जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रूपमा बार निर्धारण
कञ्चनपुर, ०८ असार । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रूपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोभिडको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १६ गतेदेखि सेवा प्रवाह स्थगित गरिएकोमा मंगलबारदेखि नागरिकता सम्बन्धी सेवा प्रवाहका लागि स्थानीय तह अनुसार समय निर्धारण गरी सेवा दिन लागिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत पदमराज भट्टले जानकारी दिनुभयो । कञ्चनपुर प्रशासनले मंगलबार देखि नयाँ नागरिकताका लागि दुई दिनमा ३० जना, प्रतिलिपि नागरिकताका लागि दुई दिनमा २० जना र राहदानी सिफारिसका लागि दैनिक बढीमा १० जनासम्मलाई सेवा प्रवाह गर्न सकिने जनाएको छ ।
सूचनामा उल्लेख भए अनुसार, भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकाका बासिन्दालाई आइतबार र सोमबार सेवा दिइने छ । त्यस्तै, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका बासिन्दालाई मंगलबार र बुधबार तथा दोधाराचाँदनी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाका बासिन्दालाई बिहीबार र शुक्रबार सेवा प्रवाह गरिने छ । सम्बन्धित नागरिकहरूले नागरिकता सम्बन्धी सेवा लिन आउँदा बिहान १० देखि १०ः३० बजेसम्म कार्यालयको प्रवेशद्वारबाट उपलब्ध गराइने टोकन अनिवार्य रूपमा लिनुपर्ने भएको छ । अन्य सेवाहरू भने साबिकमा झैँ नियमित रूपमा प्रवाह गरिने जनाइएको छ । सेवा लिन आउने सेवाग्राहीहरूले कोभिड १९ को सङ्क्रमण रोकथामका लागि अपनाउनु पर्ने सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्डहरू पूर्ण रूपमा अनिवार्य अवलम्बन गर्नुपर्ने छ ।