीका नाममा प्राकृतिक ताल धमाधम ठेकेदारको जिम्मा लगाएका छन् । 

कैलाली जिल्लामा प्राकृतिक तालहरूको संरक्षणमा थप चुनौती देखिएको छ । यहाँका तालतलैया र सिमसार क्षेत्रको अवस्था नाजुक रहेको संरक्षणकर्मी एवं चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार वसन्ता कोरिडोरमा रहेका प्राकृतिक ताल सुक्खा नलाग्दै सुकिसकेका छन् । माछापालनका लागि प्राकृतिक ताल सुकाउने, जथाभाबी खन्नेलगायत समस्याले सिमसार क्षेत्र सकिँदै गइरहेको उहाँको भनाइ छ । 

दलदलयुक्त तालतलैया, जलाशय, छोरलहियालगायतलाई सिमसार क्षेत्र भनिन्छ । सिमसारमाथि जलीय प्राणी, जीवजन्तु, चराचुरुङ्गीको मात्रै नभई मानव अस्तित्व निर्भर रहेको छ । कैयौँ ठुला सिमसार सुकिसकेका छन् । 

भजनी नगरपालिकामा रहेको पुरैना ताल, भकरैया ताल, दिदीबहिनी ताल, पिरहुवा ताल सुकेर खेती गर्ने जमिनमा परिणत भइसकेका छन् । प्राकृतिक तालहरूले अस्तित्व गुमाइरहेको सामुदायिक वन समन्वय समिति भजनीका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । सिमसार प्राणी अस्तित्वसँग मात्रै नभई संस्कार, धार्मिकतासँग पनि जोडिएको श्रेष्ठको जिकिर छ । थारू समुदायको पिटरहुवा र भोज विवाहको संस्कार पूरा गर्न आवश्यक पर्ने माछा, घोँगी, गँगटो दलदलबाटै प्राप्त हुने गर्छन् । 

स्थानय तहले तालहरू ठेक्कामा लगाउँदा चरम दोहनसँगै जैविक विविधता खलबलाएको सहायक वन अधिकृत राजीव चौधरीले बताउनुभयो । उहाँले प्राकृतिक तालहरूको पारिस्थितिकीय प्रणालीमा असर पुग्दा रैथाने प्रजातिका बोटबिरुवा तथा चराचुरुङ्गी हराउँदै गएको जिकिर गर्नुभयो । 

“प्राकृतिक तालमा माछापालन गरेर ठेकेदारले त्यसमा नाइट्रोजन, फस्फोरस, चुना, दाना हाल्ने काम गरिरहेका छन्,” सहायक वन अधिकृत चौधरीले भन्नुभयो, “जसले गर्दा रैथाने प्रजातिका माछा र जलचर पनि लोप हुने क्रम बढेको छ ।”

सिमसार मासिँदै गएका कारण खडेरी पर्ने, पानीको मुहान सुक्नेलगायका समस्या देखा परेका छन् तर पनि सिमसार संरक्षणको क्षेत्रमा तीनै तहको सरकारबाट संरक्षणका लागि लगानी नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

स्थानीय तहले सिमसार क्षेत्रलाई आम्दानीका लागि ठेक्का दिए पनि सिमसार संरक्षण, जगेर्ना तथा यसको महत्वबारे जनचेतना जगाउन नसक्दा नासिँदै गएको पाइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा