डोटीमा भूमि सम्बन्धी लगत संकलन तयारी
डोटी,असार ४
डोटीका ४ वटा स्थानीय तहहरुमा भूमि सम्बन्धी लगत संकलन गर्ने तयारी भएको छ । जम्मा ९ वटा स्थानीय तह रहेको डोटीका दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य अगाडी बढाउन लागिएको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति डोटीले जिल्लाका ९ वटै स्थानीय तह र अन्य सरोकारवाला सहितको सहभागितामा आयोजना गरेको लगत संकलन तयारी सम्बन्धी छलफल कार्यक्रममा ति चार वटै स्थानीय तहले आफुहरु जतिसक्दो छिटो भूमि सम्बन्धी लगत संकलन गर्न तयारी अवस्थामा रहेको जनाएका थिए । भूमि सम्बन्धी समस्या समाधान आयोगको प्रक्रिया अनुसार लगत संकलन गर्न आयोगको केन्द्रीय कार्यालयले नै ३५ दिने सूचना प्रकाशन गर्ने भएकाले यहि असार १५ गते ४ वटै स्थानीय तहका लागि सूचना प्रकाशन गरिदिन आयोगसँग समन्वय गर्ने निर्णय भएको छ ।
कोभिड–१९ को दोश्रो चरणको संक्रमण फैलिएका कारण डोटीमा भूमि आयोगले लगत संकलन कार्य अगाडी बढाउन नसकेको जिल्ला समन्वय समिति डोटी का प्रमुख राम बहादुर एैर ले बताउनुभयो।भुमि हिन जनतालाइ यतिबेला लालपुर्जा वा प्रमाण पत्र दिन पाउनु स्थानीय तहको प्रमुख जिम्मेवारी भएकाले तेता तिर जिम्मेवारी पुर्बक काम गर्न निर्देशन दिनुभएको थियो।
तर भूमिहीनहरुलाई लालपूर्जा प्रदान गर्ने तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापन जस्तो महत्वपूर्ण काममा ढिलाई गर्न नहुने निष्कर्ष सहित ती ४ वटा स्थानीय तहमा लगत संकलनको काम अगाडी बढाउन थालिएको छ ।
बाँकी ५ वटा स्थानीय तहहरुले पनि लगत संकलनका लागि कर्मचारी व्यवस्थापन गरी तयारी पूरा गरेमा सबै स्थानीय तहमा लगत संकलन कार्य अगाडी बढाईने भूमि सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति डोटीका अध्यक्ष गणेश बहादुर बिष्टले जानकारी दिनु भयो ।
दिपायल सिलगढी नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति डोटी प्रमूख राम बहादुर ऐरसँगै डोटीका विभिन्न स्थानीय तहका जनप्रतिनिधी, सहायक प्रमूख जिल्ला अधिकारी किरण जोशी, प्रहरी उपरिक्षक दान बहादुर मल्ल, विभिन्न सरकारी कर्मचारीहरु, आयोगका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।