अर्गानिक खाना र मन शान्तिका लागि गणेशकाँडा
पवन महरा डोटी- मानसिक तनाव, शारीरिक थकान मेट्न र लेकाली अर्गानिक खाना खानका लागि उपयुक्त गन्तव्य हो गणेश काँडा । केआईसिंह गाउँपालिका– १ मा पर्ने उक्त गाउँ पछिल्लो समय होमस्टेका रुपमा पनि चिनिन्छ ।डाँडामाथिको स्यानो गाउँ, टाढा–टाढा घर भएको मगर समुदायको बस्ती रहेको उक्त गाउँ समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको छ । बाह्रैमास चिसो हुने उक्त गाउँमा केही वर्ष यता आन्तरिक पर्यटकहरु जाने गरेका छन् । गाउँमा कच्ची सडक पुगेका कारण मोटर साइकलमा त्यहाँ जाने पर्यटकहरुलाई सहज भएको छ ।
सहरको कोलाहल, दैनिक कामको थकान, मनको बेचैनी, दैनिक आइपर्ने मानसिक तनावबाट केही समय मुक्त हुन र शुद्ध अगार्नीक खानाको भोक मेट्न आन्तरिक पर्यटकहरु त्यहाँ जाने गरेका छन् । वरपरबाट जङ्गलले घेरेको डाँडामाथिको सो गाउँ क्षेत्रमा चराहरुको चिरबिर, भैँसी गोरुहरुको घाडाको आवाज, केही व्यक्तिहरुको गुनगुन आवाज मात्रै सुनिन्छ । पाहुनाहरुको विषेश स्वागत सत्कार गर्ने पुरानो प्रचलन गणेश काँडाका मगर समुदायले कायम राखेका छन् । माटोले पोतेको, खरले छायको होचा स्याना तर चिटिक्क देखिने घरहरुमा रात गुजार्दा निकै आनन्द महसुस हुन्छ ।
चिसो हावा, वरिपरि देखिने सुन्दर प्रकृतीको दृश्य, मगर समुदायको न्यानो स्वागत सत्कारले मन प्रफुल्ल हुन्छ । स्याना झुपटीमा रमाइरहेका मानिसमा देखिने मुस्कान, खुसी सहितका जीवन र सन्तुष्टि देखेर खुसी खोज्दै भागेका मनहरु त्यहाँ गएर शान्त हुन्छन् । सरल जीवनशैली, सरल अर्गानिक खानपिन, लेकाली भेगको मोह लाग्दो हावा पानि देखेर महलबाट बिचलित भएर त्यहाँ पुगेका मनहरुमा शान्तिले मात्रै छुँदैन आफ्नो अवस्था, व्यवस्था प्रति सन्तुष्टि पनि दिलाउँछ ।
स्थानीय जातको अर्गानिक खाना
गणेशकाँडामा बाह्रैमास स्थानीय जातको अर्गानिक खाना पाइन्छ । बालीहरु फलाउन स्थानीयहरुले गोठेमल मात्रै प्रयोग गर्ने गरेका छन् । बारीमा रसायनिक मल प्रयोग नहुने भएकाले त्यहाँका उत्पादनलाई अर्गानिक भनिदै आएको छ ।
धान, गहुँ, जस्ता अन्न कमै मात्रामा उत्पादन हुने स्थानीयहरु बताउँछन् । चोतो (स्थानीय जानको मुला) मकै, कोदो, फापर, उखु, पिँडालु, आलु, सिमि, काँक्रा उत्पादन हुने गरेको स्थानीय भरत रोका मगर बताउँछन् ।
सिन्कीको झोल, सिस्नोको साग, कोदाको ढिँडो, अन्नबाट बनाएको लोकल मदिरा अझै पनि गणेशकाँडामा खान पाइन्छ । स्थानीय जातका कुखुरा, बाख्रा, भेडा, गाई, भैंसी जस्ता पशुपञ्छी घरैपिछे पालिएको हुन्छ । दुध, दही, मह, लोकल कुखुरा, खसी भेडाको मासु पनि खान पाईन्छ ।
पर्यटनका लागि प्रचुर सम्भावनागणेशकाँडा पर्यटनका लागि प्रचुर सम्भावना बोकेको के.आई.सिंह गाउँपालिका मध्यको एक ठाउँ हो । गाउँपालिकामा थुप्रै पर्यटकीय ठाउँहरु छन् । ती मध्य विषेश सम्भावना बोकेको ठाउँ हो गणेशकाँडा ।
गाउँपालिकाभित्र गणेश काँडा र पिलेगडा गरी दुईवटा मगरहरुको बसोबास भएका गाउँ छन् । उक्त गाउँहरु आन्तरिक र वाह्य पर्यटकका लागि प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । गणेशकाँडा सुदूरपश्चिमका पहाडी जिल्लाहरुकै पहिलो होमस्टेका रुपमा चिनिन्छ ।
गाउँपालिकाको केन्द्र वायलबाट ११ किमि दूरीमा रहेको गणेशकाँडा गाउँलाई सडकले जोडिसकेको छ । आन्तरिक पर्यटकहरु बेलाबखत मोटरसाइकलको यात्रा गर्दै गइरहेका हुन्छन् । गाउँमा अल्लोको कपडा बनाउने गर्छन् यहाँका महिला । जुन कोट सिलाउन प्रयोगमा ल्याइन्छ ।
अर्गानिक खानेकुरादेखि चारैतिर देखिने हिमाल, डाँडाकाँडाको सुन्दर दृश्य हेर्नका साथै मगर समुदायको संस्कृतिको अध्ययन गर्न पाइन्छ । बैशाख जेठ, भाद्र, आश्विनतिर चारैतिरको दृश्य राम्रो देखिन्छ । हिउँदमा हिउँ खेल्न त्यतिकै रमाइलो हुन्छ ।
गाउँपालिकाले गणेशकाँडा लगायत थुप्रै पर्यटकीय संभावना बोकेका सम्पदाहरुको पहिचान गरी संरक्षण र प्रवर्धका लागि गुरु योजना तयार पारेर अघि बढिरहेको छ ।
कसरी पुग्ने गणेश काँडा ?
काठमाडौंदेखि धनगढीसम्मको दूरी ६८० कि.मी. बसको यात्रा गर्दा १६ घन्टा र हवाइ यात्रा गर्दा एक घण्टा १५ मिनेटमा पुगिन्छ । धनगढीदेखि दिपायलको दूरी १८५ कि.मि. छ । बसमा धनगढीबाट ६ घन्टामा दिपायल पुगिन्छ ।
दिपायलदेखि गाउँपालिका कार्यालय रहेको क्षेत्र वायलसम्मको दूरी १० कि.मि. कालोपत्रे र १० कि.मि. कच्ची सडक गरी २० कि.मि. छ । जीपमा १ घन्टा ३० मिनेट ।
गाउँपालिकाको केन्द्र वायल देखी गणेशकाँडाको दुरी ११ किलोमिटर छ । कच्चि बाटो भएका कारण मोटरसाइकलको यात्रा राम्रो हुन्छ । बोलेरो, फोरपिल्लर पिकप जीपहरुमा पनि यात्रा गर्न सकिन्छ ।