प्रशासनले कडाइ नगर्दा डुंगा पल्टियो
बैतडी — रोजगारीका क्रममा भारतमा बस्दै आएका शिवनाथ गाउँपालिका–१ का चन्द्रसिंह साउद दसैं मनाउन दुई साताअघि सपरिवार घर फर्के । गाउँमा चाड मनाएर बुधबार डुंगाबाट महाकालीको उर्लंदो भेल तरेर कर्मथलो फर्किरहेका उनले घरबाट हिँडेको आधा घण्टामै छोरी गुमाए ।
बुधबार साँझ शिवनाथ—१ स्थित नागार्जुन घाटमा डुंगा पल्टिँदा १२ वर्षीया छोरी मीनाको ज्यान गएको हो । ८ वर्षीय छोरा सन्दीप महाकालीमा बेपत्ता छन् ।
भारतको पञ्जाबमा बस्दै आएको साउद परिवार दसैं टीकाको पाँच दिनअघि मात्रै घर आएको थियो । भारत फर्कंदै गरेको उनीहरूसहित १० जना सवार डुंगा बुधबार साँझ पल्टिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले महाकालीमा भारततर्फ पुग्दै गर्दा डुंगा पल्टिएको बताए । घटनाको दोस्रो दिन बिहीबार पनि बेपत्ता बालक फेला परेका छैनन् । भारततर्फको महाकाली किनारमै बालिकाको शव फेला परेको थियो । डुंगामा सवार चन्द्रसिंह, उनकी श्रीमती, एक छोरा र ५ जना डुंगा चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुई सन्तानलाई महाकालीमा गुमाएका चन्द्रसिंहको परिवार महाकालीपारि भारतीय भूमिमै अलपत्र परेको छ । उनीहरू न वारि आउन सकेका छन् न पारि जान । पानीको बहावले उनीहरू वारि आउन नसकेको स्थानीय दीपेन्द्र चन्दले बताए । डुंगामा एक वा दुई जना चालक हुनुपर्नेमा ५ जना चालक थिए ।
प्रहरीका अनुसार डुंगामा सवार १० जनामध्ये ५ जना चन्द्रसिंहको परिवार र ५ जना चालक हुन् । उर्लंदो महाकालीमा भार बढी हुँदा डुंगा पल्टिएको अनुमान स्थानीयले गरेका छन् । ‘एक–दुई जना हुनुपर्नेमा ५ जना त डुंगा चलाउने नै रहेछन् । कति धेरै लापरबाही भएको रहेछ,’ चन्दले भने, ‘दोषीलाई कानुनी दायरामा ल्याउन जरुरी देखिन्छ ।’ उनका अनुसार महाकालीमा डुंगा चलाएर नदी तार्दा एक जनाबाट ६ सय भारुसम्म असुल्ने गरिएको छ । ‘दैनिक ३०/४० जनाभन्दा बढी ओसारपसार गर्छन्, पालिका मौन बसेको छ । स्थानीय प्रशासन पनि केही भन्दैन,’ उनले भने,
‘केही डुंगा चालकले गैरकानुनी तवरले डुंगा चलाउँदा यस्ता दुर्घटना भएका छन् ।’ बैतडीको तल्लो स्वराडवासीले महाकाली तर्दा सधैं सास्ती भोग्दै आएका छन् । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र मेलौली नगरपालिकाका बासिन्दाले डुंगा र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।
सीमानजिक रहेका उनीहरू महाकाली तर्नासाथ भारतीय बजार पुग्छन् । दैनिक उपभोग्य वस्तु किनमेल, उपचार र रोजगारीका लागि भारत जानेहरूले डुंगा र ट्युबबाटै महाकाली तर्नुको विकल्प छैन । महाकाली नदीमाथि पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको शिवनाथ गाउँपालिकाका मानसिंह साउदले बताए ।