डोटीमा अपरेटरका सनकका भरमा खनिएका सडकले बढायो पहिराको जोखिम

news baitadi
news baitadi
June 22, 2:14

डोटी असार ८ 
डोटी जिल्लाका नौवटै स्थानीय तहमा सडक पु–याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ। पछिल्लो समय भइरहेको वषाले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन्। 
डोजर अपरेटरका सनकका भरमा जथाभाबी सडकको ट्रयाक खन्दा पहिराको जोखीम बढेको स्थानीयवासीको आरोप छ। बिगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका बाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ। जथाभाबी खनिएका सडकले विकासभन्दा पनि विनास बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोसित बन्न थालेका छन्। 
गाउँगाउँमा सडक पुर्याउने होडबाजीले सम्भाब्यता अध्यन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखीममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताए। उनले भने, “नामका सडक मात्रै भए कामका कोही सडक भएनन्, मनपरि खनिएका सडकले अहिले पहिरा आउन थाल्यो।” लाखौँ रकम खर्चगरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका वस्तिसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताए। 
उनले भने, “जथाभाबी डोजर प्रयोग गरेर विना अध्यन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिननै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिरा भएका छन्, अब कसरी गाडी चल्छन्।”
जिल्लाका ग्रमीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोष्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ। यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरुद्ध भएका छन्। पानीले सडकभरमा पहिरा आउनुका साथै सडकनै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन्।
सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्सा बिना डोजर अप्रेटरको डिजाईन र नक्साङ्कनले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन्। सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुबिधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरा आउदा सडक बन्द भएका छन्। यसरी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखीम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताए। 
उनले भने, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुबिधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ति मात्रै जोखिम बनायो।” जिल्लामा निर्माण गरिएका मापदण्ड बिनाका सडक खारेज हुनु पर्ने यहाँका नागरिकको माग रहेको छ। यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरीएका सडकको सर्वेक्षण आफू बाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिँएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका सडक प्रविधिकको आरोप छ।
यहाँका सडकवस्ती माथि तथा गाउँ तलबाट खनिएकाले वस्ति नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिए। प्राविधिक र वातावरणिय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उहाँले आरोप लगाए। 
रासस
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा