नमुना बस्ती खण्डहरमा परिणत

September 14, 12:06

डोटी, २८भदौ ।  डोटी सिलगढी देखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ।  पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा परेर स्थानीय गाउँ छोडेर गएको जस्तो लाग्न  सक्छ तर यो मानवरहित खण्डहर बस्तीको कथा भने बेग्लै छ। 

मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत १८ घरपरिवारको बसोबासका लागि निर्माण गरिएको यो बस्ती खण्डहरमा परिणत भएको हो। सो बस्ती बासेबासका लागि उपयुक्त नभएकाले कसैले बस्न नमानेको बताइन्छ।  हलिया मुक्ति आन्दोलनका केही अगुवा र सरकारी कर्मचारीको मिलेमतोमा एकान्त तथा अपायक स्थानको जग्गा खरिद गरी घर निर्माण गरिएकाले हलिया परिवारले बस्न नमानेपछि घरहरू खण्डहरमा परिणत भएका हुन्। 

हलिया मुक्ति आन्दोलनका अभियन्ता गोरखबहादुर सार्कीले भने, “हलिया बस्ती बसाउन त्यो ठाउँ रोजिएकै होइन। कसैले जग्गा बेच्नुपर्ने थियो र कसैले कमिसन खानुपर्ने भएकाले व्यक्तिगत स्वार्थका लागि उक्त ठाउँमा घरटहरा बनाइएको हो।”

नेपाल सरकारले डोटी जिल्लाका मुक्त हलियाका लागि नमुना बस्ती निर्माण गर्ने भन्दै आर्थिक वर्ष २०७४/७५ मा ९४ लाख ५० हजार रकम विनियोजन गरेको थियो। मुक्त हलियाका लागि बस्ती स्थापना गर्न विद्यालय, खानेपानी, विद्युत् जस्ता न्यूनतम पूर्वाधारको सुविधा हुनुपर्ने व्यवस्था गरिएको थियो। 

केही व्यक्तिको स्वार्थ र आर्थिक चलखेलका कारण सडक, खानेपानी, विद्युत्, विद्यालयको पहुँच नभएको जङ्गलमा बस्ती बसाउन खोज्दा यो समस्या आएको हलिया अगुवाको भनाइ छ।

‘क’ वर्ग (घरजग्गा केही नभएका) मुक्त हलियाको नमुना बस्ती निर्माणका लागि जमिन खोज्न गैरहलिया र पुनस्र्थापनाको जिम्मा पाएको मालपोत कार्यालयका कर्मचारीले यसमा चलखेल गरेको आरोप लागेको छ। 

त्यस्तै १८ घरपरिवारका लागि नमुना बस्ती बनाउने भन्दै २०७५ साल असारमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर भन्ने स्थानमा जङ्गलको छेउमा जमिन खरिद गरियो। मुक्त हलियाको नाममा जमिन पास भएर भवन निर्माण पनि भए तर भवन बस्न लायक बनेनन्।

गाईबस्तु राख्नसमेत नमिल्ने बाख्राको खोर जस्ता १८ वटा भवन हलिया नबसेरै भत्किएका छन्। घर निर्माण तथा जग्गा खरिदमा प्रतिपरिवार पाँच लाख २५ हजार रुपियाँ लगानी भएको बताइएको छ। हाल मुक्त हलियाको केही परिवार पुरानो घरमा र धेरै जसो  कैलालीमा बसोबास गर्दै आएका छन्। 

मुक्त हलिया बसोबासका लागि निर्माण गरिएको बस्ती खण्डहरमा परिणत भएको विषयमा स्थानीय सरकारलाई समेत आधिकारिक जानकारी छैन। पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले घरहरू भत्किएका देखेको तर त्यसभन्दाबाहेक आधिकारिक जानकारी आफूलाई नभएको बताए। 

डोटीमा एक हजार १५३ जना हलिया पुनस्र्थापना गरिएको बताइएको छ। जिल्ला मालपोत कार्यालय प्रमुख प्रेमबहादुर माझीले विभिन्न स्थानमा मुक्त हलिया पुनस्र्थापना कार्यक्रम अन्तर्गत जग्गा खरिद र घर निर्माण भएको जानकारी दिए तर उनले ती नमुना बस्तीमा मुक्त हलिया बसे नसेको र घरहरू भत्किएको सम्बन्धमा धेरै कुरा थाहा नभएको बताए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा