बैतडीमा भारतबाट आएका ३१० जनालाई क्वारेन्टाइनमा राखियो
बैतडी, चैत्र १९ – जिल्लामा भारतबाट आएका ३ सय १० जनालाई क्वारेन्टाईनमा राखिएको छ । भारतका विभिन्न ठाउँबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा आएका ३१० जनालाई ’क्वारेन्टाइन’मा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार यी मानिसहरूलाई विभिन्न पालिकाले निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । दशरथचन्द नगरपालिकामा १८, पाटन नगरपालिकामा ५, मेलौली नगरपालिकामा २, पुर्चौंडी नगरपालिकामा १७५, सुर्नया गाउँपालिकामा २८, पञ्चेश्वर गाउँपालिकामा ३, दोगडाकेदार गाउँपालिकामा २०, डिलाशैनी गाउँपालिकामा ३८,सिगास गाउँपालिकामा १२ र शिवनाथ गाउँपालिकामा १० जनालाई ’क्वारेन्टाइन’मा राखिएको छ । विभिन्न विद्यालयहरुमा ’क्वारेन्टाइन’ बेड निर्माण गरिएका सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । क्वारेन्टाइनमा राखिएकाहरूका लागि गाउँपालिकाले खानाको व्यवस्था समेत गरेको छ ।
पछिल्लो सयम जिल्लाका स्थानीय तहहरुले ’क्वारेन्टाइन’ निर्माणमा जोड दिएका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले ७०२ शय्याको ’क्वारेन्टाइन’ निर्माण गरिसकेका छन् ।