डोटीको छहरा झरनाको नाममा मतभेद ! ‘छहरा’ कि ‘कमला’ ?
बुडर (डोटी), साउन २४–जोरायल गाउँपालिका–२, मा रहेको झरना एकाएक टिकटकमा भाइरल भएपछि त्यहाँ घुम्न आउने र टिकटक बनाउनेहरुको दैनिक भिड लाग्न थालेको छ । झरना हेर्न आउनेको भिडभाड बढेसँगै स्थानीयले झरनालाई छहरा नाम दियो । पछिल्लो समयमा छहरा झरनाको नाममा सामाजिक सञ्जालमा मतभेद बढ्न थालेको छ ।
डोटेली भाषिकामा झरनालाई ‘छडा÷छणो÷छणा’ भनिन्छ । नेपाली वृहत शब्दकोषमा अग्लो ठाउँबाट हुत्तीएर खसेको पानीको छाँगो, प्राकृतिक वा कृतिमरुपमा पानी खसेको ठाउँलाई छहरो, झरना भनिन्छ । डोटेली भाषिकामा छडा भनिँदा सबैले बुझ्न गाह्रो भएकाले त्यसलाई नेपाली भाषामा छहरा भनिएको स्थानीय बताउँछन् । टिकटकमा झरना भाइरल हुन थालेपछि हतारोमा ‘छहरा झरना’ नाम दिइएको भन्दै अहिले सामाजिक सञ्जालमा छहरा झरना नाममा व्यापक बहस चलको छ । तर, स्थानीय बूढापाकाहरु भने त्यसलाई हतारोमा नाम दिइएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । झरनाको पौराणिक लोकोक्ती रहेको भन्दै स्थानीयले पौराणिक कुरालाई नै झरनाको नाम दिइनु पर्ने बताउन थालेका छन् । पौराणिक लोकोक्ती अनुसार सत्य युगमा भगवान विष्णुले दायाँ पाउ खसरेको माथि र बायाँ पाउ फल्टूडेस्थित लोडामा राखेर टाङमुनि बगेर आएकोे कमला नदीको झरनामा टाउको धोएर हिँडेका थिए ।
त्यही झरनामा विष्णुले टाउको धोएकाले झरना वरपरका गाउँका धामी भडारीहरु पूजापाठ गर्नु अघि त्यही झरनामा नुहाएर चोखो हुनुका साथै देउताका शंख घण्ट तथा भाँडाकुँडाहरु पनि त्यही झरनामा धोई पखाली पूजापाठ गर्ने गरिएको धामी भडारीहरु बताउँछन् ।
पत्रकार पुष्पराज जोशीले पनि त्यही झरनाको वास्तविकता खोज्दै जाँदा कमला झरना भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । उनले ह्यास ट्याग गरेर सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘सत्य युगमा भगवान विष्णुले दायाँ पाउ खसरेको माथि र बायाँ पाउ फल्टूडेस्थित लोडामा राखेर टाङमुनि बगेर आएको कमला नदीको झरनामा टाउको धोएर हिँडेको हिन्दू धार्मिक लोकोक्ती छ ।
त्यो झरना ‘कमला झरना’ भएको त्यहाँका बूढा पुरानाहरु बताउँछन् । तर, त्यसलाई अहिले छहरा झरना नाम दिइयो । नेपाली वृहत शब्दकोषमा अग्लो ठाउँबाट हुत्तीएर खसेको पानीको छाँगो, प्राकृतिक वा कृतिमरुपमा पानी खसेको ठाउँलाई छहरो, झरना भनिन्छ । यहाँ छहरा र झरना एउटै शाब्दिक अर्थ उहीँ हो । तसर्थ बुडरको ‘छहरा झरना’ नभएर कमला झरना या कमला छहरा’ हो । यसको इतिहास नमेटाऔँ । झरना कमला नदीबाट खसेकोले यसको नाम कमला झरना हो ।’सामाजिक सञ्जालमार्फत् पत्रकार पुष्पराज जोशी, श्रवण देउवा र भीम चौधरीले एतिहासिक पक्षलाई समेटेर झरनाको वास्तविक नाम उल्लेख गरिनु पर्ने भन्दै अभियान चलाएका छन् ।
सामाजिक सञ्जालमा चलाइएको ‘कमला झरना’ अभियानमा कमेन्ट गर्दै डोटीका राजु नेपालीले भनेका छन्–‘छहरा भनेकै झरना हो अतः कमला छहरा नै युनिक हुन्छ होला ।’ सामाजिक सञ्जालमै कमेन्ट गर्दै वन वातावरण क्षेत्रका अभियन्ता विजयराज श्रेष्ठले लेखेका छन्–‘वाह ’ नवीन र मौलिकताका प्रवद्र्धक सम्मान छ । हजुरको ज्ञानरुपी गंगालाई । कमला झरना मौलिक र रैथाने वास्ता मिश्रित विशेषण, संज्ञानात्मक उद्घोष हो ।’ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले पनि कमेन्ट गर्दै भनेका छन्–‘झरनाको इतिहास’ ।
साहित्यकार हेमन्ता भट्टराईले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्–‘अति राम्रो । इतिहास भुल्नु भएन ।’ डोटीको जोरायल क्षेत्रमै पुख्र्यौली घर भई हाल धनगढीमा बस्दै आएका साहित्यकार तथा लेखक टीआर पाठकले पनि कमेन्ट गर्दै लेखेका छन्–‘कुरो सही । श्री कृष्ण भीमहरुले जरासन्धलाई मारेर यसै मुहानमा शीर थापेर घोप्टो भई स्नान गरेका थिए रे । दायाँ पाउ खसेरको सिरान र वायाँ पाउ किलेलौडामा अड्याएर स्नान गरेका रे । विशाल दह भित्र जरा लुकेर रहदो रहेछ । दह काटेर पानी सबै निकास गरेर जरासन्धलाई मारे । जरासन्धकै नामबाट जरायल हुँदै कालान्तरमा त्यस उपत्यकाको नाम पनि जोरायल हुन गएको हो ।’ धनगढीबाट पत्रकार अंकुश कुँवर लेख्छन्–‘सही भन्नु भयो । मलाई पनि नामका विषयमा यस्तै लागिरहेको थियो ।’ डोटी घर भई अहिले कैलालीको सुखडमा बस्दै आएका मानबहादुर बोहराले पनि लेखेका छन्–‘मलाई पनि गेटमा नाम देखेर भद्दा लागेको थियो ।’
युवा परिषद सुदूरपश्चिमका सदस्य शेरबहादुर बिष्टले लेखेका छन्–‘सत्य कुरो यो कमला झरना नै हो ।’ सुदूरपश्चिमका पुराना पत्रकार तथा वुद्धिजीवि घनबहादुर शाह लेख्छन्–‘आजका पुस्तालाई ऐतिहासिक जानकारी गराएकोमा । नदीको नाम कमला नदी भएकाले झरनाको नाम कमला झरना स्वभाविक हुन जान्छ ।’ दाङबाट सतिश पोख्रेल मजगैंयाँ लेख्छन्–‘पहिचान मेटाउने काम बन्द गरौँ ।’जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा झरनाको नामका विषयमा भने अब अनुसन्धान हुने बताउँछन् । ‘हामी झरनाको विषयमा अध्ययन अनुसन्धामा लागिरहेका छौँ,’ उनले भने,‘वास्तविकता के हो अध्ययनमै छौँ, खोजी गरेर बाहिर ल्याउने छौँ ।’