डेउडा प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न
धनगढी –
कैलालीको धनगढीमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वरिष्ठ लोक गायक प्राज्ञ नरेन्द्रराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो ।
काली–कर्णालीको पहिचानको रूपमा रहेको डेउडा संस्कृतिलाई प्राथमिकतामा राखेर भाषा कला, संस्कृति , भेसभुसा रहनसहनको संरक्षण ,संवर्द्धन एवं प्रचारप्रसार गर्ने उद्देश्यका साथ वरिष्ठ लोक गायक रेग्मीको अध्यक्षतामा डेउडा प्रतिष्ठान गठन भएको थियो । प्रतिष्ठानको उपाध्यक्षमा सुरत रावत (डोटेली कान्छा), सचिवमा भवानी रेग्मी , सह–सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा प्रेम विवश चन्द र सदस्यहरूमा दलबहादुर बोगटी, ध्वज बहादुर महरा, वीरेन्द्र खडका , माया पाण्डेय छन् ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको चिनारीका रूपमा रहेको डेउडालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनुका साथै यस क्षेत्रको भाषा, कला, संस्कृति रहनसहन, भेसभुसा तथा रीतिरिवाजको संरक्षण, संवर्द्धन एवं प्रचारप्रसारका साथै लोक सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने मुख्य उद्देश्य बोकेर डेउडा प्रतिष्ठान स्थापना भएको हो ।