गौरा पर्व सुदुरको सान अनि पहिचान
लोकेन्द्र विष्ट – नेपाल कला र सँस्कृतिका हिसावले आफैमा एक सम्पन्न राष्ट्र हो । विविध प्रथा, परम्परा अनि चाडपर्व यहाँका अमुल्य साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदा हुन । पुर्वको चण्डिनाच, मध्य क्षेत्रको कुमारीको रथ यात्रा, पश्चिम क्षेत्रको मारुनी नाच अनि मध्य र सुदुरपश्चिम क्षेत्रका डेउडा र छलिया नाच यस देशका ठुला चिनारी हुन । यिनै चिनारीहरुको माझमा सुदुरको मौलिक पहिचान झल्काउने गौरा पर्व पनि एक हो । अझ विशेष गरी गौरापर्व सुदुरपश्चिम क्षेत्रको महत्वपुर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । डोटी गौणा र कुमाउँ क्षेत्रमा परापुर्व कालदेखी यस पर्वलाई भव्यताका साथ मनाईँदै आएको छ । भाद्र शुक्ल पञ्चमीमा सुरु भई करिब एक हप्ता सम्म धुमधामका साथ विविध कार्यक्रमहरु आयोजना गरी गौरा पर्वलाई मनाईने गरिन्छ ।
- ऐतिहासि कथन
प्राचिन समयका हैह्य्रवंशी राजा मध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निरहार व्रत रही उपासना गरेको फलस्वरुप एक ब्राह्मणी गौरीले तेजिलो पुत्र लाभ गरिन र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरापर्व मनाउन थालिएको हो । सोही मान्यताका आधारमा गौरी अर्थात गौराको पुजन कार्य गर्नाले पति तथा सन्तानको सुस्वास्थ्य एवम दिर्घायु हुने धार्मिक विश्वास रही आएको छ । यस अलावा पार्वतीले कठोर तपस्या गरी शिवलाई प्राप्त गरेका पौराणिक कथन अनुसार यस क्षेत्रका महिलाहरु निरहार व्रत गरी पार्वतीको प्रतिमा स्वरुप गौरा र शिवको प्रतिमा स्वरुप महेश्वरलाई पुजा अर्चना गर्ने गर्दछन ।
- गौराका प्रचलनहरु
भाद्र शुक्ल पञ्चमीको दिन पाँच प्रकारका अन्न गहत, गहुँ, केराउ, मास र गुँरास तामा वा पित्तलको भाँडामा भिजाउने र घरको कुनै कुनामा राख्ने गरिन्छ । यस प्रकारको अन्नको मिश्रणलाई विरुडा भनिन्छ । विरुडा खास गरी गौराको मुख्य प्रसादको रुपमा लिईन्छ । दोस्रो अर्थात शष्ठीका दिन अघिल्लो दिन भिजाएका विरुडा गाउँको नजिकैको पानीको मुहान सम्म लगि पखालिन्छ र गौराको प्रतिमा ९जसलाई नोली गोरा भनिन्छ० बनाई पुजा गरिन्छ । तेस्रो दिन अर्थात शुक्ल सप्तमीमा गाउँ भरिका महिला सुद्ध चोखो भई साँझ पख खेतबारीमा जाने र त्यहाँबाट धान, तिल, साँउ, काँस र कुश मिसाएर गौरीको प्रतिमा बनाई बेहुलीको रुपमा गौरालाई र शिवको प्रतिमाको रुपमा महेश्वरलाई पालैपालो शिरमा राखी सगुन९फाग० गाउँदै गौरा राख्ने एक छुट्टै घर सम्म ल्याउँछन । यस समयमा पुरुषहरु डेउडा खेल खेल्ने, चैते, धुमारी गाउने एक आपसमा दुखशुख साँटासाँट गर्ने गर्दछन । गौरा ल्याई राखिएको घरको आँगनमा यति सम्म रमाईलो हुन्छकी मानौँ कुनै विवाह कार्यक्रम भईरहेको छ । शिव र पार्वतीको प्रतिमाहरुमा विवाहको पुरापुर कर्मकाण्डहरु गरिने भएकाले शिव पार्वतीको विवाह महोत्सव जस्तै गौरा पर्वलाई मान्ने चलन रही आएको छ । चौथो दिन गौराष्ठमीमा शिव र पार्वतीका प्रतिमाहरुमा गौराको प्रसाद स्वरुप विरुडा अनि अन्य पुजाका सामाग्रीहरु चढाईन्छ । गौरामा एक प्रकारको रातो, कालो, निलो र हरियो धागोबाट बनाईएको माला दुबधागो चढाईन्छ अनि विवाहित महिलाहरुले सोही प्रकारको दुबधागो घाँटीमा बाँध्ने चलन छ । जसरी विवाहित पुरुषहरुले जनै धागो धारण गर्ने गर्छन सोही मान्यता अनुरुप विवाहित महिलाहरु दुबधागो बाँध्ने गर्दछन । एवम प्रकारले गौरा घरमा गौरा राखिए सम्म आठबाला, चैती, धुमारी, डेउडा खेल, न्याउल्या खेल लगाई बुढापाका, युवा युवती सबैमा उत्साह एवम उमंगको माहोल हुने भएकोले यस पर्वलाई दुखः विर्शाई शुखको बाहार ल्याउने पर्वको रुपमा समेत लिईन्छ । गौरालाई बिजोर ३÷५÷७ दिन सम्म घरमा राखेपश्चात शुभ दिन हेरी मन्दिरमा लगी विसर्जन गर्ने गरिन्छ । गौरा विसर्जन गर्ने कार्यलाई यस क्षेत्रमा गौरा सेलाउने भनिन्छ । यो कार्य सबै गाउँमा एकै समयमा हुँदैन आफु अनुकुल समयमा गौरा बिसर्जन गर्ने गर्दछन । गौरा बिसर्जनका बेला प्रत्येक गाउँगाउँमा ठुलो मेला लाग्ने गर्दछ । केटाकेटी, युवा युवती, बुढाबुढी नयाँ नयाँ पहिरनमा सजिई गौराका साँँस्कृतिक खेलहरु खेल्ने गर्दछन । गौरा सेलाउने समयमा अविवाहिता नारीहरुले शिरमा शिव र पार्वतीको प्रतिमा राखी गौरा नचाउँदै मन्दिर लैजाने र बिसर्जन गर्ने गर्दछन । विवाहिता महिलाहरु भने मन्दिर प्रवेश नहुने प्रचलन छ । हिजो आज यो पर्वको महिमालाई अझ बढावा दिन गौरा महोत्सवको समेत आयोजना हुने गरेको छ ।
- गौरापर्वको मौलिकता
गौरा पर्व सुदुरपश्चिम क्षेत्रको पृथक पहिचान बोकेको पर्व हो । यो पर्व अन्य क्षेत्रमा विरलै मात्रामा मनाईने गरिन्छ । हिन्दु धर्मावलम्बी सुदुरपश्चिम बासीहरुको प्रथा र परम्पराहरुको जीवित ईतिहास केवल गौरा पर्वबाट प्रदर्शित हुन्छ । यस पर्वका बेला गरिने विविध साँस्कृतिक गतिविधिहरुमा ऐतिहासिक व्यक्तित्वहरुको महिमा, चरित्र गाथाहरु व्यक्त गर्ने गरिन्छ । जुन पुस्तौँ पुस्ता सम्म हस्तान्तरित हुन्छ र ईतिहासले जीवन्तता पाउँछ । यस क्षेत्रको रहन सहन, भेषभुषा, अनि भाषामा समानता देखाउने पर्व नै गौरा पर्व हो । यही पर्वको कारण यस क्षेत्रका मानिसहरुको भावना मिल्ने गर्दछ । भावनात्मक रुपमा एक भएको महसुस हुने अवस्था सिर्जना हुन्छ । यस क्षेत्रका मानिसहरुको भावना यति सम्म मिल्छ की साहेद यहाँको राष्ट्रियता नै यही भावनामा अन्तरनिहित छ । यस क्षेत्रका बाजागाजा, संगीत, साहित्य र सँस्कृतिको योग यही पर्वको बेला देखा पर्ने भएकाले यो पर्वको मौलिकता अमुल्य छ, अथाह छ, अविस्मरणीय छ ।
- गौरा पर्वको प्रवर्द्धन वर्तमानको आवश्यकता
गौरा पर्वलाई गतविगत बर्षहरुमा जुन हिसावले महत्व दिने गरिएको थियो त्यस किसिमको महत्व अहिलेको पुस्ताले दिन नसकेको महसुस सर्वत्र भईरहेको छ । सुदुरको गौरव, सुदुरको सान, सुदुरको पहिचानको रुपमा स्थापित गौरा पर्व र यसको वास्तविकता अनि यथार्थता सँग हरेक सुदुरपश्चिमेलीहरुलाई परिचय गराउने र यसको मौलिकताको बारेमा पुस्ताहस्तान्तरण गर्नु अपरिहार्य भई सकेको छ । यसर्थ यो पर्वलाई भविश्यको पुस्तासम्म जीवित राख्न निम्न कार्य गर्न सकिन्छः
- सुदुरपश्चि प्रदेश सरकारले यो पर्वलाई प्रवद्र्धन गर्न गरी विशेष गुरु योजना बनाउनु पर्दछ,
- स्थानीय सरकारहरुले गौरा पर्वलाई प्रोत्साहित गर्न गरी छुट्टै बार्षिक कार्यक्रम बनाउनु पर्दछ,
- स्थानीय नागरिक समाज, युवा समाज सेवी, शिक्षण संस्थाहरु, सरकारी एवम गैरसरकारी संस्थाहरुले आ¬–आफ्ना क्षेत्रबाट गौरा पर्वलाई प्रोत्साहन मिल्ने खालका कार्यक्रम तय गरिदिनु पर्दछ,
- राजनीतिक दल, बुद्धीजीवी पत्रकारहरु आदि सबैले यो पर्वलाई महत्वपुर्ण स्थान दिई यसको वास्तविकताको खोज अनुसन्धान सहित जीवन्तता दिन चनाखो हुन सक्नु पर्दछ ।
- आधुनिक युगका पुस्ताहरुलाई पर्वको मौलिकताको सम्बन्धमा कन्भेन्स गर्ने गरी शैक्षिक कार्यक्रम लागु गर्न गरिनु पर्दछ ।
अन्तमा
मानव सभ्यता के कसरी विकसित भयो भनी ऐतिहासिक जानकारी गौरा पर्व जस्तै साँस्कृतिक पर्वहरुले दिने गर्दछन । अझ विशेष गरी रहन सहन, भेषभुषा, चालचलन र अन्तरमनका भावनाका बारेमा विश्व समुदायलाई परिचय प्रदान गर्न यस्ता पर्वहरु सहायक सिद्ध हुने भएकाले गौरा लगायत नेपालका सबै साँस्कृतिक पर्वहरुलाई यिनीहरुको मौलिकता झल्कने गरी संरक्षण र प्रवद्र्धन गर्न सबै क्षेत्रको सार्थक प्रयासको खाँचो छ ।