दुई दिनपछि बन्यो बिग्रिएको पिसिआर मेशिन, कोरोना पुनः परीक्षण सुरु
२०७७ भाद्र ८ गते सोमबार
मोहन पनेरु,डोटी
शनिबार दिउसो एकाएक बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परिक्षण गर्ने पिसिआर मेसिन दुई दिनपछि बनेको छ ।
पिसिआर परीक्षणका लागि काम भईरहेकै बेला शनिबार दिउसो एक्कासी मेसिनबाट धुवाँ निस्किएपछि काम पूर्ण रुपमा ठप्प भएको थियो । पिसिआर प्रयोगशालाको बायोसेफ्टी क्याबिनेटमा एक्कासी धुवाँ निस्किएपछि विद्युतीय समस्या भएकाले सबै मेसिनहरु बन्द भएपछि प्राबिधिक टोलीले पावर सर्किट मर्मत गरेपछि मेशिन पुनः सुचारु भएको जिल्ला अस्पताल डोटीका नायब सुब्बा लोकेन्द्र विष्टले जानकारी दिनुभयो । मेशिन मर्मतका लागि जिल्लामा आउनु भएका बायो मेडिकल इन्जिनियर जय साउँदको टोलीले उक्त मेसिन मर्मत गरी पुनः काम सुचारु गरिएको हो ।
पिसिआर मेसिन बिग्रीएसँगै जिल्लामा सङ्कलन गरिएको स्वाब परिक्षणको कार्यपनि दुइ दिन सम्म रोकिएको थियो । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा रु एक करोड ५० लाखको लागतमा यहि भदौ २ गते जडान गरीएको उक्त मेसिन अचानक बिग्रिएको थियो मन्त्रालयबाट पिसिआर मेसिन मर्मत गर्ने प्राबिधिक टोली मगाएर बिग्रेको मेसिन बनाइ काम सुचारु भएको जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अचानक मेसिन बिग्रीयो, प्राबिधिक टोली मगाएर मर्मत गरेका छौँ, मेसिन बनेकाले कोरोना परिक्षणको काम सुरु गरिएको छ ।”
यहि भदौ २ गते जडान गरिएको उक्त पिसिआर मेसिन ६ दिन नपुग्दै विग्रिएपछि कोरोना परिक्षण गर्ने स्वास्थ्यकर्मी समेत अचम्मित परेका थिए ।
जिल्ला अस्पतालमा पिसिआर मेसिन बिग्रीएपछि कोरोना परिक्षणका लागि जिल्लामा सङ्कलन भएका कयौँ स्वाबहरु कैलालीको धनगढी प्रयोगशाला र डडेल्धुरा स्थित उप -क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाईएको जिल्ला स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पिसिआर मेसिन बिग्रीएपछि हामीले सङ्कलन गरेका थुप्रै स्वाब बाहिर पठाएका छौँ, रिपोर्ट कहिले आउछ, जानकारी भएन ।” कोरोना परिक्षण गर्ने मेसिन बनेपछि जिल्ला अस्पतालमा अहिले अछाम र डोटीमा सङ्कलन गरिएको स्वाबको परिक्षण कार्य सुरु भएको र अब समयमै रिपोर्ट आउने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।