भ्रष्टाचार गरेको आरोपमा भीमदत्तका पूर्वमेयरसहित ११ जनाविरुद्ध मुद्दा दायर
कञ्चनपुर,१२ भदौ । महाकाली नदीको ढुगा ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटलगायतको रोयल्टी शुल्कमा भ्रष्टाचार गरेको आरोपमा भीमदत्त नगरपालिकाका पूर्वमेयरसहित ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टलगायतविरुद्ध मुद्दा दायर गरेको हो।
२०७६/७७ मा भीमदत्तका तत्कालीनमेयर विष्टको अध्यक्षतामा नगरसभाको निर्णयले राजस्वमा छुट दिने मनसायले छ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसको आधारमा १ करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिएको आरोप अख्तियारको छ।
उक्त कार्यदलमा वडा नम्बर १७ का वडाअध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोबिन्द उपाध्याय, लेखा अधिकृत (छैटौँ) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्रदेव भट्ट रहेका थिए। राजस्व छुट दिन नमिल्ने प्रतिवेदन गर्नुपर्नेमा उनीहरूले भवानी कन्स्ट्रक्सन प्रालिले उत्खनन गरेको परिमाढ र उत्खनन गर्न बाँकीसमेतमा राजस्व छुट दिनसक्ने प्रतिवेदन पेस गरेका थिए।
जबकि कुनै किसिमको छुट वा मिनाहाको लागि दाबी गर्न नपाइने र ठेक्का कबोल गरी सम्झौता भएबमोजिमको रकममा कुनै कारण देखाइ वा नदेखाइ कुनै किसिमको मिनाह गर्न पाइँदैन। उनीहरूविरुद्ध अख्तियारले २ करोड ६९ लाख बिगो माग दाबी गरेको छ।
यसैगरी भवानी कन्स्ट्रक्सन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टकी श्रीमतीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। ईश्वरप्रसादको मृत्यु भइसकेकाले व्यक्ति मरे पनि भ्रष्टाचार नमर्ने भन्दै नजिकको अँशियार लाग्ने भएकाले उनकी श्रीमतीलाई प्रतिवादी बनाएको हो।